भारतले १९५० को नेपाल–भारत सन्धिअनुसार हाल चलिरहेको दोक्लाम विवादमा नेपालसँग समर्थन माग्न लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा हुने वान अन वान (एक्लाएक्लै) वार्तामा यो विषयमा छलफल गर्ने भारतीय तयारी छ ।
एक्लाएक्लै भनिए पनि छलफलमा भारतका उच्च सरकारी अधिकारी प्रधानमन्त्रीको साथमा रहने यहाँको परम्परा छ, नयाँ पत्रिकामा खबर छ ।
पाँचदिने राजकीय भ्रमणका क्रममा देउवा बुधबार नयाँदिल्ली आउँदै छन् । उच्च कूटनीतिक स्रोतका अनुसार १९५० को सन्धिको धारा २ अनुसार भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी देउवालाई दोक्लाम घटनाबारे जानकारी दिने गरी ‘टकिङ प्वाइन्ट’ बनाउने विदेश मन्त्रालयले तयारी गरिरहेको छ ।
सन्धिको धारा २ मा भनिएको छ, ‘दुई सरकारले एकअर्काको छिमेकीहरुबाट उनीहरुमा कुनै गम्भीर असमझदारी वा खतराका अवस्थाबाट हुने मित्रवत सम्बन्धको उल्लंघनबारे एकआपसलाई जानकारी दिनेछन् ।’
यसबारे भारत पनि नरिसाउने तर नेपाल तटस्थ रहेको सन्देश पनि दिने गरी तयारी भइरहेको परराष्ट्र स्रोतले जानकारी दिएको छ ।
भारतको नेपालबाहेक भूटान, अफगास्थिान, पाकिस्तान, बंगलादेश, श्रीलंका मालदिभ्ससँग सीमा जोडिएको छ । भारतीय विदेश मन्त्रालयको नेपाल नीतिबारे जानकार तथा भारतीय रक्षा अध्ययन एवं विश्लेषण संस्थानका नेपाल मामिला अध्येता डा निहार नायकले भातले दोक्लाम बिषयमा छलफल गर्ने जानकारी पाएको बताए ।



