प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे बुधबारसम्म निकै कम सरोकार देखाएका भारतीय पत्रपत्रिकाले दिल्लीमा संयुक्त पत्रकार सम्मेलन आयोजना भएपछि यससम्बन्धी समाचारलाई प्राथमिकताका साथ प्रसारण गरेको पाइएको छ ।
दैनिक भास्कर डट कमले नेपाल–भारतबीच आठवटा सम्झौताहरू भएको र तीमध्ये लागूपदार्थको अवैध ओसारपसार नियन्त्रण गर्ने सम्झौता मुख्य रहेको जनाएको छ । अर्को एक सम्झौतामा नेपालमा पचास हजार घर निर्माण गर्ने सम्झौता पनि उल्लेख्य रहेको दैनिक भास्करको टिप्पणी छ । दैनिक भास्करले प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना समकक्षी शेरबहादुर देउवासहित संयुक्त पत्रकार सम्मेलन आयोजना गरेको समाचार दिएको छ । अनलाइनका अनुसार, पत्रकार सम्मेलनमा मोदीले भनेका छन्, ‘‘हामीले नेपालसँगको सम्बन्धलाई पहिलेभन्दा अझ सुदृढ बनाउने छौं ।’’
पत्रकार सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीभूमि भारतविरुद्ध कदापि प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको उल्लेख छ । दैनिक भास्करले देउवाको भ्रमणलाई भारतले उच्च महत्त्व दिएको र मोदीले प्रोटोकल तोडेर बुधबार देउवासँग भेटघाट गरेको टिप्पणी गरेको छ ।
चीनले नेपालमाथि प्रभाव जमाउन सबै किसिमका हतकण्डा अपनाइरहेको भन्दै दैनिक भास्करको समाचारमा यसर्थ पनि शेरबहादुर देउवाको भारत भ्रमण निकै महत्त्वपूर्ण रहेको टिप्पणी गरिएको छ ।
सुष्माले पिलाइन् देउवालाई पानी
हिन्दूस्तान डट कमले ‘अतिथि देवो भव : जब सुषमाले पिलाइन् नेपालका प्रधानमन्त्रीलाई पानी’ शीर्षक दिएर समाचार लेखेको छ । समाचारमा उल्लेख छ, ‘‘राजनीतिमा यस्ता दृश्यहरू कहिलेकहीं मात्र देखिन्छन्, जुन बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको संयुक्त पत्रकार सम्मेलनका बेला देखियो । भारतीय विदेशमन्त्री सुषमा स्वराजले यसक्रममा भारतीय संस्कृतिको ‘अतिथि देवो भव’ को मान्यता प्रदर्शन गरिन् । संयुक्त पत्रकार सम्मेलनमा बोल्दाबोल्दै जब नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको घाँटी खस्खसायो, त्यतिबेलै विदेशमन्त्री स्वराज उठेर उनलाई आफै पानी पिलाइन् ।’’
समाचारमा अगाडि उल्लेख छ, ‘‘पत्रकार सम्मेलनमा केन्द्रीय मन्त्री नीतिन गडकरी, विदेशमन्त्री सुषमा स्वराज र विदेश सचिव एस जयशंकरसमेत उपस्थित थिए । नेपाल–भारत सम्बन्धबारे बोल्दाबोल्दै जब प्रधानमन्त्री देउवाको घाँटी खस्खसायो, प्रधानमन्त्री मोदीले उनका लागि नजिकै रहेको मिनरल वाटरको बोतल खोले । यो देखेर नजिकै बसेकी विदेश मन्त्री सुषमा स्वराज उठिन् र दुवै प्रधानमन्त्री बसेको स्टेजको नजिक पुगी मोदीको हातबाट बोतल लिएर गिलासमा पानी राखी देउवालाई टक्र्याइन् । पानी पाएपछि देउवाले उनलाई ‘धन्यवाद’ भने र आफ्नो सम्बोधन जारी राखे । यद्यपि यसबीच सुरक्षाकर्मीसमेत पानी दिनका लागि अगाडि आइसकेका थिए, तर सुषमाले आफै पानी दिइन् ।’’
पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले नेपाल–भारतबीचको सम्बन्ध हिमालयजत्तिकै पुरानो रहेको बताए । उनले भने, ‘‘देउवाको यो यात्रा त्यस्तो समयमा भएको छ, जब हामी राजनीतिक सम्बन्धको सत्तरीऔं वार्षिकोत्सव मनाइरहेका छौं ।’’
दुवै देशका प्रधानमन्त्रीले कटैया–कौसा र रक्सौल–परवानीपुर अन्तर्राष्ट्रिय विद्युत् प्रसारण लाइनको उद्घाटन गरेको समेत हिन्दूस्तान डटको समाचारमा उल्लेख छ ।
चीनको चासो
नवभारत टाइम्सले चाहिँ चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सको एउटा लेखलाई उद्धृत गर्दै शेरबहादुर देउवाको भारत भ्रमणबाट दुवै देशबीच सम्बन्ध सुधार भएको कुरा चीनलाई मन नपरेको टिप्पणी गरेको छ । भारतले नेपाललाई आर्थिक सहयोग दिने नाममा आफ्नो पक्षमा पार्ने सपना देखेको छ भने उसले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी ग्लोबल टाइम्सको उक्त लेखमा रहेको नवभारत टाइम्सले जनाएको छ ।
भारत स्वयं आर्थिक समस्याबाट गुज्रिरहेका बेला नेपाललाई आर्थिक सहयोग दिएर चीनबाट विमुख बनाउने उसको सपना दिवास्वप्न मात्र रहेको ग्लोबल टाइम्सको टिप्पणीलाई नवभारत टाइम्सले उद्धृत गरेको छ ।
यसबारे नकारात्मक टिप्पणी गर्दै नवभारत टाइम्सको अनलाइन प्रसारणमा भनिएको छ, ‘‘चीनले हरेक कुरामा अड्काउन थालेको छ । अमेरिकाले पाकिस्तानलाई चेतावनी दिँदा चीनको पेटमा पीडा भयो । अब नेपालका प्रधानमन्त्री भारत भ्रमणमा छन्, यो देखेर चीनका पेट फेरि दुख्न लाग्यो ।’’



