पूर्व राष्ट्रपति डा. रामबरण यादवले राष्ट्रियताको सवालमा एउटा नयाँ सन्देश दिएकाछन् । नेपालको पहिलो राष्ट्रपति यादवको अन्पूर्णपोष्टको अनलाइनमा रहेको एउटा अन्र्तरवातामा उनले आफ्नो बिषयमा एउटा रहस्य खोलेकाछन् । त्यो यस्तो रहेको छ ।
तपाईं गम्छा र ढाकाटोपी लगाउने गर्नुहुन्छ । यसको कुनै राजनीतिक सन्देश छ ?
मैले एउटा प्रयोग गर्न खोजेको हुँ, राष्ट्रियताको । २०६४ को चुनावमा म मधेशमा जाँदा तपार्इं पहाडीलाई साथ दिइरहनुभएको छ भनेर तीतो शब्दमा कतिपयले व्यक्त गरे । मलाई पहाडी दलालसमेत भने । मैले भनें, ‘होइन, म देशको दलाल हुँ ।’ म गाउँ पुगेर घन्टौं सम्झाउँथें– गान्धी र बीपीले के भनेको हो । म जितेर आएँ ।
फेरि, दोस्रो संविधानसभाको अन्तिम समयमा कांग्रेस, एमाले र माओवादीले मैलाई भने– यो अरुको इशारामा मधेशलाई साथ दिइरहेको छ । यो मेरो विवेकको कुरा हो । मैले सात वर्षसम्म तीन दललाई भनिरहेँ, तपाईं मधेश जानूस् । किन उत्तर–दक्षिण सीमांकन हुनुपर्छ भनेर जनतालाई बुझाउनुस् ।
पहाडमा पनि जनजातिहरूलाई बुझाउनुस् । थाहै होला, मैले जातीय राज्य र आत्मनिर्णयको अधिकार हुनुहुँदैन भनेको थिएँ । एउटा मधेश प्रदेश हुनु हुँदैन भनेको थिएँ । हो कि होइन ? मैले अर्थमन्त्री बाबुराम भट्टराईलाई संविधान नबनुन्जेलसम्म २० पहाडी सभासद् र पाँच मधेशी सभासद्को टोली बनाएर पालैपालो मधेश घुमाउन आग्रह गरेको थिएँ । अनि २० मधेशी सभासद् र पाँच पहाडी सभासद् राखेर पहाड, हिमाल घुमाउन भनेको थिएँ ।
संविधान बनाउनेहरूले थाहा पाउनुप¥यो नि, मधेश के हो, पहाड हिमाल के हो ? कसरी हाम्रा भूभागहरू अन्तर्सम्बन्धित छन् । तर, सात वर्ष कोही जानुभएन । पहिलो संविधानसभामा पहिचानका पाँच र सामथ्र्यका चार आधार मानेर राज्य पुनर्संरचना गर्ने भनिएको थियो, तर दोस्रो सभामा कसैले वास्ता गर्नुभएन । जति छलफल हुनुपर्ने थियो, त्यो भएन । जनतामा लगिनुपर्ने थियो, लगिएन । हतारमा संविधान घोषणा गर्न जानुभयो, कुनै वैधानिक आधार समाउनुभएन ।



