–वीरेन्द्रमणि पौडेल
रेणु दाहालजी, तपाईं बडो मुस्किलले महानगरप्रमुख हुन सफल हुनुभएकोमा बधाईं छ !
कठिन परिस्थितिमा मुलुक धिकिरधिकिर चलिरहेको तपाईंले बुझ्नु भएकै छ । आज नेपालको सर्वांगीण अवस्था भताभुंग भएको छ । शिक्षा क्षेत्र अस्तव्यस्त छ । स्वास्थ्य क्षेत्र झनै कहालीलाग्दो अवस्थामा पुगेको छ । रोजगारी अवस्थाको कुरा गर्दा लाजै लाग्छ । आज हाम्रो देश अरु देशका लागि कामदार उत्पादन गर्ने कारखानाका रुपमा परिचित भएको छ । युवाशक्तिविना देश विकसित हुँदैन, तर हाम्रा ३० लाख युवाजनशक्ति विदेशमा काम गरिरहेका छन् । नेपालमा यतिबेला बालबालिका र वृद्धवृद्धाको संख्या ज्यादा हुने अवस्था देखिएको छ । बालबालिका र वृद्धवृद्धाले राष्ट्र निर्माण प्रक्रियामा टेवा पु¥याउन सक्दैनन् । देश उत्पादनशून्य अवस्थाबाट गुज्रिरहेको छ भने सबै कोणबाट हेर्दा देश बिरामी भएको छर्लंग देखिन्छ । आज यही बिरामी देशलाई बाढी र पहिरोले थप क्षति पु¥याएको छ । यस्तो दयनीय अवस्थाका बीच तपाईं भरतपुरको मेयरको कुर्सीमा बस्न आइपुग्नु भएको छ । तपाईं र मेरोबीच एकपटक नारायणी टुडे मासिकका लागि तपाईंसँग अन्तर्वार्ता लिँदा एक घन्टा भेट भएको हो, त्यसअघि र पछि तपाईंसँग मेरो भेट भएको छैन । तपाईंको र मेरोबीच पुरानो र गाढा चिनाजानी नभए पनि दुई दशकभन्दा ज्यादा समयदेखि राष्ट्रहितलाई केन्द्रभागमा राखेर कलम चलाउँदै आएको हुँदा र यतिबेला तपाईंलाई केही सुझाव दिँदा जनताले सुखसुविधा पाउने, तपाईंको इज्जत बढ्ने र मेरो कर्तव्य पूरा हुने भएको हुँदा लोकप्रिय दैनिक चितवन पोष्टमार्फत तपाईंका नाममा केही शब्दहरु जन्माउन गइरहेको छु । आफ्नो विवेक प्रयोग गर्नुहोला ।
१) फोन रिसिभ गर्नुहोला ।
जनताको भोट माग्दा मतदातालाई आफ्नो टाउको घुँडासम्म पु¥याएर नमस्कार गर्ने नेताहरु विजयी भएपछि तिनलाई तिरस्कार गर्ने बानीबाट ग्रस्त छन् । आफ्ना दु्ःखपीर आफूले मत दिएर जिताएका जनप्रतिनिधिहरुसँग जनता प्रत्यक्ष भेटेर आफ्नो दुःखेसो पोख्न चाहन्छन् । सम्भव भएसम्म उनीहरुलाई व्यक्तिगत वा सामूहिक हिसाबले भेटेर कुरा सुन्नुहोला । हप्तामा एक वा दुईपटक बार र समय मिलाएर जनताको कुरा सुन्दा बेस हुन्छ । यसका अतिरिक्त आफ्ना जनप्रतिनिधिलाई आफूले आफ्नो कुरा भन्न पाउने अधिकारलाई सुनिश्चित गरिदिन सम्भव भएसम्म फोन वा मोबाइल फोन तपाईंले रिसिभ गर्नुपर्छ । हिजोआज केही परिवर्तन भएर होला, प्रहरीको हाकिम, प्रमुख जिल्ला अधिकारी, एम्बुलेन्स चालक, दमकल चालकहरुले तुरून्तै फोन रिसिभ गर्छन् । के गर्नुपर्ने हो तुरून्तै गर्छन् । पहिले पहिले दमकल र एम्बुलेन्सको कुरा बेग्लै हो, अन्यले त्यो कर्तव्य पूरा गर्थेनन् तर आज प्रशासन प्रमुख र प्रहरी प्रमुखले तुरून्तै फोन रिसिभ गर्दा जनताले ज्यादा राहत पाएका छन् । यो नियम तपाईंको हकमा पनि लागू हुनुपर्छ । एक घन्टी बज्नासाथ आफैँ वा सहयोगीले फोन वा मोबाइल रिसिभ गरिहाल्नुपर्छ । आफू विरामी भएको बखत त्यो कामको जिम्मेवारी उपमेयरले पूरा गर्ने हुँदा तपाईंले उपमेयरलाई पनि यो कर्तव्य सिकाउन सक्नुहुन्छ । यदि तपाईंसँग जनताले भेटेर वा फोनमार्फत आफ्नो कुरा सुनाउन पाएनन् भने तपाईंको लोकप्रियता खस्किने छ । यसतर्फ होसियारी अपनाउनु होला ।
२. रिबन काट्न बन्द गर्नुस् ।
हिजोआजका जनप्रतिनिधिहरु अनेक अनेक कार्यक्रममा अतिथि वा प्रमुखअतिथि भएर रिबन काटेरै आफ्नो समय बर्बाद गरिरहेका छन् । तपाईं र उपमेयर पार्वती शाह पनि विभिन्न कार्यक्रमहरुमा रिबन काट्न कुदिरहनु भएको छ । जनताको आशा त्यो होइन, अन्य वडाका जनताको त्यो आशा र विश्वास होइन । झनै, १९ नम्बर वडाका जनताले के भन्लान् जसले दोहो¥याएर चुनावमा भोट हाले, पहिले देवी ज्ञवालीलाई भोट दिएका थिए पछिल्लोपटक तपाईंलाई दिए, तिनले विकास निर्माणको खाका तयार पारेर सोमुताविक चल्नुपर्नेमा रिबन काट्दै हिँडेको देख्दा तिनले कति चित्त दुखाऊलान्, आफैँ विचार गर्नुस् । त्यस कारण, तपाईंलाई रिबन नकाटी मनले मान्दैन भने महिनामा एकपटक वा दुई महिनामा एकपटक कार्यक्रमको मह¤वलाई ध्यान दिएर रिबन काट्न जानुस् । यसो गर्नुभयो भने तपाईंसँग जनता टाढिने छैनन् ।
३. नेपाली कांग्रेस पार्टीलाई लिखित वक्तव्यबाट धन्यवाद दिनुस् ।
यसपटक सर्वसाधारण अन्य नागरिक र तपाईंका पार्टीका नेता तथा कार्यकर्ताहरुले जति खटेर तपाईंलाई जिताउन मद्दत गरे, तिनलाई त सामान्य धन्यवादले पनि काम चल्ला तर जहाँसम्म नेपाली कांग्रेसको सवाल छ, यो पार्टीका चितवन जिल्लास्तरीय नेता, कार्यकर्ता र मतदाताहरुलाई लटरपटर धन्यवादले काम चल्लाजस्तो लाग्दैन । एकातर्फ आफ्नै उम्मेदवारले मेयरको पद जित्न सक्ने अवस्था छँदाछँदै तपाईंलाई समर्थन गरेर देवी ज्ञवालीजस्तो सशक्त, इमानदार, अनुभवी चितवनको नेतालाई पराजित गर्न जुन साहस देखाए, यसका लागि तपाईंले जीतनारायण श्रेष्ठलाई सम्बोधन गरेर तिनका कार्यकर्ता र कांग्रेसी मतदाताहरुलाई लिखितै वक्तव्यद्वारा धन्यवाद दिनुपर्छ । लिखित धन्यवाद दिन ढिला भएको छैन ।
४. पत्रकारलाई हौसला बढाउनुस् ।
सिर्जनशील मान्छेले नयाँ काम होइन, नयाँ ढंगले काम गर्छ । तपाईंले पनि नयाँ ढंगले काम गर्नुभयो भने तपाईंको जन्मले सार्थकता पाउँछ । यो देशमा सुविधा चाहियो भन्ने नाममा धेरैले आन्दोलन गरेर सुविधा पाए भने कसैले विनाआन्दोलन नै सुविधा पाएर बाँचेका छन्, तर पत्रकारको हकमा अवस्था बेग्लै देखिन्छ । शिक्षक, निजामती कर्मचारी, प्रहरीहरुले जागिरबापत् तलब पाउँछन् । समय पुगेपछि पेन्सन पाउँछन् । वृद्धवृद्धाहरुले त्यो उमेरसम्म बाँच्न सके भने भत्ता पाउँछन् । श्रीमान् गुमाएकाहरुलाई एकल महिला शीर्षकमा सुरक्षा भत्ता दिइन्छ । विद्यार्थीहरुलाई सार्वजनिक यातायातको साधनमा ४५ प्रतिशतसम्म परिचयपत्रका आधारमा छूट दिइन्छ । चेपाङहरुलाई अनेक शीर्षकमा सुविधा दिइन्छ भने राउटेहरु समेत दसैँमा खर्च बुझ्न सिंहदरबार जान्छन् र आफ्नो गर्जाे टार्छन् । आर्थिक भ्रष्टाचारी र अनेक आकारप्रकार र अनुहारका दलालहरुलाई आर्थिक समस्या पर्ने सवाल भएन । सबैले कुनै न कुनै कोणबाट आफूलाई बाँच्न सजिलो बनाएकै छन्, तर नेपालका पत्रकारहरु कुनै सुविधा र सहयोगविना राष्ट्रहितका लागि हाडछाला घोटिरहेका छन् । नेपालका पत्रकारहरुले बाँच्नेसम्मको सुविधा पनि पाएका छैनन् । यिनलाई दैनिक गर्जो टार्न मुस्किल भएको छ र यसको नकारात्मक परिणामस्वरुप धेरै पत्रकारहरु विदेश पलायन भइसकेका छन् । आपतै परेर हो, केही पत्रकारहरु अक्षर जन्माउनभन्दा पैसा जन्माउनतिर लागेका छन् । गरिबको पराले चकटीमा होइन, धनीको सोफामा उक्लिएका छन् । अवस्था यही रह्यो भने समाजबाट न्याय मरेर जान्छ । न्याय मरेको समाज मान्छे बस्न लायक हुँदैन । त्यस कारण मेरो सल्लाह छ, १५ वर्षभन्दा ज्यादा समय पत्रकारितामा समर्पित पुरूष पत्रकार र ८ वर्षभन्दा ज्यादा समय यस क्षेत्रमा समर्पित महिला पत्रकारलाई महानगरपालिकाको तर्फबाट विकास निर्माणलाई हानि नहुने तवरले केही रकम उपलब्ध गराउनुुस्, ताकि पत्रकारहरु आर्थिक भ्रष्टाचारीहरुको सोफामा उक्लिन नजाऊन् र तिनका रेड लेभल र ब्ल्याक लेभलतिर आँखा नफर्काऊन् । समाचारमा शुद्धता आओस् । पत्रकार बाँचोस् र उसको योगदानले राष्ट्रलाई योगदान पुगोस् ।
५. बुद्धिमान् मान्छे खोज्नुस् ।
विकास, निर्माण र समृद्धिका लागि आवश्यक बुद्धि एउटा मान्छेको टाउकामा मात्रै हुँदैन । तपाईंलाई बुद्धि भएका मान्छे अवश्य चाहिन्छ । बुद्धिमान्हरु त्यही बुद्धिका कारण केही घमण्डी पनि हुन्छन् । तिनलाई खोज्नुस् । के काम कसरी गर्ने विभिन्न क्षेत्रका बुद्धिमान्हरुलाई भेट्नुस् । यो पार्टी वा त्यो पार्टी नभन्नुस् । तपाईको माओवादी पार्टीबाहिर कांग्रेस, एमालेमा पनि टनाटन बुद्धि भएका मान्छेहरु छन् । ती पार्टीहरुभन्दा बाहिर पनि बुद्धि भएका, आइडिया भएका मान्छेहरु छन् । तिनको मद्दत लिनुस् । फोन नम्बर पत्ता लगाउनुस् र आफैं सम्पर्क गर्नुस् ।
६. रोजगारी र सडक व्यापारीको समस्या ।
महानगरभित्र अब बेरोजगारहरुको संख्या कति छ, पत्ता लगाउनुस् र रोजगारी सिर्जना कसरी गर्न सकिन्छ विज्ञहरुलाई बोलाएर छलफल चलाउनुस् । जीविकोपार्जनका लागि वर्षौंदेखि नारायणगढ सहीदचोक र आसपासका सडककिनारमा बसेर फलफूल व्यापार गरिबसेका नागरिकहरुलाई नगरप्रहरीले दिनमा एकपटक लखेट्ने गरेका छन् । यो गाईजात्रा मञ्चन भएको पनि वर्षौं बितिसकेको छ । यी फलफूल व्यापारीहरुलाई कहाँ कुन ठाउँमा व्यवस्थित गर्ने हो, तपाईंले तुरून्तै यसबारे ठोस निर्णय लिँदा वर्षौंअघिदेखिको गाईजात्राको अन्त्य हुने छ भने सडक व्यापारीहरु ढुक्कले बाँच्न पाउने छन् ।
७. कार्यक्षेत्रभन्दा बाहिरका व्यक्तिसँग समन्वय ।
आफ्नो काम, कर्तव्य र अधिकारमा तपाईं सचेत हुन जरूरी छ । यो तपाईंले बुझ्नु भएकै होला, तर यसको अतिरिक्त तपाईंको कार्यक्षेत्र र अधिकार क्षेत्रभन्दा बाहिर रहेकाहरुसँग पनि तपाईंले समन्वय गरेर कार्यसम्पादन गर्नुपर्ने छ ।
८. अनुभवी राजनीतिज्ञहरुबाट सिक्नुस् ।
जनप्रतिनिधिलाई थोरै आइडिया वा बुद्धिले काम चल्दैन । तपाईंको पार्टीका मान्छेहरुका अतिरिक्त अन्य पार्टीका नेताहरुसँग पनि तपाईंले सिक्नपर्ने हुन्छ । नेपाली कांग्रेस, एमालेलगायतका पार्टीका अनुभवी राजनीतिज्ञहरुसँग तपाईंले सिक्ने प्रयास गर्नुभयो भने तपाईंको राजनीतिले सफलता पाउन सजिलो हुने देखिन्छ ।
९. माओवादी चाटुकारबाट सावधान !
तपाईंको माओवादी पार्टीको नाम बेचेर धन कमाउने र समाजमा बदनामी कमाएका हरामखोरहरु तपाईंको पार्टीमा बग्रेल्ती छन् भन्दा तपाईंलाई दुःख लाग्ला । कत्ति पनि दुःख नमान्नुस् । समयको बहावले एकदिन तिनलाई पाखा लगाउने छ । तर, तपाईंले तिनलाई चिन्न सक्नुभएन र तपाईंको च्याम्बरवरिपरि वा घरआँगनमा ती हरामखोरहरुलाई जनताले देखेभेटे भने तपाईंको लोकप्रियतामा प्रश्न उठ्न सक्छ, सावधान !
१०. प्रत्येक सेकेन्ड जनताको नाममा समर्पण गर्नुस् ।
एकबारको जुनीमा बडो मुस्किलले तपाईंको भागमा यो मेयरको कुर्सी प्राप्त भएको छ । तपाईंको जीवनको प्रत्येक सेकेन्ड अब तपाईंले जनताको हितमा समर्पण गर्नुपर्ने छ । यदि यो बिरलै आउने मौका तपाईंले गुमाउनु भयो भने तपाईंलाई घाटासिवाय केही हात लाग्ने छैन । अब तपाईं जनताको मान्छे हो । निजी सुखसयलबाट अब तपाईं टाढा रहन पर्ने दिन आयो । यो कठिनाइको सामना गर्न तयार हुनुुस् ।
११. माओवादीको छवि अझै उज्यालिएको छैन ।
तपाईंलाई लाग्ला, तपाईंको पार्टी माओवादी केन्द्रको छवि दलहरुमध्ये सबैभन्दा राम्रो छ । यो सत्य होइन । जनताले एक नम्बरमा विश्वास गरेका भए माओवादी केन्द्रले स्थानीय निर्वाचनमा पहिलो नम्बरमै सिट जित्थ्यो । तेस्रो हुनुको अर्थ जनताले तपाईंहरुबारे पर्ख र हेर नीति अपनाइरहेका छन् भन्ने हो । त्यस कारण, विगतका कमीकमजोरी हटाएर जनताको मन जित्नेतर्फ तपाईंहरु जान सक्नुभएन भने प्रजापरिषद् नामको राजनीतिक दल पनि नेपालमा थियो भन्ने कुरा तपाईंलाई थाहै होला । जसरी त्यो पार्टी बिलायो, तपाईंहरुको पार्टी पनि उसरी नै बिलाउन सक्छ । त्यस कारण, तपाईंको चिन्तन र गतिविधि माओवादीको इज्जत र गरिमा अभिवृद्धिका लागि सहयोगी बन्न सक्ने हुँदा आफूलाई सोहीअनुसार प्रस्तुत गर्नुभयो भने लाभमात्रै प्राप्त हुन सक्ला ।
१२. मौका जिन्दगीमा एकपटक मात्रै आउँछ ।
मौका पनि जन्मजस्तै हो, एकपटकमात्रै आउने । तपाईंलाई मेयर बन्ने मौका तपाईंको कारणले मात्रै आएको होइन । तपाईंको पिता प्रचण्डले ज्यानै जोखिममा पारेर नलडेको भए यो खालको राजनीतिक परिवर्तन हुनेथिएन । शेरबहादुरले जसले जेसुकै भनोस् भन्दै समर्थन नगरेको भए पनि तपार्ईलाई यो मौका आउने थिएन । अनेक अनेक कारण र संयोगले तपार्ईलाई यो मेयरको कुर्सी प्राप्त भएको छ । जनताको मन जित्न विनाभेदभाव विकास निर्माणमा सक्रिय हुनुहोला । लुसुक्क चोर बिरालोको पाराले तपाईंको नजिकमा रहेर धन लुट्न आउने नक्कली माओवादीबाट होसियार भएर आफ्नो इज्जत जोगाउनुहोला । तपाईं जनप्रतिनिधि हो, जनप्रतिनिधिकै रुपमा रहनुहोला । तपाईको कार्यकालको सफलताका लागि विनास्वार्थ शुभकामना !
पत्रकार वीरेन्द्रमणि पौडेल
चितवन पोस्ट बाट साभार



