सरकारी नियुक्ती लिई नीजि क्लिनिक सञ्चालन गरेकाहरुलाई तत्काल बन्द गर्न स्वास्थ्यमन्त्रालयले निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री गिरिराजमणी पोख्रेलले सरकारी चिकिस्तकहरुलाई नीजि क्लिनिक नचाउन निर्देशन दिएका हुन ।

जनकपुर अञ्चल अस्पतालको स्थलगत निरीक्षण गर्न गएका मन्त्री पोख्रेलले अस्पतालमा कार्यरत चिकित्सक, व्यवस्थापन समितिका पदाधिकारीसँगको अन्तक्रियामा सो निर्देशन दिएका हुन । उनले भने, ‘नीजि क्लिनिक नचलाउनु होला, स्वास्थ्य क्षेत्रमा सुधार गर्न यो अनिवार्य भएकाले तत्काल नीजि क्लिनिक बन्द गरेर आफ्नो कार्यक्षेत्रमा समय दिनुहोला ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जनकपुर अञ्चल अस्पतालको नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा.कल्पना बछारले नै नीजि क्लिनिक सञ्चालन गरेकोमा मन्त्री पोख्रेले भने, ‘यस कामको सुरुवात मेडिकल सुपरिटेन्डेन्ट डाक्टरबाटै सुरु गर्नुहोला, आफै नीजि क्लिनिक संचालन गर्नेले अरुलाई निर्देशन दिन सक्दैन ।’

स्वास्थ्यमन्त्री भएपछि पोख्रेलले डा. रामपरीक्षण यादवलाई हटाई दुई साता अघि डा.बछारलाई मेसु नियुक्त गरेका हुन । स्वास्थ्यमन्त्री नियुक्त भएको एक महिना भित्र दोश्रो पटक अस्पतालको स्थलगत निरीक्षण गर्न आएका मन्त्री पोख्रेल बिरामीहरुको अत्याधिक चाप रहने जनकपुर अञ्चल अस्पताललाई स्तरोन्नति गर्नुपर्ने स्वीकार गरे ।