नेकपा एमालेले आगामी मंसिर १० गते सरकारले तोकिएको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको स्वागत गरेको छ । बुधबार पार्टी कार्यालय धुम्बराहीमा बसेको स्थायी कमिटी बैठकले सरकारको सो निर्णयको स्वागत गरेको हो ।
एमालेले उक्त चुनावलाई सफल पार्न सिंगो पार्टी पंक्तिलाई परिचालन गर्ने समेत निर्णय गरेको छ । सो पार्टीले मंसिर १० गतेको निर्वाचनका लागि आगामी शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय समेत गरेको छ ।
त्यसका लागि पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई जिम्मेवारी दिइएको एमाले केन्द्रीय कार्यालय निकट श्रोतले जानकारी दिएको छ ।
बैठकले असोज २ गते हुने २ नम्बर प्रदेशको स्थानीय तहको चुनावमा पार्टीको पुरै शक्ति परिचालन गरिने समेत निर्णय गरेको छ ।
एमालेले २ नम्बरमा प्रदेशमा पार्टीलाई पहिलो शक्ति बनाउने दाबी गर्दै आएको छ । सो पार्टीले राजपालाई निर्वाचनमा सहभागी हुने पुनः गम्भीरताका साथ आह्वान गरेको छ ।



