काठमाडौं । डेढ दशकदेखि जनप्रतिनिधिविहीन स्थानीय तह २० वर्षपछि सम्पन्न स्थानीय तह निर्वाचनले पूर्ति गरेको छ । जसपछि नागरिकले स्थानीय तहमा सुशासन र विकासको अपेक्षा र प्रत्याभूति दुवै गरिरहेका छन् । काठमाडौं महानगरपालिका प्रमुखमा विद्यासुन्दर शाक्यको पदबहालीपछि काठमाडौंबासीले सुशासन र विकासमा अपेक्षाअनुसारको प्रत्याभूति महसुस गरे त ?
मुलुककै प्रशासनिक, राजनीतिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय र पुरातात्विक महत्व बोकेको काठमाडौं महानगरपालिका प्रमुखसँगको यो प्रश्न सम्पूर्ण स्थानीय तहका लागि प्रतिनिधि बन्नसक्छ ।
वैशाख ३१ गते सम्पन्न पहिलो स्थानीय तह निर्वाचनमा विजयीपछिका १ सय दिनमै काठमाडौंमा देखिनेगरी विकास गर्छु भन्ने ग्यारेण्टीका साथ महानगरपालिका प्रमुख पदमा विजयी भएका विद्यासुन्दर शाक्यसँग आफ्नो पदबहालीपछि महानगरपालिकामा सम्पन्न विकासकार्य साथै आगामी योजनाका विषयमा सुरञ्जन घिमिरेले गरेको कुराकानीः
विजयी भएको सय दिनमै काठमाडौंमा देखिनेगरी विकास गर्छु भन्नु भएको थियो । कार्यकालको ८७ दिन वित्यो तर अहिलेसम्म केही भएन त किन ?
केही सफल अवश्य भएको हुँ । जस्तो कि यहाँको फोहोर व्यवस्थापनको कुरा छ त्यसको पूर्ण व्यवस्थापन भइसकेको छ । सडकहरुमा अहिले पहिलाकोजस्तो फोेहोरका डङ्गुर छैनन् । क्लिन द सिटी अभियानअन्तर्गत हामीले सडकबाट फोहोर उठाउने होइन, सडकमै फोेहोर आउन नदिन स्थानीयको सहभागितामूलक जनचेतना कार्यक्रम गर्दै आएका छौं । जेष्ठ नागरिकको सम्मानस्वरुप वृद्धभत्ता बढाएका छौं । भुस्याहा कुकुर र घुम्ती शौचालय र फुटपाथ व्यवस्थापन गरेका छौं । काठमाडौंको समग्र विकासमा सय दिनको जो कुरा छ– यसका लागि मैले म निर्वाचित भएर आउनुअघि नै महानगरले गरेका निर्णय, म आइसकेपछि सम्पन्न भएका काम र सम्पन हुन बाँकी योजनाहरु गरी ३ किसिममा वर्गिकरण गरेको छु । मेरोे कार्यकालको सय दिन पुगेको दिन म पत्रकार साथीहरुलाई बोलाएरै यी ३ प्रकारका कामको विवरण स्वेतपत्र जारी गरी उपलब्ध गराउँछु ।
निर्वाचित भएको डेढ महिनामै सम्पूर्ण वडाध्यक्षहरुलाई स्मार्ट फोन उपलब्ध गराउने निर्णयको चौतर्फी विरोध भयो । यसपछि नगरबासीको प्रतिक्रियाको ख्याल नै नगरी १ करोड २० लाखको गाडी चढ्ने निर्णय किन गर्नुभयो ?
सातौं तहका कर्मचारीले नै गाडी चढिरहेको अहिलेको प्रशासन बृत्तमा नगरप्रमुखको हैसियतले मैले गाडी चढ्नु कुनै अस्वभाविक कुरा होजस्तो लाग्दैन । तपाईंले भन्नुभएको १ करोड २० लाखको यो फच्र्युन गाडी चाहिँ महानगरले आफ्नो नियमित कार्यअनुरुप नै निर्वाचन परिणामअघि नै खरिद गरिसकेकाले यो गाडी मेरै लागि खरिद गरिएको हो भनेर सोच्नु गलत हो । अहिले म पुरानै गाडी चढिरहेको छु । नयाँ गाडी चढेको छैन । नयाँ गाडीको कुनै सोख पनि छैन । हरेक कर्मचारीमा कार्यालयको सुविधा उपयोग गर्ने, गाडी प्रयोग गर्ने व्यक्तिगत स्वाभाव नै हुन्छ । पोषिलो घाँस खुवाउँदा गाईले धेरै दूध दिएजस्तै कर्मचारीले पनि सुविधा, गाडी प्रयोग गरुन् तर कार्यसम्पादनको आउटपुट पनि त्यसैअनुसार राम्रो होओस् भन्ने मलाई लाग्छ । गाडी र मोबाइलका विषयमा नियोजित किसिमले भ्रम फैलाइयो, स्रोतको आधार बिना नै समाचार नबनाउन म मिडियाका साथीहरुलाई आग्रह गर्दछु ।
हालसालैको बैठकबाट काठमाडौंमा व्यवस्थित सवारी पार्किङको व्यवस्था गर्नुभयो । तर, पैसा तिरेर पनि सवारीधनीहरुले व्यवस्थित रुपमा पार्किङ गर्न पाएका छैनन्, यसको व्यवस्थापकीय पक्ष किन अकर्मण्य देखियो ?
बढ्दो जनसंख्या र व्यपारिक पेशाप्रतिको मोह र आकर्षणले गर्दा काठमाडौं भरिँदै गयो । यहाँका कम्लेक्स, सुपरमार्केट र व्यापारिक क्षेत्रहरुमा व्यापारी स्वयम्का सवारीसाधन पार्किङ गर्नका लागि समस्या छ । ग्राहकहरुका लागि त झन् समस्या छ नै । छुट्याइएको सीमित स्थानमा पार्क गरिएको एउटा मोटरसाइकल निकाल्दा अर्को सडकमा पुग्ने र त्यहींबोट ट्राफिक प्रहरीले उठाएर लैजाने समस्या पनि उत्तिकै छ । व्यवस्थापकीय पक्ष सक्रिय रहँदा–रहँदै पनि पार्किङस्थलमा सवारीहरु नआटिरहेको अवस्था छ । यसको दीर्घकालीन व्यवस्थापनका लागि टेकुमा रहेको महानगरको जग्गामा व्यवस्थित पार्किङस्थल बनाउने योजना छ । अबको १ वर्षभित्र काठमाडौंको सवारीपार्किङ समस्याको पूर्ण समाधान हुनेछ ।
व्यवस्थित सार्वजनिक शौचालयको विकल्प नै नखोजी भएका घुम्ती शौचालय हटाउनुभयो यसबाट काठमाडौंबासीलाई पर्न गएको मर्काप्रति कत्तिको जानकार हुनुहुन्छ ?
यसबाट विशेषगरी यहाँका व्यापारीहरुलाई अत्यधिक समस्या भइरहेको छ । हामीले अनाधिकृत रुपमा सञ्चालन गरिएका घुम्ती शौचालय हटाएका हौं । शौचालय नभएकै कारण व्यापारीहरु पानी नै कम पिएर पसलमा बस्ने गरेको कुरासँग पनि जानकार छु । काठमाडौंमा ई–ट्वाइलेट निर्माणको योजना बनाएको छु । यसलाई सरकारी, सार्वजनिक वा पिपिपि कस्तो मोडेलबाट बनाउने र कुनकुन स्थानमा बनाउने भनेर सडकसँग पनि कुरा गरिरहेका छौं । अब चाँडै नै काठमाडौंमा पर्याप्त ई–ट्वाइलेटको निर्माण हुनेछ ।
भ्युटावरको निर्माण कार्य किन रोकियो ? निर्माणकार्यले अब पूर्णता लिन्छ कि लिँदैन ?
३२ तले भ्युटावरको निर्माण सम्झौता जलेश्वर स्वच्छन्द्ध बिकोई बिल्डर्ससँग भएको थियो । निर्माण कार्यअघि भारतीय एक कम्पनीले पाइलिङ(माटो परिक्षण) गर्दा १२ तले भन्दा अग्लो बन्न नसक्ने देखिन आयो । यतिमात्र होइन, बाक्लो जनसंख्या रहेको उक्त स्थानको जग्गा भूकम्पलगायत प्राकृतिक विपत्तिका लागि खाली नै छोड्नुपर्छ भन्ने राय आएकाले निर्माणकार्य हाललाई रोकिएको हो । पुरातत्व विभागसहित उच्च तहसँग छलफल गर्दा सम्पूर्ण पक्ष सकारात्मक देखियो भने निर्माणकार्य सुरु हुन्छ । नभए हुँदैन ।
काठमाडौंमा बसपार्किङको समस्यालाई कसरी हल गर्न सकिएला ?
नयाँ बसपार्क ल्होत्से बहुउद्देश्यीयले हेरिरहेको हुँदा जहाँसम्म त्यो त्यति भद्रगोल छैन । बाँकी रत्नपार्कमा हाल भइरहेको र भक्तपुर जाने बसहरुको पार्किङ अव्यवस्थित र अस्तव्यस्त रहेको छ । यी स्थानहरुमै बसलाई कसरी व्यवस्थित गर्ने भन्ने अहिले टाउको दुखाईको विषय बनेको छ ।
भूकम्पीडितलाई सरकारले वितरण गरेको ट्याक्सी काठमाडौंमा गुडाउन पाइँदैन भन्नुभयो किन ?
ठूला नगरबस सञ्चालन गर्ने महानगरको योजना रहेको जगजाहेर छ । काठमाडौंमा जबसम्म ठूला बस सञ्चालनमा आएर साना सवारी हट्दैनन् तबसम्म ट्राफिकजामको समस्या रहिरहन्छ । यसकारण ट्राफिक जामको समस्या नहोस् भनेर हामीले काठमाडौंमा थप १५ सय ट्याक्सी नगुडाउन भनेका हौं ।
धरहरा र रानीपोखरी पूर्ननिर्माण किन सुस्त ?
रानीपोखरी पुर्ननिर्माण सुस्त हुनुमा ठेकेदारको लापरबाही नै मुख्य कारण रहेको छ । हाल गरिरहेको ठेकेदारको सम्झौता पूरा हुन अब केही महना बाँकी छ, त्यसपछि हामी सक्रिय र दक्ष निर्माण कम्पनीलाई काम लगाउने छौं ।
काठमाडौंका स्वदेशी साथै विदेशी पर्यटक समेतको आँखामा पर्ने रानीपोखरीको हालको अवस्थाप्रति महानगर चिन्तित छ ।
धरहरा चाहिँ केपी ओलीज्यू प्रधानमन्त्री रहँदा पनि ‘मेरो धरहरा म आफैं बनाउँछु’ भन्ने अभियानका साथ केही योजनाहरु ल्याइएकै हुन् । टेलिकमले बनाउनमा एक तहको सम्झौता भएको पनि हो । स्लाइड ब्ल्कर नामक एक संस्थाले पनि धरहरा पुनर्निर्माणमा चासो देखाइरहेको छ । तथापि, धरहरा सयवर्ष पुरानो संरचना भएका कारण यसको पुनर्निर्माणमा पुरातात्व विभागले पनि चासो देखाइरहेको छ ।
यहाँका सडक मर्मत र स्तरोन्नति कहिलेसम्ममा गरिसक्नुहुन्छ ?
हामीले महानगरको जिम्मामा रहेका ८ मिटर चौडाइभन्दा कम आकारका सडकहरु मर्मत गरिसकेका छौं । यीभन्दा माथिका सडक मर्मतको जिम्मा सडक विभागको हो । हाल मेलम्ची आयोजनाका कारण काठमाडौंका अधिकांश सडक बिग्रिएका छन् । मैले मेलम्ची आयोजना प्रमुखलाई भेटेरै यसविषयमा कुरा गर्दा यो सबै ठेकेदारको लापरबाहीले गर्दा हो, खनिएका सडकमा दशैंसम्ममा पाइप बिछ्याएर मर्मतका लागि सडकलाई जिम्मा लगाइसक्छौं भन्नु भा छ ।
अन्त्यमा, तपाईंको महत्वकांक्षी योजनाको कुरा गरौं, काठमाडौंमा कहिलेसम्ममा गुड्ला मोनोरेल ?
मोनोरेल योजना र यसको रुटको विषयमा एक महिनाअघि नै कोरियाको एक कम्पनीसँग छलफल गरिसकेका छौं र उसले सम्भाव्यता अध्ययन पनि गरिसकेको छ । विश्वास गर्नुहोस् मेरै कार्यकालभित्र काठमाडौंमा मोनोरेल सञ्चालन हुनेछ । बाह्रखरी










