प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजकिय भ्रमणमै रहेका बेला चीनले नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्धमा सकारात्मक बिकास होस भन्ने चाहना राखेको छ । त्यस्तो असल सम्बन्धलाई आफूले स्वागत गर्ने पनि चीनले जनाएको छ ।
भारत र चीनबीच नेपालमा सामरिक प्रतिस्पर्धा चलिरहेको र पछिल्लो पटक भुटानसँग सीमा जोडिएको चिनियाँ भूभाग दोक्लामलाई लिएर युद्धोन्मुख तनाव उत्पन्न भइरहेका बेला चीनले नेपाल र भारतको सम्बन्ध राम्रो होस् भन्ने चाहना राखेको हो । चीनले नेपालका प्रधानमन्त्रीको दक्षिण यात्रालाई नजिकबाट नियालेको भारतीय संचारमाध्यममा रिपोर्ट आइरहेका बेला बेइजिडले भने सकारात्मक सम्बन्ध बिकास होस् भन्ने धारणा सार्वजनिक गरेको हो ।
चिनियाँ विदेश मन्त्रालयद्वारा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता हुवा चुनयिङले नेपालका प्रधानमन्त्रीको भारत भ्रमण सफल होस भन्ने कामना गर्नुभएको हो । चीनले नेपाललाई भारतसँग सौहर्दपूर्ण सम्बन्ध बनाउन सुझाव दिंदै आएको हो ।
‘हामी नेपाल भारतबीचको असल सम्बन्धको विकासलाई स्वागत गर्छाैं’ उहाँले भन्नुभयो, ‘हामी विश्वास गर्छौं कि भारतले चीन र नेपाल सम्बन्धको बृद्धिलाई ध्यानमा राख्दै आफ्नो दृष्टिकोण तय गरोस् ।’ उहाँले २१ औं शताब्दीमा अन्तर्राष्ट्रिय सम्बन्धहरु ‘जिरो–सम’ खेलमा आधारित नहुने भन्दै कुनै एक देशको सम्बन्धलाई सन्तुलनमा राख्न अर्को देशसँग सम्बन्ध बढाउने कुरा मान्न नसकिने र नहुने बताउनुभयो ।
नेपालमा चिनियाँ लगानी र प्रभाव बढेको र त्यसमा भारत चिन्तित भएको भन्ने प्रश्नमा उहाँले कुटनीतिक सम्बन्धहरु पारस्परिक सम्मान र लाभका आधारमा संचालन हुने बताउनुभयो । ‘भारत र नेपाल दुबै चीनका असल मित्रहरु हुन्’ उहाँले भन्नुभयो, ‘कुनै एक देशलाई सन्तुलनमा अर्को देशसँग सम्बन्ध बनाउने र बढाउने भन्नु हुँदैन ।’
नेपालमा बेल्ड एण्ड रोड ईनिसिएटिभमार्फत ठूला परियोजना संचालन हुन लागेको र त्यसले भारतलाई पनि नेपालमा लगानी बढाउन चुनौती थपिएको भन्ने प्रश्नमा उहाँले चीनको उक्त अवधारणाम सहभागि हुन सबैलाई आव्हान गर्नुभयो । ‘वान बेल्ट, वान रोड क्षेत्रीय एकता र सम्पर्क बृद्धि गर्ने समावेशी, साझा बिकासको अवधारणा हो । यसमा सहभागि हुन म सबैमा आब्हान गर्छु’ उहाँले भन्नुभयो ।



