आपूर्ती राज्यमन्त्री कर्णबहादुर विकले दोश्रो दिन आइतबार पनि कैलालीको टीकापुरमा बजार अनुगमन गरेका छन् । राज्यमन्त्रीसहित टोलीले चन्दर मिष्ठान भण्डार, बम ब्रर्दस, धिरेन्द्र ट्रेर्डस, माया सिद्धि इम्पेक्स, पाण्डे सपिङ्ग, मासु पसल, छविलाल सुनचाँदी पसलमा अनुगमन गरेको हो । अनुगमनका क्रममा माया सिद्धि इम्पेक्सलाई आवश्यक कागजात नभएको भन्दै रु २ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
बजार अनुगमनपछि प्रेस सेन्टर नेपालले टीकापुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा राज्यमन्त्री विकले व्यवसायको नाममा राज्य र उपभोक्तालाई ठग्नेलाई कानुनी दायरामा ल्याई कारवाही गर्ने बताए । उनले प्रतिनिधि मुलक पसलमा बजार अनुगमन गरि व्यापारी, उपभोक्तालाई सचेत गराउदै ठगी र कालो बजारी न्युनिकरणको प्रयास भैरहेको बताए ।
उनले चाडपर्वको बेला नै बढी किनमेल हुने भएकाले अहिले निगरानी तथा अनुगमनलाई सशक्त बनाएको उनले बताए । उनले भने ‘अनुगमन उपभोक्तालाई मात्र नभई व्यवसायीको हितमा छ । अनुगमन गरेर राज्यलाई सहयोग गर्नु पर्छ । आम उपभोक्ता सचेत नभएकोले व्यवसायको नाममा ठगी गर्ने परिपाटी न्यायोचित नभएकोले व्यवसायी पनि सजक हुन आवश्यक छ ।’
टीकापुर बजार अनुगमनको क्रममा अवरोधको लागि उद्योग वाणिज्य संघले पहल गरेकोले त्यसको भत्सर्ना गर्दै पार्किङ्क गाडी तोडफोडको कुनै औचित्य नरहेकोले अनुगमनका क्रममा घटना गराउनेहरुको आफनो जिम्मेवारीको अपरिपक्कता प्रर्दशन गरेको संज्ञा दिए ।
आपूर्ति मन्त्रालयका अधिकृत तथा अनुगमन महाशाखाका प्रमुख गोविन्द लुइटेलले मन्त्रालयको वार्षिक कार्ययोजना अनुसार, सबै क्षेत्रमा जिल्लाको संयन्त्रमार्फत अनुगमन भैरहेकोले उपभोक्तालाई ठगीमा पार्नु अपराध भएको बताए । टिकापुरको अनुगमनपछि राज्यमन्त्री विक बर्दियाको राजापुर नगरपालिकाको अनुगमनमा गएका छन् ।
यस्तै सहरी विकास राज्य मन्त्री छम बहादुर गुरुङले पनि टीकापुरको विभिन्न स्थानको अनुगमन गर्नु भएको छ । उनले टीकापुरको सिटी हल, नगर विकासको हल, । साना सहरी खानेपानीको भवन, टीकापुर पार्क लगाएतको स्थानको अनुगमन गर्नु भएको छ । अनुगमनका क्रममा उनले टीकापुर नगर विकासको कार्य संचालन विधि, सम्पतिको स्वामित्व, सिटी हल संचालन र स्थानिय तहमा हस्तान्तरणको लागि सम्बन्धित निकायबाट समन्वय र पहल गर्ने बताए ।



