भाद्र ६ गते २०७४/ देशभर यसपालिको बाढीले सयौं जीवन सधैको लागि बगायो। अत्यन्तै कम क्षति भएको झापा पनि ५ दिन सम्म जलमग्न रह्यो। मानिसहरू हप्ता बितिसक्दा पनि एउटा चाउचाउको भरमा दिनरात काटिरहेका खबरहरु यत्रतत्र बाट आइरहदा मेरो मन पनि कुटुक्क काटिरहेथ्यो। कहाँबाट कसरी के गरेर थोरै भएनी राहत ती मानिसहरु लाई पुर्याउ भनेर छट्पटी भैरहेथ्यो। दुबई बाट द्रोण दाइ हरुको टिमले केही रुपैयाँ सङ्कलन गरेर केन्द्रमा पठाएको र उक्त रकम आवश्यक परेको ठाउँमा लगानी गर्न सकिने खबर आएपछि हामीले बाढी प्रभावित ठाउँको अध्ययन शुरु गर्यौं ।
चाडैं नै हामीले गौरिगन्ज गाउँपालिका अन्तर्गत कोरोबारी मा साथै केचनाकवल मा पनि सयौं घर भोकमरी को शिकार हुँदै गइरहेको खबर प्राप्त गर्यौं। त्यहिका स्थानीय साथीहरू लाई खान मै समस्या भएका र घरबार बिहिन वास्तविक पीडित हरुको अध्ययन गरि घरधनिको नाम सहित रिपोर्ट पठाउन आग्रह गर्यौं। त्यही बेलुका साथीहरू मार्फत जानकारी आयो, तत्काल गौरिगन्जमा ८६ घरलाई खाद्यान्न र ४५ घरलाई वास को समेत समस्या रहेको साथै केचनाकवलमा ८५ घरमा खाद्यान्न सहयोग जरुरी भएको खबर आयो।
यता सरकारले एकद्वार प्रणालीमा राहत वितरण गर्ने नीति ल्याउने तयारी गरेको थियो जस अन्तर्गत जुनसुकै संस्था वा सङ्गठनले राहत दिनेहुदा सरकार लाई बुझाउनु पर्ने र सरकारले नै त्यसको ब्यबस्थापन गर्ने जस्तो कुरा चल्दैथ्यो। यदि त्यसो भयो भने त महिनौ सम्म पनि वास्तविक पीडित हरुले राहत पाउने छैनन, भुकम्प प्रभावित हरुले अझैसम्म राहत पाएका छैनन भनी एकदमै दुख लागेको थियो। सर्वोच्चले उक्त रिटलाइ खारेज गरिदियो। अब भ्रष्टाचारको मोहले रचिएको प्रपन्च सफल नहुने भो , औधी खुशी लाग्यो। भोलिपल्टै दधि जि र म चामल, दाल, तेल, नुन, त्रिपाल आदिको अनुमानित खर्च लागत बटुल्न होलसेल पसल साथै मिलहरुमा चाहार्यौं ।
प्याकिङको तयारी गर्न लाग्यौं। पदम दाइले कतार बाट मलाई एउटि बहिनिको नम्बर मेसेज गरेर कल गर्न भन्नुभयो, मैले कल गरे। बहिनिहरु केही रकम सङ्कलन गरेर कहाँ कसरी पुर्याउने भनी अन्योलमा हुनुहुदो रहेछ, मैले हामिसगै जाऔं तपाईं हरु मेडिकल सामाग्री र तत्काल खाजा हुने सामान बोक्नुस र आफ्नै ब्यानर पनि राख्न सक्नुहुन्छ भने, वहाँ हरु खुशी हुनुभो र हामी जाने तयारी गर्न लाग्यौं ।
जिल्ला प्रशासनमा साथीहरूले खबर गर्नुभयो, रेडक्रस मा पनि खबर भयो। त्यसपछि हामिले गाउपालिका प्रमुख लाइ खबर गरि आधिकारिक सिफारिस दिन आग्रह गर्यौं तर वहाँले त्यही वडाका अध्यक्ष सग सम्पर्क गर्नुस भनेपछि हामिले वहाँलाई सम्पर्क गर्यौं। वहाँले भन्नुभयो हिजो पनि यहाँ राहत बाड्न आउनुभएको थियो, वहाँ हरुसग केही आधिकारिकता थिएन त्यसैले वहाँहरु त्यसै फर्किनु भयो।
त्यसैले आधिकारिक पत्र लिएर आउनुस। हामीलाई प्रशासनले कुनै आधिकारिक पत्र दिएको थिएन। हामी जाने कि नजाने ? पुगेर पनि बाड्न नपाएर फर्किनु पर्यो भने त समस्या हुने भो, यस्तै यस्तै समस्या हरुले हामीलाई सबै सामान तयार भएर पनि अन्योल नै थियो। गौरिगन्जका एक स्थानीय युवा रोहित राजबंशी भाइले हामीलाई आट दिनुभयो, सबै ब्यबस्था मिलिसकेको छ दाइ त्यहाँ यो सामानको एकदमै जरुरत छ, हामी जानैपर्छ, जसरी भएपनी हामी बाड्छौं भनेपछी हामीले पनि आट गर्यौं। दमकका स्वतन्त्र सामाजिक सन्जालका युवाहरूको टिम मोनिका बहिनीको नेतृत्व मा अघिनै तयार हुनुहुन्थ्यो, माओवादी केन्द्रका तर्फबाट मेयरका उम्मेदवार मेरा प्रतिस्पर्धी आदरणीय दाजु गगन पुरिले आफ्नो गाडी सहयोग गर्नुभएको रहेछ।
बहिनिहरुको टोलि सहित सुरज बन्जारा लगायत हाम्रा केही भाइहरु उक्त गाडीमा चढ्नुभयो। गाउँमा पुग्ने छोटो बाटो बाढीले बगाएको जानकारी प्राप्त भएपछि हामिले केर्खा बाट जाने लामो बाटो समायौं र दिउसो ३ बजे गन्तव्यको लागि प्रस्थान गर्यौं। बाटोमा बहिनिहरु चढेको गाडीको हावा गयो, हामी समस्यामा पर्यौं, सामान बोकेको अर्को गाडीको डालिमा चढेर पनि जान बहिनिहरु तयार हुनुभयो, हावा गएको गाडी १५ कि.मि. पछाडि फर्कियो मर्मतको लागि।
बाटो एकदमै खराब थियो, यात्रा सहज थिएन एकदमै कष्टकर रह्यो, सांझ पर्न लागेको थियो तैपनि कसैले हरेस नखाइ अगाडि बढिनै रह्यौं। लगभग ४० किमि भन्दा बढी खराब कच्ची बाटो हिडेपछी गन्तव्यमा पुग्न हामी सफल भयौं । हामी पुग्दा त्यहाँका भाइहरुले सबैलाई जम्मा गरिसक्नुभएको रहेछ। साझ परिसकेको थियो। मैले अध्यक्ष ज्यु आउनुभएन भनी खोजी गरें वहाँ आफू समस्यामा पर्ने डरले आउनुभएनछ। हामिसग त्यो वडा भरिलाइ नै पुग्ने सामान थिएन त्यसैले अध्यक्ष ज्युले मलाइ भन्नुनै भएको थियो कि, कसैलाई काखा कसैलाई पाखा गरेको जस्तो हुन्छ त्यसैले मलाइ समस्यामा नपार्नुस, राज्यबाट पनि हामीलाई त्यस्तो निर्देशन आएको छैन म समस्यामा पर्छु।
तर हामीले त अत्यधिक समस्यामा परेका नागरिक हरुलाइ लक्ष्यित गरेका थियौं। त्यहाँ एकदमै भिड थियो तर स्वयंसेवक साथीहरूले अत्यन्तै उत्कृष्ट व्यवस्थापन गर्नुभएको रहेछ। साह्रै खुशी लाग्यो। राहत पाउँदा त्यहाँका नागरिक हरुको मुहारमा देखिएको खुशिले मेरा आखा रसाए। म मात्र होइन हामिसग जाने हरेक साथीहरूको आखामा म त्यो खुशी र दुख मिश्रित आँसु टलपल भएको स्पष्ट देख्न सकिन्थ्यो ।
सबैजनाले आ- आफ्नो भुमिका निर्वाह गर्यौं, त्यहाँ हामीलाई सर्वतको सत्कार भयो, अलिवर बाटोमा पर्ने रोहित भाइको घरमा फेरि खाजाको सत्कार भयो। स्थानीय युवाहरुले सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो। आखाभरी आँसु पार्दै हामी त्यहाबाट विदा भयौं। फेरि कष्ट्दायक यात्रामा हामी लम्कियौं । राती एघार बजे सम्ममा सबै साथीहरू लाई घर पुर्याएर म घर आइपुगेको थिए। यो अन्धकार रातमा मैले केही उज्यालोको आशा पाएं।
विशेष भुमिका निर्वाह गर्ने विवेकशील साझा पार्टी, दुबई टिम, समन्वय गर्ने केन्द्रिय समिती एवं अन्य साथीहरू, दमकका स्वतन्त्र सामाजिक सन्जालका युवाहरु, दाजु गगन पुरी, भाइ रोहित साथै साथीहरू लगायत प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पुर्ण मा हार्दिक आभार तथा नमन ब्यक्त गर्दछु।
हामी सबैले आज केही थप कुराहरू सिक्न पायौं , अरे यार जनताको सेवा गर्नलाइ रोक्ने, सेवा दिन चाहने हरुलाइ समस्यामा पार्ने कस्तो सम्यन्त्र हामीले निर्माण गरेछौं। के यहि हो लोकतन्त्र को वास्तविक रुप? खान नपाएका नागरिक हरुलाइ खाने ब्यबस्था गर्न न सरकार नै सक्षम छ, न त गर्न चाहने र सक्नेलाइ गर्न नै दिन्छ।
हामीले यो कस्तो अनर्थ गरेछौं। स्वास्थ्य, शिक्षा देखि लिएर प्राकृतिक प्रकोपमा परेका हरुलाइ वितरण गरिने राहत सम्म पनि भ्रष्टाचारिले छोडेनन, लोकतन्त्रको नाममा हामीले मन्त्री देखि पियन सम्म लाई खुलेआम भ्रष्टाचार गर्ने लाइसेन्स दिएछौं। देशको बर्बादिको साचों जानी नजानी हामी नै बनेका रहेछौं । यहाँ बम हानेर ज्यान लिएको देशभर चर्चा हुन्छ तर जीवन बचाएको चर्चा हुदैन त्यसैले पनि होला परिवर्तन सत्याग्रह बाट सम्भव छैन भन्छन प्राय मानिसहरू।
अन्धो र बहिरो नेतृत्व लाई ब्युझाउन गोलि र बमकै भाषा प्रयोग गरिनुपर्छ रे, तर हामी सत्याग्रह मा विस्वास राख्नेहरु पर्यौं । यत्रो चरम भ्रष्टाचार देख्दापनी चुप बसेर आफैले आफ्नो देशलाइ बन्धक बनाइरहेका रहेछौं। जनताको सेवा गर्न भोट दिएर जिताइएको जनप्रतिनिधि लाई पनि आफ्नो कर्तव्य निर्वाह गर्नबाट बन्देज गर्ने परिपाटीको विकास गरेछौं।
यो सब अस्तव्यस्तता अब हामीले नचिरे कसले, यो देश हामीले नबनाए कसले? त्यसैले हामी साथ मिलेर अगाडि बढे हरेक समस्या हरुलाइ चिर्दै शान्त र समृद्ध मुलुक हाम्रै कालमा निर्माण गर्न सकिने कुरामा कुनै शंका छैन। यो देश हाम्रो पनि हो त्यसैले यो देशको प्रगति या दुर्गतिमा हामी सम्पुर्ण जिम्मेवार छौं।
त्यसैले यो हातेमालो लाई निरन्तर जारी राख्दै, आर्थिक , सामाजिक , राजनैतिक रुपमै सफल बनाउन आजैदेखि कम्मर कसेर लागौं । थोरै रोस्नीले पनि डरलाग्दो अन्धकार लाई चिर्न सक्छ त्यसैले सानै भएपनी उज्यालो बन्ने कोशिश सबैले गरौं । हामी सबै मिलेर नेपालको जय बनाऔं । नेपाल नेपालीको जय होस।



