काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कटैया– कुशाहा प्रसारण लाइनकोे संयुक्त रुपमा उदघाटन गरेका छन् ।
विहिबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्नु अघि देउवा र मोदीले १३२ केभीको कलैया–कुश्वाह र रक्सौल–परवानीपुर अन्तरदेशीय विद्युत प्रसारण लाइनको संयुक्त उद्घाटन गरेका हुन् ।
उदघाटनसँगै यो कटैया कुशाहा प्रसारणलाइनबाट थप ५० मेगावाट विद्युत नेपाल आयात गर्न मिल्छ । आगामी वर्षको माग धान्ने नदेखेपछि प्राधिकरणले अहिले थप प्रसारणलाइन मार्फत विद्युत ल्याउने भएको हो । कटैया कुशाहा १ सय ३२ केभीको प्रसारणलाइन गत फेब्रअरीमा नै निर्माण सम्पन्न भएको थियो । तर हालसम्म यसबाट विद्युत आयात भने भएको छैन ।
त्यस्तै अहिले रक्सौल–परवानीपुरको १ सय ३२ केभी प्रसारणलाइन पनि निर्माण सम्पन्न भइसकेको छ । जसबाट पनि ५० मेगावाटको विद्युत आयात गर्न सकिन्छ ।
दुवै प्रसारणलाइन भारत सरकारको अनुदानमा निर्माण भएका हुन् । जग्गा प्राप्ती नेपाल सरकार तथा विद्युत प्राधिकरणले गरिदिएको थियो ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको समयमा पनि ढल्केवर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन गरिएको थियो । ती दुवै आयोजनाको क्षमता १३२ केभी रहेको छ ।
नेपालको विद्युत् मागलाई सम्बोधन गर्ने लक्ष्यअनुसार सरकारले भारतसँग ती दुई अन्तरदेशीय प्रसारण लाइनबाट थप विद्युत् आयात गर्ने सहमति यसअघि नै भइसकेको छ ।वीरगन्ज औद्योगिक कोरिडोरलाई पूर्णरुपमा विद्युत्भार कटौती गर्ने लक्ष्यका साथ प्रसारण लाइन निर्माण गरिएको रक्सौल परवानीपुर प्रसारण लाइन आयोजनाका प्रमुख लक्ष्मीनारायण मुखियाले बताए ।
विद्यमान ३३ केभी प्रसारण लाइनबाट हाल १० मेगावाट विद्युत् आयात भइरहेको छ । नयाँ प्रसारण लाइनबाट थप ५० मेगावाट विद्युत् आयात गरिनेछ । यसले वीरगञ्ज औद्योगिक कोरिडोर र आसपासका क्षेत्रलाई पूर्णरुपमा विद्युत्भार कटौतीमुक्त गर्ने योजना प्राधिकरणको छ ।
भारतीय ठेकेदार मोहना इनर्जीले सो प्रसारण लाइन निर्माण गरेको हो । हाल भारतबाट नेपालले ३५० मेगावाट विद्युत् आयात गरिरहेको छ । ती प्रसारण लाइनबाट थप एक सय मेगावाट विद्युत् आयात भएपछि ४५० मेगावाट पुग्नेछ ।



