नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका नेता–कार्यकर्ताहरुले सप्तरीमा एउटा उदाहरणीय कामको सुरुवात गरेका छन् । डुबानमा परेर पीडाको घाउ चहर्याइरहेको तराई–मधेसलाई थोरै भएपनि मलम लगाउने उद्धेश्यसहित युवा संघले बाढीले क्षतिग्रस्त क्षेत्रको पुनःनिर्माणको कामको सुरुवात गरेको हो ।
अहिले युवा संघको नेतृत्व एक हप्ताअघि आएको बाढीले पूरै क्षति पुर्याएको बाँध निर्माण लगायतका पुनःनिर्माणको काममा जुटेको हो ।
सुरुमा यसबेला सो टोली स्थानीय खाँडो खोलाको बाढीले क्षति पुर्याएको भलुवाई खोलाको डिललाई मर्मत गर्नका लागि अध्यक्ष राजीव पहारीको नेतृत्वमा ४० जनाको टोली यसबेला दिनरात नभनी खटिरहेको छ । सोही खोलाको भीषण बाढी पसेर केही दिनअघि सप्तरीको राजविराज पूरै डुबानमा परेको थियो ।
राजविराज ४ मा पर्ने सो भलुवाई खोलको पुल नजिकै बाढीका कारण एउटा ठुलो खाल्डो निर्माण भएको छ । त्यसलाई पूर्न अहिले युवा संघको टोली खटिरहेको जनाइएको छ ।
युवा संघको टोलीले बालुवाका बोरा र बेल्चासहित त्यसरी बाँध निर्माणमा लागेपछि स्थानीयवासीहरुले पनि उनीहरुलाई साथ दिइरहेका छन् ।
त्यस्तै सो टोलीले सिराहाका केही ठाउँमा समेत बाँध निर्माण लगायतका पुनःनिर्माणका काममा जुट्ने तयारी गरिरहेको युवा संघ निकट श्रोतले जनाएको छ । सिराहामा पनि विशेषगरी सो टोली नदीले क्षति पुर्याएको क्षेत्रमा खट्ने जनाइएको छ ।
पूर्वका अधिकांश जिल्लामा बाढी आएलगत्तै त्यसको मारमा परेका स्थानीय जनताका लागि राहत वितरण र उद्धारका लागि पुगेको सो टोली त्यसलगत्तै बाढीले क्षति पुर्याएका क्षेत्रको पुननिर्माणका लागि जुटेको युवा संघको दाबी छ ।
टोलीमा अध्यक्ष पहारी उपाध्यक्षद्वय रमेश पौडेल र चन्द्र लामा, सचिवद्वय मन्जु यादव र राजेश साह, सचिवालय सदस्य प्रभातविक्रम कटुवाल, निरेशलाल सिंह, केन्द्रीय सदस्य सीता सुवेदी लगायत छन्।
यसैगरि बुधबार झापाको कन्काइ नगरपालिकामा बाढि पीडितहरुलाइ लक्षित गरेर युवा संघले निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको छ ।
नोवेल मेडिकल कलेजको प्राविधिक सहयोगमा युवा संघले स्वास्थ्य शिबिरको आयोजना गरेको केन्द्रिय सदस्य दुर्गा गौतमले बताए ।



