असोज १७ – सन् २०१९ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन दर्ता मंगलवारदेखि खुल्ने भएको छ। अक्टोबर ३, २०१७ (२०७४ असोज १७) मा नेपालमा स्थानीय समयअनुसार रातको ९ बजेर ४५ मिनेटबाट शुरु हुने नेपालस्थित अमेरिकी दुतावासले जानकारी दिएको छ।
दूताबासले भनेको छ, ‘मंगलबारदेखि सन् २०१९ को लागि डिभी आवेदन खुल्ला गरिदैंछ।’ अघिल्लो वर्ष डिभी भर्दा उपयोग गरेको फोटो यस पटक प्रयोग नगर्न भनिएको छ।‘अघिल्लो वर्ष डिभी भर्दा प्रयोग गरेको फोटो प्रयोग गरेमा सो आवेदन रद्द हुनेछ’, दूतावासको विज्ञप्तिमा भनिएको छ।
डिभीको लागि आवेदन दिँदा कुनै पनि शुल्क तिर्न नपर्ने दुतावासले जानकारी गराएको छ। त्यस्तै आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिन दूतावासले सल्लाह दिएको छ। डिभी भर्ने मिति एक महिना हुनेछ। कातिक २१ डिभी भर्ने अन्तिम मिति हुनेछ।
कसरी भर्ने ? सन् २०१९ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदन विद्युतीय रूपमा दर्ता अवधिभित्र पेश गर्नुपर्नेछ। आवेदकहरूले दर्ता अवधिको बेलामा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडिभी) आवेदन फारम भर्न सक्नेछन्। दर्ता गर्दा आफ्ना पति र पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण राख्नुपर्छ। लाई सूचीकृत गर्नु अनिवार्य छ। उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिने छ।
आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना अनिवार्य राख्नु पर्नेछ। तर छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको इमेलमार्फत् सूचित गरिने छैन। तपाईँ डिभीका लागि छनोटमा पर्नुभयो कि भएन २०१५ मे ५ वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश गर्नु हुनेछ।
कन्फरमेसन नम्बर कसैलाई नदिई सुरक्षित राख्न दूतावासले आग्रह गरेको छ। २०१९ को डिभी नतिजा आगामी वैशाख १८ गते आउने दूतावासले जनाएको छ।










