काठमाडौं । नेकपा एमाले, सत्तारुढ नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच भएको तालमेल र एकता प्रक्रियापछि कांग्रेस नेताहरुले माओवादी केन्द्रका नेताहरुलाई सरकारबाट हटाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन् ।
बिहीबारसम्म जारी कार्यसम्पादन समितिको बैठकमा धारणा राख्ने सदस्यहरुलाई माओवादी मन्त्रीहरु अब सरकारमा बस्न नमिल्ने धारणा राखेका हुन् ।
यसैबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा निर्णय लिन नेपाली कांग्रेसले आज केन्द्रीय समितिको बैठक बोलाएको छ ।
अहिले केहीबेरपछि प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कार्यसम्पादन समितिको बैठकमा लोकतान्त्रिक गठबन्धनसँग अझै पनि बहुमत रहेको बताउँदै अहिले माओवादी मन्त्रीहरुलाई हटाएर राप्रपा र संघीय समाजवादी फोरमका नेताहरुलाई सरकारमा लैजानुपर्ने धारणा व्यक्त गरेको कांग्रेस स्रोतले जानकारी दियो ।
आज बस्ने केन्द्रीय समितिको बैठकपछि प्रधानमन्त्रीले सरकार पुनर्गठन गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय लिने तयारी गरेका छन् ।
तर प्रधानमन्त्री निकटहरुले अहिले माओवादी मन्त्रीलाई नहटाइने बताउँदै आएका छन् ।
“माओवादी प्रमुख सत्तारुढ दल भए पनि विपक्षसँग गठबन्धन गर्ने निर्णय गरिसकेको छ,” कांग्रेसका एक नेताले भने, “यस्तो अवस्थामा अब सरकारमा पनि सँगै रहन हुँदैन ।”
उनले माओवादी आफैं नै सरकारबाट बाहिरिँदा राम्रो हुने सुझाव पनि दिए । “प्रधानमन्त्रीले अहिले नै हटाउँदा गलत सन्देश र परिणाम निम्तिन पनि सक्छ,” उनले भने, “माओवादी आफैँ नै बाहिरिनुपर्छ । अब सँगै रहनहुँदैन । उहाँहरुले बहुमत पुर्याए सरकार बनाउँदा पनि हुन्छ ।”
तर कांग्रेसका अर्का नेता प्रकाशशरण महतले वर्तमान सरकारले नै चुनाव गराउने बताए । उनले अहिले सरकार पुनर्गठन हल्ला मात्रै भएको बताए ।
“हुन त प्रचण्डले पनि यही सरकारले चुनाव गराउँछ भनेर भन्नुभएको छ,” कांग्रेस केन्द्रिय सदस्य डा. महतले भने, “तर अहिले उहाँहरुसँग बहुमत नपुग्ने भएकाले यसो भनिएको हुन सक्छ ।”
यता नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले पनि माओवादी केन्द्रका नेताहरु सरबाट बाहिरिने विषयमा कुनै कुराकानी नभएको बताइन् ।
उनले आगामी निर्वाचनमा एमालेसँग तालमे गरेको भए पनि सरकारमा रहने जानकारी गराइन् ।
‘‘सरकार पुर्नगठनबारे हामीसँग कुनै कुरा भएको छैन् । यो बारेमा नेपाली कांग्रेससँग सोध्नुपर्छ,’’ उनले भनिन् ।
प्रवक्ता भुषालले माओवादी केन्द्रले एमालेसँग गठबन्धन गरे पनि सरकारलाई दिएको समर्थन आशन्न चुनावसम्म यथावत रहने बताइन् । ‘‘गठबन्धन यता (एमालेसँग) बनाए पनि आगामी चुनावसम्म सरकार यथावत राख्ने सोच हो ।’’
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले सरकार पुनर्गठन बारेको हल्ला निराधार भएको बताए । ‘‘सरकार गठन–पुनर्गठनको हल्ला पूरै झुटा हो,” उनले भने, “सरकार पुर्नगठन सम्बन्धमा सरकारको कुनै कार्यक्रम छैन् ।’’ देउवा नेतृत्वको वर्तमान सरकारले नै आशन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन गराउने प्रेस संयोजक परियारले दोहोर्याए ।
उच्च स्रोतकाअनुसार माओवादीले समर्थन फिर्ता लिए प्रधानमन्त्रीले उपेन्द्र यादव र कमल थापालाई सरकारमा लैजाने तयारी गरेका छन् । त्यो अवस्थामा सरकारसँग बहुमत कामय रहने पनि स्रोतको दावी छ । माओवादी फिर्ता भए रिक्त हुने गृह, परराष्ट्र लगायतका मन्त्रालयमा उनीहरुलाई लैजाने तयारी प्रधानमन्त्रीले गरेका हुन् ।
तर राजपा भने अहिले सरकारमा जान तयार नभएको स्रोतले बतायो ।
यस्तो छ संसदको हिसाब
व्यवस्थापिका–संसद्मा हाल ५९१ जना सांसद छन् । एमाले १८०, माओवादी केन्द्रका ८१ र नयाँ शक्तिका १ सांसद छन् । तीन दलका गरी जम्मा २६२ जना सांसद रहेका छन् । सरकार बनाउनका लागि ५९१ को बहुमत सांसद आवश्यक पर्छ ।
सरकार बनाउनका लागि गठबन्धनलाई कम्तिमा पनि २९६ सांसदको आवश्यकता पर्छ । जसका लागि अझै ३४ जना सांसद अपुग हुन्छन् ।
एमाले नेतृत्वको गठबन्धनलाई नेकपा मालेका ४, राष्ट्रिय जनमोर्चाका ३ र नेमकिपाका ४ सांसद्ले साथ दिएमा अझै २३ सांसद अपुग हुने देखिन्छ । त्यसका लागि विजय गच्छदार, कमल थापा र पशुपतिशमशेर राणामध्ये कसैले साथ दिनुपर्ने हुन्छ । तिमध्ये दुई दल अहिले नै सरकारमा छन् कमल थापाले साथ दिए साना दलका बाँकी ४ सांसद अझै आवश्यक पर्ने देखिन्छ । त्यसैले पनि अहिलेको अवस्थामा सरकार बनाउन त्यति सहज भने देखिँदैन ।
राप्रपासहित अहिलेको सरकारमा सहभागीमध्ये गच्छदार र राणाले वाम गठबन्धनलाई सहयोग गरे भने नयाँ सरकार बन्न सक्छ ।
संसद्मा हाल कायम रहेका राजनीतिक दल र संख्या
कांग्रेस २०७
एमाले १८०
माओवादी ८१
राजपा २५
राप्रपा १९
नेपाल लोकतान्त्रिक फोरम १८
राप्रपा प्रजातान्त्रिक १८
संघीय समाजवादी फोरम १५
माले ५
नेमकिपा ४
राजमो ३
नेकपा संयुक्त ३
परिवार दल २
बहुजन शक्ति पार्टी १
संघीय लोकतान्त्रिक थरुहट १
समाजवादी जनता पार्टी १
नेपाली जनता दल १
वौद्धिक जनतान्त्रिक परिषद नेपाल १
खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल १
अखण्ड नेपाल पार्टी १
जनजागरण पार्टी १
मधेस समता पार्टी नेपाल १
नयाँ शक्ति पार्टी नेपाल १
स्वतन्त्र १
बार्हखरी बाट



