एउटा उदाहरणबाट यो लेख सुरु गर्न चाहन्छु । मानौं एउटा बिरामी ज्वरो आउने, पेट दुख्ने र बान्ता आउने भएर अस्पताल गयो । चिकित्सकले चेकजाँच गर्दा एउटा किड्नीमा संक्रमण देखियो र किड्नी पूर्णतया खराब भइसकेकाले झिक्नुपर्ने भयो । संक्रमणबाट बिरामीलाई बचाउन त्यसो गर्नुपर्ने भएपछि बिरामी र आफन्त तयार भए । त्यसका लागि आवश्यक तयारी गरेर मञ्जुरीनामा पनि लेखे।
अपरेसनपूर्व बिरामीलाई उपचार पद्दति, त्यसका फाइदा-बेफाइदा र भवितव्य के हुन सक्छन् भन्ने सम्पूर्ण जानकारी गराएर अनुमति लिइएको हुन्छ । अपरेसन सफल भएर बिरामीको खराब किड्नी झिकियो र संक्रमण नियन्त्रण गर्नेतर्फ उपचार अगाडि बढाइयो । उपचारकै दौरान अर्को किड्नीमा पनि समस्या देखियो । बाकी रहेको किड्नी पनि खराब भएपछि बिरामीको अवस्था खस्किने नै भयो । बिरामीको स्वास्थ्य खस्किँदै जाँदा चिकित्सकहरुले सोही अनुसार झन् जटिल उपचार गर्न थाले: सुरुमा डाएलाइसिस, त्यसपछि आइसियू, भेन्टिलेटर, ट्राकिओस्टोमी (घाँटीमा प्वाल पारेर सास फेराउने पद्दति) आदि गरियो।
हरतरहले प्रयास गर्दागर्दै पनि बिरामीलाई बचाउन सकिएन । महिना दिनपछि बिरामीको मृत्यु भयो।
महिना दिनसम्म हरेक पल्ट उपचारमा कुनै निर्णय गर्नुअघि चिकित्सकहरुले बिरामीका आफन्तसँग सल्लाह गरे । उपचार पद्दति अपनाउनुअघि अनुमति मागे । बिरामीको अवस्था खस्किएसँगै हरेक दिन भवितव्य र सम्भावित दुर्घटनाबारे बताइ नै रहेका थिए।
तर, अथक प्रयासका बाबजुद पनि बिरामीको निधन भएपछि अस्पतालमा एकाएक ठूलो भिड जम्मा भयो । बिरामीका खास आफन्त शोकाकुल भएर एउटा कुनामा झोक्राएर बसेका हुन्छन् । त्यत्रो भिड कताबाट आयो, कसैलाई पत्तो भएन । भिड उत्तेजित हुन्छ र अस्पतालमा तोडफोड गर्न थाल्छ । कतिपय अवस्थामा स्वास्थ्यकर्मीमाथि नै हातपात गर्छ । गालीगलौजका कुनै शब्द बाँकी नराखी कराउँछ।
यो एउटा प्रतिनिधि घटना हो । यस्तै घटना पछिल्लो समय सञ्चार माध्यममा आइरहेका हुन्छन्।
पहिलो कुरा त पेट दुख्ने र ज्वरो आउने बिरामीको किड्नी खराब भएको हुँदैन र हुने पनि होइन । अर्को, दुवै किड्नी खराब भएर अन्तिम अवस्थामा पुगेको मानिस पनि झट्ट हेर्दा हट्टाकटा देखिन पनि सक्छ । त्यसैले ठमठम हिँडेर अस्पताल जाने हरेक बिरामी स्वस्थ हुन्छन् नै भन्ने हुँदैन । शरीरका अंगहरुमा त्यस्ता रोग हुन सक्छन्, जसले अन्तिम अवस्थासम्म पनि लक्षणहरु देखाउँदैनन्।
माथिको घटनामा ‘किड्निको संक्रमण’ लाई उदाहरणको रुपमा प्रस्तुत गरियो । संक्रमणले मान्छेको मृत्यु हुन सक्छ, तर आजको दिनमा संक्रमण भएका सबै मानिस मर्दैनन् । यहीँनेर हो, चिकित्सकले मान्छेलाई बचाउने । उचित उपचार पाएको खण्डमा धेरैजसो बिरामी निको पनि हुन्छन् । प्रतिनिधि उदाहरण जस्तै केसहरुमा काठमाडौंका थुप्रै अस्पतालमा उपचार गरेर स्वास्थ्यलाभ लिइरहेका बिरामीहरु होलान्।
त्यसो त हरेक चिकित्सक सक्षम हुन्छन् भन्ने हुँदैन । धर्मशास्त्रको कथामा द्रोणाचार्यले पाण्डव-कौरवहरु सबैलाई समान रुपमा धनुर्विद्या सिकाएका थिए । तर पनि तीमध्ये अर्जुन सबैभन्दा पोख्त निस्किए ।
कुनै पनि रोगबारे आजकल इन्टरनेटमा प्रशस्त जानकारी पाउन सकिन्छ । त्यसबाट हरेक बिरामी र उसका आफन्तले आफूले पाइरहेको उपचर सही छ वा छैन भनेर जाँच गर्न सक्छन् । अथवा एक डाक्टरसँग उपचार गराउदै गर्दा अर्को कुनै डाक्टरसँग सरसल्लाह गर्न पनि बिरामिलाइ कसैले रोकतोक गरेको हुँदैन।
तर, उपचारमा अर्को पाटो पनि हुन्छ । चिकित्सा विज्ञानमा जतिसुकै प्रगति हासिल भए पनि सबैखाले र सबै प्रवृत्तिका बिरामिलाई बचाउन सम्भव भने हुँदैन । दुई बिरामी, समान रोग, एउटै अस्पतालका सँगसँगै रहेका दुई बेड, एउटै उपचर गर्ने डाक्टर र स्वास्थ्यकर्मीको टोली, एउटै औषधि र प्रविधि भयो भने पनि एक बिरामी निको हुने र अर्को बिरामी निको नै नहुने पनि हुन सक्छ । यसमा बिरामीको रोगपूर्वको अवस्था, उसको वंशाणुगत गुण, रोगसँग लड्न सक्ने क्षमता लगायत यावत कुराको भूमिका हुन्छ।
माथि उठाइएको उदाहरणको केस बिरामी बचाउन सकिने खालको हुन पनि सक्छ । उपचारमा गल्ती भएको पनि हुनसक्छ । एक महिनाको उपचारका क्रममा के-के उपचार गरियो, के-कस्ता जाँचहरु गरियो, रिपोर्टहरु के-के आए र सो अनुसार थप के-के उपचारको निर्णय गरियो, यी सबैको एक-एक मिनेटको लेखाजोखा अस्पतालमा हुने गर्छ । त्यसको अनुसन्धान गरेर गल्ती भएमा सहजै पत्ता लगाउन सकिने बाटो अवश्य हुन्छ । तर, त्यो विकल्पमा गएर समाधान खोज्नुको साटो अस्पतालमा भिड उर्लेर होहल्ला गर्ने, तोडफोड गर्ने, स्वास्थ्यकर्मीमाथि हातपात गर्ने र पैसाको बार्गेनिङ गर्ने परिपाटी बढेको छ । चिकित्सकहरुले यही कुराको विरोध गर्नुपरेको हो।
यो कुरा हामीले बुझ्नु जरुरी छ, विश्वव्यापी रुपमै एकदमै दक्ष चिकित्सकले उपचार गरे पनि कतिपय अवस्थामा उपचारको नतिजा के हुन्छ भन्न सकिँदैन । त्यसैले हरेक बिरामीको मृत्युमा चिकित्सकको लापरवाही कारक हुँदैनन्।
आ-आफ्नो ठाउँमा सबै पेशा र क्षेत्र संवेदनशील हुन्छन्, बढी र घटीको मात्र कुरा हो । मान्छेको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले चिकित्सा क्षेत्र बढी संवेदनशील छ भनिनु अस्वाभाविक होइन । तर, बुझ्नुपर्ने कुरा के हो भने, चिकित्सा क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी, डाक्टर, नर्स, पारामेडिक पनि मान्छे नै हुन् र उनीहरुबाट पनि मानवीय त्रुटि हुन सक्छ । हो, उनीहरुको सानो गल्तीले मान्छेको ज्यान जान सक्ने भएकाले त्यस्तो चुक अक्षम्य हुन जान्छ । तर पनि मानव नै भएका नाताले कहिलेकाहीँ भवितव्य हुन सक्छ।
त्यही भवितव्य नहोस् भनेर एउटा डाक्टरले डाक्टरको रुपमा बिरामी छुनुभन्दा पहिले कम्तीमा साढे पाँच वर्ष वस्तुगत र सैद्धान्तिक ज्ञान हासिल गर्नुपर्छ । एउटा सर्जनले कम्तीमा ८-१० वर्ष तालिम लिएको हुन्छ । सर्जरी सेवामा जोडिनासाथै उसले बिरामी छुन पाउँदैन । सयौं पटक हेरेर अनुभव लिएपछि ऊ ठूलो डाक्टरलाई सहयोग गर्न तयार हुन्छ । बिरामीको शरीर चिर्न त परै जाओस्, सानो भाग सिलाउन पनि उसले वर्षौं सिक्नुपर्छ । यसरी बन्ने डाक्टरको कामलाई एउटा घटनासँग जोडेर कम आँक्न पक्कै पनि न्याय हुँदैन।
त्यसो त हरेक चिकित्सक सक्षम हुन्छन् भन्ने हुँदैन । धर्मशास्त्रको कथामा द्रोणाचार्यले पाण्डव-कौरवहरु सबैलाई समान रुपमा धनुर्विद्या सिकाएका थिए । तर पनि तीमध्ये अर्जुन सबैभन्दा पोख्त निस्किए । विद्यालयमा शिक्षकले सबै विद्यार्थीलाई समान शिक्षा दिन्छन्, तर कोहि प्रथम हुन्छन कोही फेल हुन्छन् । कोही क्रमचारी मुख्य सचिवसम्म पुग्न सफल हुन्छन् त कोही उही पदमा रहेर ‘खरदारबा’ कहलिन्छन् । त्यसैगरी सबै डाक्टरको समान क्षमता र सीप हुँदैन । तर, विश्वव्यापी मान्यता के हो भने, डिग्री हासिल गरिसकेपछि चिकित्सकले न्यूनतम ज्ञान र सीप हासिल गरेको हुनुपर्छ । त्यति मात्रै नभई उसले जीवनकालमा एकपटक डिग्री हासिल गरेर पुग्दैन । सवारीसाधनको लाइसेन्स रुजु गरे जस्तै उसले हरेक वर्ष आफ्नो क्षमताको जाँच दिनुपर्ने प्रावधान राखिएको हुन्छ । यति हुदाहुँदै पनि हरेक चिकित्सक समान क्षमताका नहुने भएकाले बिरामीलाई आफ्नो रोजाइको डाक्टरलाई भेट्ने छुट हुन्छ ।
अब कुरा गरौं डाक्टरहरुको आन्दोलनको । चिकित्सा क्षेत्रमा विकृति नभएका होइनन् । सबै स्वास्थ्यकर्मी समान भावनाका छैनन् र गलत मनसाय भएका चिकित्साकर्मी पनि होलान् । एउटा चिकित्सकमा हुनुपर्ने न्यूनतम ज्ञान र सीप नभएका एकाध चिकित्सक पनि होलान् । बिरामीको अनावश्यक पैसा लुट्ने र नचाहिँदो तवरले जाँचहरु गराउने र कमिसन खाने चिकित्सकहरु पनि छन् । स्वास्थ्यमा व्यवसाय गर्ने हेतुले खोलिएका थुप्रै अस्पताल, नर्सिङ होम र क्लिनिक पनि छन् ।
उपचारको क्रममा कसैको मृत्यु हुने वा अंगभंग हुने कुरालाई कसैले कसैलाई पेस्तोलले हानेर मारे जस्तो ठोकुवा गरेर भन्न मिल्ने विषय होइन । त्यसको सही छानबिन हुनुपर्छ । राज्यले छानबिनको व्यवस्था गर्नुपर्छ ।
यस्ता विकृति स्वस्थ्य क्षेत्रमा मात्रै भएका भने होइनन् । एकाध नक्कली डाक्टर पनि होलान् । तर छानबिन गर्ने हो भने प्रहरी अफिसरमा पनि नक्कली भेटिनेछ, न्यायाधीशमा पनि नक्कली भेटिएला, शिक्षक पनि नक्कली पाइनेछ, राजनीतिकर्मीको त यहाँ कुनै योग्यता नै हुनुपर्दैन । अर्थात् देशमा सबै क्षेत्रमा व्यापक विकृति छन् । स्वास्थ्य क्षेत्र झन् कत्ति पनि अछुतो छैन । यसको छानबिन हुनुपर्छ र दोषीलाई कारबाही गरिनुपर्छ । डाक्टरहरुले भनेको यही हो ।
कुनै पनि कुरामा निरीक्षण र जाँच गरेर गल्ती र बदमासी गरेको थाहा पाउन सकिन्छ । डाक्टरले बिरामीलाई बेहोश पारेर अपरेसन गर्दा के सही र के गलत गर्यो भनेर थाहा पाउने तरिका के हो ? एउटा डाक्टरले जीवन समर्पण गर्दा पनि पूर्णता पाउन नसकेको चिकित्सा विद्याबारे एउटा उत्तेजित भिडले सही र गलत कसरी किटान गर्न सक्छ ? सम्बन्धित क्षेत्रका विज्ञहरुद्वारा छानबिन नगरी सही र गलत कसरी छुट्याउन सकिन्छ ? तपाईं भन्नुहोला, ठमठमी हिँडेर अस्पताल गएको बिरामी मर्यो, उपचारमा लापरवाहीले मर्यो । यो कुरा गलत हो । चिकित्सामा यस्तो भवितव्य हुन सक्छ । पित्तको अपरेसन गर्न बिरामी ठमठम हिँडेर नै जाने हो । हजारौं अपरेसनमा २/४ जना संसारभर नै मर्छन् । मुटुको अपरेसन गर्दा २ प्रतिशत बिरामी संसारभर मर्छन् । उपचार भनेको शतप्रतिशत ग्यारेन्टी कहीँ पनि हुँदैन । अधिकांश उपचारमा प्रयोगद्वारा सिद्ध भएको पद्दति अपनाउने हो । त्यसले केही बिरामीमा अपेक्षित नतिजा नल्याउन पनि सक्छ । समान डोजको औषधि कसैलाइ बीस साबित पनि हुन सक्छ । यि सबै चिकित्सा विज्ञानका भवितव्य हुन्।
डाक्टरले सकेसम्म आफ्नो सीप र ज्ञान खन्याएर नै उपचार गर्ने हो । तर, उपचारका क्रममा बिरामीलाई तलमाथि केही भएमा डाक्टरले कसरी बिरामीको जीवन फर्काउन सक्छ ? यिनै प्रश्नको सेरोफेरोको उत्तर खोज्न चिकित्सकहरु आन्दोलित भएका हुन् । चिकित्सकहरुले मान्छे मार्न पाउनुपर्छ भनेका होइनन् । चिकित्सा कर्म सम्मानजनक र व्यवस्थित होस् भन्ने चाहेका हुन्।
शिक्षकलाई कक्षाकोठामा नै हमला हुने, वकिलले कुनै मुद्दा लड्न खोज्दा आक्रमण गरिने, पत्रकारलाई मिडिया हाउसमै हमला हुने अवस्था आयो भने उनीहरुले कसरी निस्फिक्री काम गर्न सक्छन् ? डाक्टरहरुको कार्यस्थल अस्पताल हो । भनिन्छ- बन्द हडताल नगर्नू, तर गरिन्छ हुलदंगा र तोडफोड!
उपचारको क्रममा कसैको मृत्यु हुने वा अंगभंग हुने कुरालाई कसैले कसैलाई पेस्तोलले हानेर मारे जस्तो ठोकुवा गरेर भन्न मिल्ने विषय होइन । त्यसको सही छानबिन हुनुपर्छ । राज्यले छानबिनको व्यवस्था गर्नुपर्छ । डाक्टरको ज्ञान र सीपको कमी भएमा, उसले विश्वब्यापी मान्यता विपरीत आफ्नै मनगढन्ते सिद्धान्तका आधारमा वा नियतवश बिरामीलाई हानि पुर्याउने कार्य गरेमा र सो पुष्टि भएमा उसलाई हदैसम्मको कारबाही हुनुपर्छ भन्नेमा कोही पनि चिकित्सकमा द्विविधा छैन । त्यसको ग्यारेन्टी गर्ने जिम्मा राज्यको हो र उपचाररत ठाउँमा डाक्टरलाई सुरक्षा दिने जिम्मा पनि राज्यको हो।
डाक्टरमाथि आक्रमण भएमा ‘जेल विथवाउट बेल’ को प्रावधान हुनुपर्छ । यससँगै उचित छानबिन गरेर बिरामीलाई क्षतिपूर्तिको व्यवस्था पनि हुनुपर्छ । किनकि डाक्टर र बिरामी दुई किनार हैनन्, नङ र मासु हुन् । सरकारले चिकित्सकहरुका माग यथाशीघ्र पूरा गर्नुपर्छ ।
सायद दशैंमा घर जान त्यति हतारो कसैलाई नहोला, जति हतारो ससम्मान काममा फर्किन डाक्टरहरुलाई छ।
अन्तमा, देशभर इमर्जेन्सीमा काम गर्नुहुने सबै डाक्टरलाई सलाम !
(अर्याल महाराजगञ्ज चिकित्सा क्याम्पसमा एमबिबिएस अन्तिम वर्ष अध्ययनरत छन्।) स्वास्थ खबर बाट



