काठमाडौं, ३ भदौ– राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुलाई आकस्मिक रुपमा बोलाएर राष्ट्रिय हितप्रति गम्भीर हुन सचेत गराउनु भएको छ । तराईको वर्षैपिच्छे हुने डुवानमा सीमानामा बाँधिएका बाँध र तटबन्धप्रति सरकार उदासीन रहेको र परराष्ट्र मामिलामा साझा दृष्टिकोण नबनाई ब्यक्ति–ब्यक्ति, पार्टी–पार्टी र सरकार फेरियैपिच्छे फरक दृष्टिकोण बनाएको भन्दै गम्भीर आपत्ती जनाउनु भएको छ ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल एक एक जना सहयोगीसाथ राष्ट्रपतिलाई भेट्न शीतलनिवास जानुभएको थियो । ओलीसँगै एमाले उपाध्यक्ष बामदेव गौतम, देउवासँगै कांग्रेस नेता रामचन्द्र पौडेल र दाहालसँगै माओवादी नेता नारायणकाजी श्रेष्ठ शीतलनिवास पुग्नु भएको थियो । तराईको डुवान र नेपालले अन्तर्राष्ट्रिय जगतमा अपनाएको कमजोर भूमिकाका विषयमा राष्ट्रपति भण्डारीले गम्भीर चासो ब्यक्त गर्नुभएको थियो ।
‘तराई क्षेत्रमा भएको डुवानमा उद्धार राहत र पुनस्र्थापनाको सन्दर्भमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति बनाएर जानु पर्यो । सरकारले किन यसतर्फ ढिलाई गरिरहेको छ ?’ राष्ट्रपति भण्डारीको भनाई उद्धृत गर्दै एमाले उपाध्यक्ष बामदेव गौतमले भन्नुभयो, ‘नेपाल भारत सीमानामा नेपालबाट बग्ने नदिहरुको प्रवाह रोकिनेगरी बाँधेका जति पनि बाँध र तटबन्धहरु छन्, तिनलाई खुला गर्न भारतसँग कुरा गर्नु पर्यो भनेर राष्ट्रपतिज्यूले ध्यानाकर्षण गर्नु भो ।’
राष्ट्रपति भण्डारीले राजनीतिक पार्टीहरुले साझा विदेश नीति नबनाएर सरकार फेरियैपिच्छे फरक दृष्टिकोण राखेकामा आपत्ती जनाउनु भएको थियो । ‘विदेश नीतिको सम्बन्धमा सबै पार्टीहरुले राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर साझा अवधारणा बनाउनु पर्यो भनेर राष्ट्रपतिले गम्भीर रुपमा सचेत गराउनु भएको छ’ माओवादी नेता नारायणकाजी श्रेष्ठले भन्नुभयो, ‘पार्टी–पार्टीको छुट्टै, सरकार फेरिएपिच्छे छुट्टै, ब्यक्ति–ब्यक्तिको छुट्टै परराष्ट्र नीति हुन्छ ? यसरी राष्ट्रको हित रक्षा हुँदैन । तपाईंहरु गम्भीर हुनुहोस् । साझा अवधारणा बनाएर अरुसँग सम्बन्ध राख्नु पर्यो भन्ने कुरा राष्ट्रपतिज्यूको थियो ।’
एमाले उपाध्यक्ष गौतमले पनि राष्ट्रपति भण्डारीले परराष्ट्र मामिलामा साझा दृष्टिकोण बनाउन सचेत गराउनु भएको वताउनुभयो । ‘नेपालका राजनीतिक पार्टीहरुले साझा सहमतिमा परराष्ट्रनीति बनाउनु पर्यो, फरक मत राख्नु भएन’ राष्ट्रपति भण्डारीको भनाई उद्धृत गर्दै गौतमले भन्नुभयो, ‘विदेशमा जाँदाखेरी एउटै विचार बोक्नु पर्यो भन्ने कुरा राख्नु भो ।’
बाढी र डुवान प्रभावित क्षेत्रबारे सरकार उदासीन रहेकोमा राष्ट्रपति भण्डारीले असन्तुष्टि ब्यक्त गर्नुभयो । ‘तराईमा बाढी पहिरोले पैदा गरेको डुवानको विषयमा संकटको अवस्था छ । हरेक वर्ष यस्तो हुन्छ । सरकार र पार्टीहरुले समग्र रणनीतिक दृष्टिकोण बनाउनु पर्यो । क्षति कसरी कम गर्ने भन्ने विषयमा तात्कालीक रुपमा जे सकिन्छ त्यही गर्ने मात्रै काम भयो । रणनीतिक दृष्टिकोणले योजना बनाउनु पर्यो भन्नुभयो’ माओवादी नेता श्रेष्ठले राष्ट्रपति भण्डारीलाई उद्धृत गर्दै भन्नुभयो, ‘विकासको दीर्घकालीन रणनीतिक सोच हुनु पर्यो । कहाँ के बनाउने ? कहाँ के नबनाउने ? किन केही योजना बनाएर कार्यान्वयनमा लैजानुहुन्न ?’ राष्ट्रपति भण्डारीले आगोबाट बढी क्षति हुने फुस र परालका घरहरुलाई विस्थापित गरी सांस्कृतिक पहिचान झल्किने गरि तराईका दलित तथा विपन्न समुदायको ब्यवस्थित बसोवास र जीविकोपार्जनको प्रवन्ध गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभयो ।
छिमेकी देशसँग जोडिएका सन्धी सम्झौता र त्यसले उत्पन्न समस्याप्रति एउटै धारणा बनाएर कुटनीतिक पहल गरी समस्या समाधान गर्न राष्ट्रपतिले आग्रह गर्नुभयो । ‘हाम्रा छिमेकीहरुसँग जुन सन्धी सम्झौता भएका छन्, कतिपय बाँध, कतिपय तटबन्धहरु नहरहरु, सडकहरुले हाम्रो देशको दक्षिणी भूभाग डुबानमा पर्यो भन्ने कुरा आएको छ’ राष्ट्रपति भण्डारीको भनाई उद्धृत गर्दै माओवादी नेता श्रेष्ठले भन्नुभयो, ‘यो बारेमा तपाईंहरुको कुरा के हो ? गम्भीर रुपमा कुटनीतिक ढंगले यो समस्या राष्ट्रको हितमा हल हुनेगरी उठाउनु पर्यो र समाधान गर्नुपर्यो ।’
राष्ट्रपति भण्डारीले रुपान्तरित संसदको हैसियत भन्दा बाहिर गएर संसदलाई नै विभाजित गर्नेगरी संविधान संशोधन नगर्न र संशोधन नै गर्ने भए सबैको सहमतिमा गर्न राष्ट्रपति भण्डारीले सत्तारुढ दलका नेताहरुलाई सचेत गराउनुभयो । ‘रुपान्तरित संसदबाट नै सबै काम गर्ने चलन संसारमा कहीा पनि छैन । त्यसो गर्दा पनि सहमतिमा मात्रै संविधान संशोधन गर्नुहोस्’ राष्ट्रपति भण्डारीको भनाई उद्धृत गर्दै एमाले उपाध्यक्ष गौतमले भन्नुभयो, ‘एकातिर त रुपान्तरित संसदको त्यो हैसियत होइन अर्काेतिर संसदलाई विभाजन गरेर संविधान संशोधन गर्नुहुन्छ भने त्यसले औचित्य पुष्टि गर्न सक्दैन । अहिलेको स्वार्थ त पूरा होला तर, भविश्यमा त्यसले समस्या उत्पन्न गर्छ ।’
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले साझा विदेश नीति बनाउन सरकारले पहल गर्ने आश्वासन दिनुभयो । उहाँले डुवान पीडितका लागि सरकारले राहतका कार्यक्रम ल्याउने वताउनु भए पनि डुवानमा पुर्याउने भारतीय बाँधबारे केही बोल्नु भएन ।
बैठकमा एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीलाई किनारा लगाउनेगरी सरकार र सत्तासीन दलहरुका क्रियाकलाप अघि बढेको भन्दै आपत्ती जनाउनु भयो । ‘सत्ताधारी दलहरुले नेकपा एमालेलाई कसरी किनारा लगाउन सकिन्छ भन्ने किसिमले ब्यवहार भइरहेका छन्’ ओलीको भनाई उद्धृत गर्दै उपाध्यक्ष गौतमले भन्नुभयो, ‘एउटा पार्टीलाई कर्नर गर्नेगरी अगाडि बढ्दा उत्पन्न संकटले राष्ट्रलाई नै नोक्सानी पुर्याइरहेको छ ।’
निर्वाचनका आधारभूत मान्यता विथोलिने प्रतिपक्षीलाई बेवास्ता गर्दै २ नम्बर प्रदेशमा मात्रैस्थानीय तहको संख्या बढाउने काम भएको र स्थानीय तह थप्दा एउटा तहका बीचमा अर्काे तहका भूभागहरु नजोडिनेगरी भोट जित्ने हिसावले मात्रै बनाइएकोप्रति ओलीको आपत्ती थियो । ‘कतिपय ठाउँमा त कस्तो स्थानीय तह बनाइंदैछ भने बीचमा अर्कै स्थानीय तहको भाग पर्छ’ ओलीले भन्नुभयो, ‘एउटा बगलमा अर्काे स्थानीय तह घुसाइएको छ । केही पार्टीहरुलाई जित्न सुनिश्चितता हुन्छ भनेर त्यसरी क्षेत्र निर्धारण गर्ने काम भइरहेका छन् ।’ प्रधानमन्त्री देउवाले राष्ट्रपतिले गर्नु भएको आग्रहलाई ब्यवहारमा उतार्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो । चक्रपथ बाट



