काठमाडौं, १ मंसिर । सत्तारुढ तथा विपक्षी दलका नेताहरुले राजतन्त्र फर्कने सम्भावना नरहेको दाबी गरिरहेका भए पनि स्वयम् पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्रमा भने कुनै न कुनै रुपको राजतन्त्र फर्कने विश्वास जीवित रहेको पाइएको छ ।
चक्रपथतिर जुलुस निस्किएका कारणले मात्र राजाको नारायणहिटीबाट बहिर्गमन भएको मान्न राजाका समर्थकहरु मात्र होइन, राजनीतिक विश्लेषकहरुसमेत तयार छैनन् । पूर्व श्री ५ ज्ञानेन्द्र पनि गणतन्त्र घोषणामा नेपालीभन्दा बाह्य शक्तिको भूमिका निर्णायक भएको ठान्छन् । त्यसैले नारायणहिटी छोडिसकेपछि पनि उनीबाट भारतमा राजनीतिप्रेरित भ्रमण पटक पटक भइसकेको छ र भारतबाट फर्कंदा उनी सधैं आशावादी बनेर फर्कने गरेका छन् ।
खासगरी गत वर्षको कात्तिकमा भएको भ्रमण र केही महिनाअघि नयाँ दिल्लीको चौबिसघन्टे भ्रमणबाट निकै उत्साही भएका पूर्वराजा पछिल्लो समयमा भने आफूलाई अल्मल्याउने खल मात्र भइरहेको हो कि भनी सशंकित हुन थालेको बताइन्छ । उनले अब वार कि पार हुनुपर्छ भन्ने मानसिकता बनाएका छन् र यसक्रममा निर्णायक वार्तालापका लागि उनी गत साता सिंगापुर गएका थिए ।
सिंगापुरमा महत्वपूर्ण राजनीतिक छलफल भएको र भारतसँग संवाद सकारात्मक नभए एउटा छुट्टै प्रस्ताव लिएर पूर्व श्री ५ ज्ञानेन्द्र चीनको राजधानी बेइजिङ जाने कार्यक्रम पहिले नै तय भएको थियो । भारतीय विशेष दूतहरुसँगको छलफलपछि उनी सिंगापुरबाट सोझै बेइजिङ जाने भएका हुन् । घटना र विचार साप्ताहिकमा खबर छ ।



