झापा, २४ भदौ । दशैँ नजिकिँदै आएपछि बजारमा बिक्रीवितरणमा राखिएका वस्तु अखाद्य पाइएको एक अनुगमन टोलीले बताएको छ ।

मेचीनगर क्षेत्रभित्र मेचीनगर नगरपालिकाले शुक्रबार गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो । नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्की नेत्तृत्वको टोलीले धुलाबारीका २० पसल तथा स्थानीय हाटबजारमा अनुगमनका क्रममा म्याद गुज्रिएका सामग्री बरामद गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तिनमा उपभोग्य मिति सकिएका खान अयोग्य तोरीको तेल २५ लि, म्याद गुज्रेका सिन्के चाउचाउ १७ केजी, विभिन्न हल्का पेय पदार्थ (फेन्टा, स्प्राइट, कोक) लगायत ३५ लि, खान अयोग्य रङ प्रयोग भएको दाल २९ केजी र खान अयोग्य मिठाइ १४ केजी बरामद गरिएको खाद्य अधिकृत कार्कीले बताउनुभयो ।

अनुगमन टोलीमा नगरपालिकाका खाद्य अधिकृत कार्की, जिल्ला प्रशासन कार्यालयका खाद्य निरीक्षक दिनेश ढुंगाना, जिल्ला पशु कार्यालय काँकडभिट्टाका पशु चिकित्सक दिवाकान्त चौधरीलगायत हुनुहुन्थ्यो । रासस