एमाले र माओबादीबीच निर्वाचनमा तालमेल र त्यसपछि एकिकरण गर्ने सहमति भएपछि अब झापाबाट माओबादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनमा एक सिट पाउने बताईएको छ । कार्यदल श्रोतका अनुसार सोमबार भएका बिभिन्न छलफलमा यो सहमति नजिक पुगेको हो ।
झापाको कुन क्षेत्र पाउने भन्नेमा भने निश्चित भइनसकेको बताइन्छ । प्रदेशसभामा भने माओबादी केन्द्रले २ देखि ३ वटासम्म पाउने श्रोतको भनाइ रहेको छ । झापामा ५ वटा निर्वाचन क्षेत्र रहेकाछन् । प्रतिनिधिसभामा ५ र प्रदेशसभामा १० वटा क्षेत्र बाँडफाँड हुनेछ ।
क्षेत्र नं. ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली उठ्ने भएकाले यो क्षेत्र उसले पाउने छैन । ४ नम्बर क्षेत्रमा एलपी साँवा अघिल्लो निर्वाचनमा झिनो मतान्तरले पराजित भएका थिए । उनले पनि यो क्षेत्र छाड्ने छैनन् । सम्भवत २ नम्बर क्षेत्र माओबादीले पाउनेछ ।
जिल्लाका माओबादी केन्द्रका नेताहरुले जिल्लामा पनि ६० ४० हुनु पर्ने भन्दै सामाजिक सञ्जालमा बताइरहेका थिए । तर कार्यदलले सहमति नजिक प्रतिनिधिसभामा १ र प्रदेशसभामा २ देखि ३ क्षेत्रमा सहमति जनाउन लागेको सार्वजनिक भएको हो ।
एमाले र माओबादी केन्द्रले सबै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारहरुको नाम माथिल्लो निकायमा भने सिफारीस गरिसकेको छ । यसले गर्दा स्थानीय रुपमा बिद्रोह हुन सक्ने बताइन्छ ।



