गत साउन २८ गते आएको बाढी र डुवानका कारण बाँकेमा ४८ हजार भन्दा बढी सर्वसाधारण प्रत्यक्ष–अप्रत्यक्ष प्रभावित भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । जिल्लामा बाढी र डुवानका कारण ८ जनाको मृत्यू भएको छ ।

बाँकेका प्रमख जिल्ला अधिकारी रमेशकुमार केसीले बाढी र डुवानका कारण जिल्लामा मानविय क्षति ८ जनाको मृत्यू भएको जानकारी दिए । बाढी र डुवानका कारण प्रारम्भिक तथ्यांक अनुसार १७ सयभन्दा बढी घर पूर्ण रुपमा क्षति भएको बताएका उनले अहिले पनि तथ्याक संकलन भइरहेको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका अनुसार बाढीपीडितलाई पहिलो चरणको राहत वितरण गरि सकिएको छ । बाढीले घर भत्काउँदा राप्ती सोनारी गाउँपालिका ४ मा एकै घरका ३ बालिकाको ज्यान गएको थियो । भने, नरैनापुर गाउँपालिकामा नालामा डुबेर एकै घरका ३ आमाछोरी सहित ४ जनाको मृत्यू भएको प्रशासनले जनाएको छ । कोहलपृुर नगरपालिकाको किरण नालामा बगेर एक बालकको ज्यान गएको थियो ।

बाढी र डुवानका कारण मृत्यू भएका ८ घरपरिवारलाई जनही दुई लाखका दरले राहत प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी केसीले बताए । उनले सरकारले बाढीपीडितका लागि घोषणा गरेको राहत वितरण भइरहेको बताए ।

बाढी र डुवानको एकीन तथ्यांक संकलन गर्न गाउँ–गाउँमा टोली खटिएको उनले जानकारी दिए । बाढी र डुवानका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिका धेरै प्रभावित भएका छन् । बाढीका कारण बिग्रिएका सडक मर्मतपछि सञ्चालनमा आएको प्रजिअ केसीले बताए ।

दीर्घकालिन समस्या समाधानको माग

बाँकेका बाढीपीडितले समस्या समाधानका लागि दिर्घकालिन योजना बनाउन सरकारसँग माग गरेका छन् । केहिदिन अघि परेको अबिरल बर्षाका कारण राप्ती नदीमा आएको बाढीले डुबानमा परेका राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाँउपालिकाका बाढीपीडितले डुवान, कटान तथा पटानको दीर्घकालिन समस्या समाधान गर्न सरकारसँग माग गरेका हुन् ।

राप्ती नदी र डुडुवा खोलाको तटिय क्षेत्रमा बसोबास गर्दै आएका स्थानीय हरेक बर्ष डुबानमा पर्दै आएका छन् । ति क्षेत्रमा बसोबास गर्नेहरु हरेक बर्ष जनधन तथा पशुचौपायाको क्षति ब्यहोर्दै आएका छन् । बाढीका कारण ती क्षेत्रमा सयौं घर भत्किएका छन् भने घरमा रहेको अन्नपात तथा पशुचौपायासमेत पानीले बगाएको छ ।

बाढीको दीर्घकालिन रुपमा समस्या समाधानका लागि गुरुयोजना बनाएर अगाडि बढ्नु पर्ने राप्ती–सोनारी गाउँपालिका–३ बनघुस्री निबासी तुलसीराम थारुको माग छ । उनले समयमा योजना ल्याउन नसकेका कारण राप्ती नदी आसपास क्षेत्रका बासिन्दा वर्षेनी बाढीबाट पीडित हुन परेको बताए ।

यसपालीको बाढीबाट पीडितलाई विभिन्न संघसंस्था र गाउँपालिकाले राहत वितरण गरेको भनिए पनि कुनै ठाउँका बाढीपीडितले अहिलेसम्म राहत नपाएको गुनासो गरेका छन् । घर गुमाएका र जोखिममा रहेका पीडितलाई स्थानीय बिद्यालयमा राखिएको छ । बाढी पीडितलाई राहत स्वरुप अहिले चाउचाउ, बिस्कुट, पानी चिउरा, औषधी, त्रिपाल, चामल, दाल लगायतका सामानहरु प्रदान गरिँदै छ ।

अल्पकालिन रुपमा प्रदान गरिएको यो राहत सामग्रीले उनीहरुलाई तत्कालिन रुपमा केहि सहयोग भएपनि त्यसपछिका दिन सम्झेर बाढीपीडितहरु चिन्तामा छन् । बस्ने घर र सरसामानहरु बाढीले बगाएपछि आगामी दिनमा कहाँ बस्ने, के खाने र के लाउने भन्ने चिन्तामा परेको राप्ती–सोनारी गाँउपालिका–४ लालपुर निबासी छबीकला पुनले दुःखेसो पोखे । तस्विर सहित समाचार नँया पत्रिकाबाट ।