बनियानी (झापा), ३ भदौ । झापामा पानी निर्मलीकरण गर्न प्रयोग गरिने क्लोरिन चक्कीको अभाव भएको छ । क्लोरिन चक्की अभाव हुँदा बाढीपीडितलाई पर्याप्त मात्रामा वितरण गर्न नसकिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । जसका कारण बाढीपीडितलाई पिउने पानीको समेत समस्या भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयमा रहेको पाँच हजार र युनिसेफले उपलब्ध गराएको पाँच हजार गरी १० हजार क्लोरिन चक्की बाढीपीडितलाई वितरण गरिएको कार्यालयका स्टोरकिपर रमेश खतिवडाले बताउनुभयो । त्यस्तै, नेपाली सेनाले कचनवकल गाउँपालिकास्थित केचनाका बाढीपीडितलाई पाँच हजार क्लोरिन चक्की वितरण गरेको छ । ‘क्लोरिन चक्कीको अभाव छ’, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसुधन कोइरालाले भन्नुभयो, “पर्याप्त मात्रामा क्लोरिन चक्कीको व्यवस्था गर्न पहल गरिरहेका छौँ ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बाढीका समयमा पानीकै कारणले झाडापखाला, आउँ, रुघाखोकी जस्ता समस्या देखिने गरेकाले शुद्ध पानी बनाउन क्लोरिन चक्की अत्यावश्यक हुने कोइरालाले बताउनुभयो । यता, बाढी प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाले आजदेखि विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । आम्दा अस्पताल दमक, नेपाल रेडक्रस सोसाइटी झापासँगको सहकार्यमा आजदेखि साताव्यापी विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको जनस्वास्थ्य प्रमुख कोइरालाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार जिल्लाको अतिप्रभावित क्षेत्र झापा गाउँपालिका, कमल, कचनकवल र गौरीगञ्ज गाउँपालिकामा स्वास्थ्य शिविर केन्द्रीत हुनेछ । हाल बाढी प्रभावित क्षेत्रमा चिकित्सकसहितको सातवटा स्वास्थ्य शिविर सञ्चालित छन् । चिकित्सकसहितको चार÷पाँच जनाका दरले टोली परिचालन गरिएको प्रमुख कोइरालाले जानकारी दिनुभयो ।

बाढीपीडितमा ज्वरो, हिलोले हातखुट्टा खाने, रुघाखोकीको समस्या बढी देखिएको उहाँले बताउनुभयो । यता, क्षेत्रीय मेडिकल स्टोर विराटनगरले सिटामोल, नेटफर्म, जीवनजललगायत ३२ प्रकारको औषधि पठाएको स्टोरकिपर खतिवडाले जानकारी दिनुभयो । purbelinews.com बाट