प्रधानमन्त्री शेरबहादुर देउवाले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै ५० सदस्यीय बनाएका छन् । नेपालमा इतिहासकै ठूलो मन्त्रिमण्डलको रेकर्ड समेत बनेको भन्दै सामाजिक सञ्जालहरुमा आलोचना शुरु भएको छ ।
यसअघि २६ जना मन्त्री नियुक्ति गरेका देउवाले गत बिहीबार माओवादीका ८ जना राज्यमन्त्री थप गरेका थिए । मंगलबार कांग्रेसबाट १२ र लोकतान्त्रिक फोरमबाट ३ जना राज्यमन्त्री थप गर्दै आफ्नो मन्त्रिपरिषद् ५० सदस्यीय पुर्याएका छन् ।
अझै मन्त्रिमण्डलले पूर्णता पाएको छैन । उनी भारत भ्रमणबाट फर्केपछि मन्त्रिमण्डल बिस्तार गर्ने तयारीमा रहेकाछन् । अझै मन्त्रिपरिषदमा थप मन्त्रिहरु थपिने काँग्रेसका एक नेताले बताए ।
एकजना राज्यमन्त्रि तथा मन्त्रि थपिदा करिब १ करोड रुपिया बार्षिक राज्यलाइ आर्थिक दायित्व पर्ने बताईएको छ । उनिहरुले पाउने सेवा सुबिधामा यति धेरै खर्च बढ्ने गरेको हो । देउवाले राप्रपा, राजपा लगायत साना दललाई भन्दै बाँकी रहेका ४ मन्त्रालय भने अझै आफैंसँग राखेका छन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार कांग्रेसबाट सीता गुरुङ, सरिता प्रसाईं, शेषनाथ अधिकारी, नरबहादुर चन्द, अब्दुल रज्जाकगद्दी, तप्पबहादुर विष्ट, अमरसिंह पुन, दिलमान पाख्रिन, उदयशमसेर राणा, डिल्लीबहादुर चौधरी, तेजुलाल चौधरी, चम्पादेवी खड्कालाई राज्यमन्त्रीमा नियुक्ति गरेका हुन् ।
त्यसैगरी लोकतान्त्रिक फोरमबाट जनकराज चौधरी, सुमित्रा थरुनी र यसोदाकुमारी लामालाई देउवाले मंगलबार सपथ गराएका छन् ।
नवनियुक्त राज्यमन्त्रीहरुको मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सपथ ग्रहण गराइएको थियो ।



