दमक/ एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा हेरफेर भएको छ । अध्यक्ष ओलीले आज आफ्नो सचिवालयमा रहेका सहयोगीहरुको जिम्मेवारी हेरफेर गर्दै केही नयाँलाई जिम्मेवारी दिनुभएको छ भने केहीलाई बिदा गर्नुभएको हो ।
अध्यक्ष ओलीले आफ्नो प्रमुख स्वकीय सचिवमा राजेश बज्राचार्य नियुक्त गर्नुभएको छ । बज्राचार्य स्वकीय सचिवका रुपमा कार्यरत रहनुभएको थियो । उहाँको काम गर्ने शैली र सहयोगी भुमिकाका कारण ओलीले प्रमुख स्वकीय सचिवमा बढुवा गर्नुभएको हो । यसैगरी ओलीले प्रेस संयोजकमा प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्य चेतन अधिकारीलाई नियुक्त गर्नुभएको छ । ओली प्रधानमन्त्री रहँदा अधिकारी नै प्रेस संयोजकको भुमिकामा हुनुहुन्थ्यो ।
यसैगरी अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालयको जिम्मेवारी हेर्न देवराज घिमिरेलाई स्वकीय सचिवमा नियुक्त गर्नुभएको छ भने संसद र बिकाश निर्माण हेर्ने गरी अनिष दाहाललाई स्वकीय सचिव नियुक्त गर्नुभएको छ । यो निर्णयसँगै यसअघि ओली सचिवालयमा कार्यरत सवैले बिदा पाएका छन ।



