– विजेता
जननायक प्रिय धुर्मुस दाजु ! प्रणाम !
तिम्रो हालखबर म सोध्दिनँ दाजु ! ज्यान हत्केलामा राखेर बाढीको बौलाहा ज्वारसँग लड्दै कसैको जीवन जोगायौ । तिमी त अघोषित लडाइँमा हिँडेका सेनानी– के सोधूँ तिम्रो सञ्चोविसञ्चो ? तर मेरा बन्धुबान्धवजस्तै तिम्रो चिन्ता भने अघोरै लागेको थियो दाजै !
आखिर तिमी बाढीसँग अभ्यस्त नै कहाँ थियौ र त्यसरी ! सबै आत्तिएका बेला तिमीलाई त्रास भएन होला र ?
कतिबेला सोच्छु– बाढीका भेल बहुलाएका हुन् कि तिमी मात्तिएका हौ । मान्छे ज्यान जोगाउँदै भाग्न खोजेको त्यो उर्लंदो जलप्रान्तमा तिमी सहयोगका लागि दौडिएर पुग्यौ । र, आफन्तलाई जस्तै गरी पानीमा डुबेर बचायौ । कसरी गर्न सक्यौ ?
हुन त तिम्रो त्यो सेवा देखावटी र ‘स्टारडम’को लागि हो भन्ने महानुभावहरू कम भएनन् । घर बसीबसी बाढीका लीला हेर्ने र सोसल मिडियामा दुःख व्यक्त गर्ने भतुवाहरूलाई तिम्रो सत्कर्मले आवश्य पनि ‘कम्प्लेक्स’ भएर त होला नि दाजु– तिम्रो खिसी गरेको ।
यस्ता खिसी गर्नेहरू बाटाका ढुंगा हुन्, तह लाग्छन् । शायद तिमीलाई थाहा भएर होला तिमी अनवरत छौ आफ्नो बाटोमा । तर, मलाई थाहा छैन किन हो– चोट पर्छ । ‘स्टारडम’कै लागि भए पनि पानीको भेलमा ओर्लिने हिरोहरू कति छन् त्यो त तराईका ती जनतालाई सोधे हुन्छ, जसको नजिक पर्र्नै पनि घीन मान्ने र ठालू कहलिनेहरू यत्रतत्र सर्वत्र छन् ।
हिसाबै दिन्छन् तराईबासीले । आखिर वर्षौंको उठबस न हो । मान्छे चिन्न जानेका छौं हामीले पनि । मेरो घर–आँगनमा पसेर अहिलेसम्म कसैले आफ्नै भाइ–बहिनीलाई जस्तै सेवा वा उद्धार गरिदिएका थिएनन् । घर–आँगनसम्म आएका जम्मै नेता थिए, जो फेरि फर्केर कहिल्यै आएनन् ।
त्यही भएर तिमीलाई जननायक सम्बोधन गर्न मन लाग्यो । हास्यव्यंग्यका नायक त तिमी थियौ नै तर जसरी अनवरत र नथाकिकन जनताको सेवा गर्दै हिँडेका छौ, तिमी जननायक कहलिने हकदार बन्यौ ।
आफ्नै ठाउँका मान्छे र अझ सरकार तथा राज्यबाटै पनि अपहेलित मुसहरलाई बस्ती बनाएर दियौ । भूकम्पपीडितलाई बस्ने छानो दियौ । देशका हरेक विघ्नमा तिमी मदर टेरेसा जस्तै निःस्वार्थ सेवामा जुट्यौ । तिमी यसरी नै सधैं तराई, पहाड र हिमालभरि फैलिनू । भोलि नेपालीले भन्नेछन्– हाम्रो देशमा धुमुर्स जन्मेका थिए ।
तिमी मेरा लागि अहिले नै अमर भयौ । यद्यपि तिमीले फत्ते गर्नुपर्ने अझै धेरै काम बाँकी छन् ।
दाजु ! तिमीसम्म यो चिठी पुग्ला÷नपुग्ला– थाहा छैन । तर, कुनै दिन हाम्री कुलदेवी भगवतीलाई चढाइने विशेष अढहूलको फूलको माला सिउरेर तिमीलाई लगाइदिने रहर छ । मैले तिमीमा ईश्वर देखेकी छु ।
तिम्री बहिनी
विजेता



