भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनपछि बहुमत पुर्याएर संविधान संशोधन गर्ने बताएका छन् ।
उनले अहिलेको संविधानबारे केही समुदायमा असन्तुष्टि रहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
“संविधानबारे मधेसी समुदायमा असमझदारी छ । तर, अहिले उनीहरु पनि चुनावमा जान तयार भएका छन्,” देउवाले भने, “अहिले संशोधन हुन सकेन । आगामी निर्वाचनपछि संशोधन गरी असन्तुष्ट पक्षको माग सम्बोधन हुन्छ ।”
उनले भारत र नेपालबीचका सन्धी सम्झौताबारे दुई देश सम्मिलित प्रबुद्ध समूह (ईपीजी)ले काम गरिरहेको बताए । उनले विगतका सन्धी सम्झौता पुनरावलोकन उक्त समूहको परामर्श र सुझावका आधारमा गरिने जनाए ।
भारतका प्रधानमन्त्री मोदीले देउवाको नेतृत्व असन्तुष्ट पक्षलाई समेट्दै लोकतन्त्रलाई बलियो बनाउन सक्षम रहेको भन्दै प्रशंसा गरेका थिए ।



