नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गा खरिद प्रक्रियालाई रोकेर देखाउन चुनौती दिनुभएको छ ।
पेट्रोलियम ढुवानी व्यवसायी महासंघको १२ औं साधारणसभा तथा छैठौं महाधिवेशनको आज पोखरामा आयोजित उद्घाटन कार्यक्रममा खड्काले स्टोरेज बनाउन सरकारको निर्देशन भएकाले कसैले रोक्न नसक्ने दावी गर्नुभयो ।
निगमको जग्गा खरिदमा भ्रष्टाचार भएको ठहर संसदको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएपनि सो बिषयमा सरकारले मौनता देखाउँदै आएको छ ।
५ वर्ष्भित्र ९० दिनका लागि पुग्ने भण्डारण गृह बनाउन आफ्नो बलिदानी दिन पनि तयार रहेको कार्यकारी निर्देशक खड्काले बताउनु भयो । यस्तै उक्त सभामा आपूर्तिमन्त्री शिवकुमार मण्डलले मन्त्रालयभित्रका विकृति, अनियमितता र अव्यवहारिक कुरामा कुनै पनि हालतमा सम्झौता नगर्ने बताउनुभयो ।
पेट्रोलियम पदार्थ ढुवानीमा देखिने नोक्सानिको स्थायी समाधान आवश्यक रहेको बताउँदै मन्त्री मण्डलले हाल व्यवसायी र सरकारबीच झारा टार्ने सहमति मात्रै भएकाले आवश्यक प्रविधि र प्राविधिक ल्याएर भएपनि स्थायी समाधान खोज्ने आश्वासन दिनुभयो । खबरमंच बाट साभार



