नेपालगञ्जबाट २६ किलोमिटर हिँड्यो भने चिसापानी गाउँ पुगिन्छ । त्यहीँ गाउँबाट गायक बन्ने सपनासहित भागेर काठमाडौं छिरेका थिए ‘नेपाल आइडल’ का टप ६ बाट बाहिरिएका सुरज थापा ।
‘नेपाल आइडल’ बाट बाहिरिए पनि सुरज भने आफूले धेरै सफलता पाएको बताउँछन् । कार्यक्रममा अन्य गीत भन्दा पनि झलकमान गन्धर्वको भाकगाएपछि उनको चर्चा अझै चुलियो ।
‘मैले यो गीत रोज्नु नै सफलता बन्यो, गीतलाई न्याय दिन सक्छु कि सक्दिन भन्नेमा म आफैं पक्का थिएन ।’ सुरज आफूले उक्त गीत गाउँदाको समयलाई सुनाउँछन्, ‘सानैदेखि सुन्दै आएको त्यो गीत गाउँदा म यसरी भावनामा डुबेछु कि, गाउँदै गर्दा आफै भक्कानिएको थाहा भएन ।’
गीतको परिवेश स्वयम् सुरजसँग पनि मिल्दो थियो । बुबाले भारतीय सेनामा जागिर खाएपनि आर्थिक रुपमा भने परिवार सबल थिएन । बुबाको आशा पनि छोरोलाई आर्मी बनाउने थियो तर सुरजले भने संगीतमै सबथोक देखेका थिए ।
त्यसैले उनले बुबाको कुरालाई सुनेनन् । मनको कुरा सुने र आमालाई सपना सुनाउन थाले । ‘एसएलसीपछि बुबासँगै म पनि भारत जाने कुरा थियो, तर म गायक बन्ने सपना देखेर भागेर काठमाडौं आएँ ।’, उनी सुनाउँछन् ।
अहिले पनि उनको घर उस्तै छ, जस्तो घर उनले चौध वर्षअघि छोडेर आएका थिए । अर्थात माटोले बनेको कच्ची घर ।



