सरोज भट्टराई
दूधे /झापाको सताक्षीधाम नगरपालिकामा रहेको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सताक्षीधाम बाढीका कारण संकटमा परेको छ ।
खोलाले जमिन कटान गर्दा सताक्षीधाम परिसरमा रहेको हरिवेद विद्यालय र मठ मन्दिहरु पनि संकटमा परेको पाईएको हो । सताक्षी खोलाको शिर छाँगामा अवस्थित पञ्चमुखी शिवको मन्दिरमा प्रतिस्थापित मूर्ति खोलाले बगाएको छ ।
खोलाको दुवै पट्टीको भागमा पहिरो गएकाले सताक्षीधामको आकर्षण मानिएका गुफा, बीरे नूनको स्वाद र बासना भएको नुनिलो पानी तथा देवी, देवताका र नागका आकृति सहितका शीलाहरु पुरिएको अवस्थामा रहेकाछन् ।

खोलाको माथिल्लो भाग झरनासम्म जाने बाटोसमेत भत्किएकाले भक्तजनहरुलाई दर्शन गर्न जान सक्ने अवस्था नरहेको सताक्षीधाम विकास समितिका अध्यक्ष प्रसाद सब्बाले बताएकाछन् । उनले भने ‘ठूलो क्षति भएको छ, खानेपानीको पाइप समेत खोलाले बगाउँदा धामबासीलाई समस्या परेको छ ।’
यसैगरी धाम क्षेत्र भित्र रहेको गोवद्र्धन गौशालामा सतासी खोलाको कटानका कारण क्षति पुरयाउदा गौशाला पनि संकटमा परेको छ ।
साउन अन्तिम साताको बाढीले ६ लाख रुपैयाँको लगानीमा बनाएको गाई गोठमा क्षति पुगेको हो । गोवद्र्धन गौशालाका अध्यक्ष आचार्य नन्दकिशोर भारद्वजका अनुसार ठूलो समस्या पैदा भएको छ ।

उनले भने ‘सुरुमा ठूलो बाढीले कटान गरेपछि गोठ भत्काउन थालेको थियो, त्यसपछि खोलाको बहाव घटेपनि दिनदिनै कटान गर्न छाडेको छैन’ अध्यक्ष भारद्वजले भने, ‘यसको दीर्घकालिन समाधान नगरे सताक्षीधाम नै संकटमा पर्न सक्छ ।’
गौशालामा गाई, गोरु, बाच्छा, बाच्छी गरी २०० चौपाया रहेका छन् ।
जमिन कटानका कारण गाईलाई खुवाउन खरिद गरिएको एक लाख ५० हजार मूल्यको ४० ट्याक्टर परालको कुन्यू पनि खोलाले बगाएको उनले बताए ।



