नेपाली सेनाले एक जहाजसँग दुई एमआई १९ हेलिकप्टर र एक भीआईपी हेलिकप्टर किन्न थप ६६ करोड माग गरेपछि रक्षा मन्त्रालय तनावमा परेको छ । चालू आर्थिक वर्षको बजेटबाट नभ्याउने भएपछि रक्षाले सेनाको ६६ करोडका विषयमा अर्थ मन्त्रालयसँग रकम माग गरेको छ ।
सेनाले हवाईजहाज र हेलिकप्टर किन्न यसअघि दिएको रकम अपुग भएको भन्दै मन्त्रालयसँग थप ६६ करोड रुपैयाँ माग गरेको छ । यसै प्रयोजनका लागि सरकारले यसअघि ८ अर्ब रकम दिइसकेको छ । रक्षा मनत्रालयका अनुसार एउटा जहाज दुई एमआई १७ हेलिकप्टर र एक भीआईपी हेलिकप्टर किन्न सेनालाई ८ अर्ब रकम दिइएको हो । न्यूज अभियान मा खबर रहेको छ
यसका लागि पहिलेको बजेटअनुसार बजार भाव बढेका कारण सेनाले थप रकम माग गरेको हो । थप बजेटका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको रक्षाको भनाइ छ । तर, अर्थले स्वीकृत दिने–नदिने भन्ने टुंगो लागेको छैन । सेनाले गत वर्ष नै हवाईसेवा विस्तारका लागि रकम माग गरेको थियो ।
गत वर्ष रकम नभएपछि अहिले टेन्डर हाह्वान गर्नुपूर्व नै सेनाले रक्षा मन्त्रालयमार्फत थप रकम मागेको हो । करिब एक वर्षअघि बजेट स्वीकृत भएको थियो । तर रक्षा स्रोतले भने कमिसन एजेन्टको दबाबमा रकम थप्न खोजिएको हो ।
यसअघि नै कमिसन एजेन्टहरुद्वारा प्रधानमन्त्री शेरबहादुर देउवामार्फत रकम थप गर्न सेना, रक्षा मनत्रालय हुँदै अर्थ मन्त्रालयमा पनि दबाब दिइएको छ । केपी ओली प्रधानमन्त्री हुँदा ८ अर्ब रुपैयाँ बराबरको रकम स्वीकृत भएको थियो ।
८ अर्बको बजेट पहिल्यै स्वीकृत भए पनि हाल आएर प्रधानमन्त्री देउवाको पालामा टेन्डर हुने भएपछि बजार भाउ बढेको भन्दै एजेन्टहरुले रकम थप्न दबाब दिएका हुन् । पहिलेको बजेट पास भएको धेरै समयपछि टेन्डर गर्दा सामानको मूल्य बढेको छ ।
ओली नेतृत्वको सरकारले दिएको बजेटबाट हालसम्म जहाज वा हेलिकप्टर खरिद नहुनुलाई पनि रहस्यपूर्ण रुपमा हेरिएको छ । खरिदका लागि इन्डोनेसियाली कम्पनी पीटीडीआई र नेपाली सेनाबीच असार पहिलो साता सम्झौता भइसकेको स्रोतको भनाइ छ, खबर देशान्तरमा उल्लेख छ ।
रक्षा स्रोतले दिएका जानकारी अनुसार अहिले सेनासँग भएका १२ वटा हेलिकप्टर बढाबढमा राखिएका छन् । जसमध्ये ८ वटा नचल्ने अवस्थाका र चार चालू हालतका छन् । बारम्बार टेन्डर गर्दा पनि यी हेलिकप्टर खरिदका लागि दरखास्त परेको छैन । सेनासँग अहिले १० वटा हेलिकप्टर चालू अवस्थामा रहेका छन् ।



