झापाका दुईजना समाजसेवीले सम्पूर्ण नेपालीलाई दिएको सन्देश हो यो । यी दुई समाजसेवी हुन्– डिल्ली प्रसाई र जयनारायण ढुङ्गाना । समाजका लागि गरेको योगदानले अहिले उनीहरु सबैमाज परिचित छन् । पछिल्लो एउटा कर्मले त झन् उनीहरु देशभर चर्चामा आए । उनीहरुले बिर्तामोडको अदुवा खोलामा एक/एकवटा पुल बनाइदिए । उनीहरुले देशमा एउटा नयाँ सन्देश छरिदिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्रमुख भएर ६ महिनाअघि बिर्तामोड आउँदा प्रहरी निरीक्षक ढुण्डीराज गिरीले सामाजिक अगुवाहरुसमक्ष भनेका थिए, ‘बिर्तामोडको अदुवा पुल जीर्ण भइसक्यो, साँघुरो पनि छ, पक्की पुलको उत्तर र दक्षिणतर्फ पैदलयात्रीका लागि एक÷एकवटा पुल बनाउन सके राम्रो हुन्थ्यो ।’
त्यसको केही महिनापछि बिर्तामोडका युवाको एउटा समूह अदुवा खोलामा बाँसको पुल बनाउन अघि स¥यो । यो कुरा शिक्षासेवी जयनारायण ढुङ्गानाको कानमा पुग्यो । उनले ती युवालाई भेटे । र, बाँसको पुल नबनाउन आग्रह गर्दै भने, ‘तपाईंहरु ढुक्क हुनुस्, म फलामको गतिलो पुल बनाइदिन्छु ।’ उनले अलिकति पनि ढिला गरेनन् । पुल निर्माणको काम तीव्र गतिमा अगाडि बढाए ।
पुल निर्माण भइरहँदा ढुङ्गाना आफैँ खटे । केही दिनमै उनले मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडको अदुवा खोलामा वैकल्पिक पुल बनाइए । पक्की पुलको दक्षिणपट्टी पैदलयात्रीलाई लक्षित गरेर बनाइएको वैकल्पिक पुलले स्थानीयलाई ठूलो राहत मिल्यो । पक्की पुल साँघुरो र पुरानो हुँदा बढ्दो जनघनत्व तथा सवारी चापले दुर्घटनाको जोखिम बढेको थियो । पैदलयात्रीले समेत सास्ती व्यहोर्नु परिरहेको थियो ।
ढुङ्गानाले बनाइदिएको पुलको चौडाई ४ फुट र लम्बाई ५७ फुट छ । एक औपचारिक कार्यक्रमका बीच सो पुलको उद्घाटन गरियो । पुलको सुरक्षाको जिम्मा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले लियो । नियमित रुपमा पुलको मर्मत ढुङ्गानाले नै गरिदिने भएका छन् ।
ढुङ्गाना पूर्वमा परिचित शिक्षासेवी एवम् समाजसेवी हुन् । उनले पूर्वका विभिन्न स्थानमा उदाहरणीय काम गरेका छन् । ढुङ्गानाले पक्की पुल बनाइदिएपछि सबैको वाहवाही पाए । सबैले उनको खुलेर प्रशंसा गरे । पैदलयात्रीले पनि फलामे पुलको प्रयोग गर्न थाले । पक्की पुलको दक्षिणतर्फ त ढुङ्गानाले पुल बनाइदिए, उत्तरतर्फ पनि एउटा पुलको आवश्यकता महसुस भइरहेका बेला अर्का दानवीर निस्किए । र, दर्बिलो पुल बनाइदिए ।
बिर्तामोडका समाजसेवी डिल्ली प्रसाईको परिवारले अदुवा पुलको उत्तरपट्टी फलामको पुल बनाइदिएको हो । ५० फुट लम्बाई र ८ फुट चौडाइको यो पुल पनि भव्य कार्यक्रमको आयोजना गरी उद्घाटन गरियो । कात्तिक १४ गते लक्ष्मीपुजाका दिन समुद्घाटन गरिएको पुलको लगानी बताउन चाहँदैनन्, समाजसेवी प्रसाईं । उनी भन्छन्, ‘यसको लगानी हिसाब नै पो गरिएन ।’
यो पुल १५ दिनमा तयार भएको हो । अग्रज समाजसेवीहरुको बाटो आफूले पनि पछ्याएको प्रसाईं बताउँछन् । उनी भन्छन्, ‘जयनारायण दाईले दक्षिणपट्टी पुल बनाइदिएको देखेँ, मलाई पनि यस्तै उदाहरणीय काम गर्न मन लाग्यो । परिवारको सल्लाहमा यो पुल बनाइदिएका हौँ ।’ समाजसेवाका क्षेत्रमा परिचित नाम हो– डिल्ली प्रसाईं । उनले पूर्वमा कैयौँ सामाजिक कार्य गरेका छन् ।
‘६ महिनाअघि मैले देखेको सपना बल्ल पूरा भएको छ, म अत्यन्तै हर्षित छु,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरी भन्छन्, ‘दुईजना दानवीरले दुईवटा फलामे पुल बनाइदिनुभयो, यसलाई संरक्षण गर्नु हामी सबैको दायित्व हो ।’ पैदलयात्रीलाई फलामे पुलको मात्र प्रयोग गर्न उनले अनुरोध गरेका छन् ।
‘पुल धेरै मजबुत छ, अभर पर्दा त साना कार पनि हिँडाउन सकिन्छ,’ प्रसाईं परिवारद्वारा निर्मित पुल उद्घाटन कार्यक्रममा सांसद् सुधिरकुमार शिवाकोटीले भने, ‘गर्न खोज्दा जे पनि सम्भव हुँदो रहेछ, जयनारायणजी र डिल्लीजीले गरेर देखाइदिनुभयो, एउटा साँघुरो पुल थियो, अब ३ वटा भए ।’
आफ्ना लागि ठूल्ठूला महल ठड्याउने तर, समाजका लागि केही नगर्नेहरुका लागि यो गतिलो उदाहरण भएको अर्का समाजसेवी धु्रव शिवकोटी बताउँछन् । ‘वर्षौपछि पनि यो पुल कसले बनाइदिएको हो भन्ने सबैलाई थाहा हुन्छ,’ शिवाकोटी भन्छन्, ‘यस्ता कामले नै हो भोलिका दिनमा सम्मान पाइरहने पनि ।’ सामाजिक क्षेत्रमा प्रसार्इंले सकारात्मक कार्य गरेको शिवाकोटी बताउँछन् । ‘डिल्लीजीले कैयौँ ठाउँमा पाटी बनाइदिनुभएको छ, मलामी घर बनाइदिनुभएको छ,’ उनी भन्छन्, ‘पाथीभरा मन्दिरमा पनि उहाँको योगदान ठूलो छ ।’
समाजसेवा भनेको के हो भन्ने कुरा डिल्ली प्रसार्इंले प्रष्ट पारिदिएको काङ्ग्रेस नेता देउमान थेबे बताउँछन् । पूर्वका लागि प्रसाईं उदाहरणीय व्यक्ति भएको थेबेको भनाइ छ ।



