काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कडा आलोचना गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको सरकार विस्तारप्रति ओलीको कडा टिप्पणी थियो ।
“आज मध्यरातबाट संसद अन्त्य हुँदैछ । हामी अब निर्वाचनमा जाँदैछौं । त्यसका निम्ति मिति तोकिसकिएको छ । मंसिर १० र २१ गते निर्वाचन हुँदैछ । यस्तो बेला सरकारको एक मात्र काम भनेको निष्पक्ष निर्वाचन गराउनुमात्रै हो,” ओलीले भने ।
‘अन्तिम दिन केही भन्दिनँ’ भन्दै सरकारका विरुद्ध आलोचना सुरु गरेका ओलीले व्यङ्ग्य गर्दै भने, “मन्त्री धेरै भयो भन्दा प्रधानमन्त्री तात्नुहोला ७० भन्दा ६ कम मात्रै हो भन्दा होला । पहिला पहिला गाउँघरतिर भनिन्थ्यो ३ विस ४ । त्यस्तै होला ।”
“तपाईँलाई थप मन्त्री किन चाहियो ? कुस्ती खेल्न त होइन होला ? किन चाहियो ? नेपाली जनताले कर तिरेको पैसासँग खेलवाड किन हुँदैछ ? संसदीय अभ्यासमा यस्तोलाई युरोपतिर ‘लाज भयो’ भन्छन् ।”
ओलीले कांग्रेसभित्र प्रधानमन्त्रीलाई प्रतिशतसम्म बुझाउने मान्छेको कमी नभएको पनि टिप्पणी गरे ।
“युएनमा जाँदा उहाँले भन्नुभयो सानो देश हो । १० प्रतिशतसम्म पाइन्छ भनेर भन्नुयो तर अहिले कति मन्त्री बनाउनुभयो ? नेपाली कांग्रेसभित्र प्रतिशत बुझाइदिने कोही छैन । प्रतिशत कति हुन्छ भन्ने त थाहा होला नि ?”
उनले सरकारले किन कानुन नमान्ने ? भन्दै प्रश्न गरेका थिए ।
“मन्त्री हुनेलाई पनि सायद अबको चुनाव जितिन्छ कि जितिँदैन भन्ने होला, अर्कोपल्ट समानुपातिकमा परिन्छ कि परिँदैन भनेर होला,” ओलीले भने, “मन्त्री हुँदा त बधाई दिन पाइयोस् न ! तर गैरसंवैधानिक कामको कसरी बधाई दिनु ? यसमा एमालेको गम्भीर विरोध र आपत्ति छ । सरकार कानुनभित्र बस्नुपर्छ । यो आचारसंहिताको उल्लंघन हो । निर्वाचन आयोगको पत्रअनुसार नै म बोलिरहेको छु ।”
“लोकतन्त्र भनेको कानुन नमान्नु हो ?,” प्रधानमन्त्रीप्रति प्रश्न गर्दै भने, “लोकतन्त्र भनेको के रहेछ ? मन्त्री बनाउने भन्ने कुरा पहिलोपटक सुन्दा त मैले पत्याइनँ । आचारसंहिता पालना गर्छु भनेको केही मिनेटमा दौडिएर गएर अर्कै चिज गर्नुभयो । मैले सुनेपछि, उहाँको बडि ल्याङ्ग्वेज हेरेँ । त्यसपछि मैले मन्त्री थप गर्दै हुनुहुन्छ कि क्याहो ? भनेर सोध्दा पनि उहाँले जवाफ दिनुभएन । नाम गएको कुरा सार्वजनिक भयो । मैले सम्माननीय राष्ट्रपतिलाई पनि भनेँ । यो असंवैधानिक काम हो । आचारसंहिता सरकारले पनि पालना गर्नुपर्छ । प्रधानमन्त्रीज्यु, लिष्ट गैहालेछ । ध्यान पुगेन होला । कहिलेकाँही चिप्लिएको होला । त्यो ८ वटा नाम फिर्ता लिनुस् ।”
ओलीले प्रधानमन्त्रीको निशाना अर्कैतिर भएको पनि टिप्पणी गरे ।
“यतिबेला तपाइँलाई ५६ जना मन्त्रीले पुगेन ? मन्त्रीकै जुलुस गर्ने हो देशभरी ? किन थप गर्नुपर्यो ?,” ओलीले भने, “सरकार अल्पमतमा पर्ने भयो भन्ने सुनिन्छ । मध्यरातपछि तपाइँकाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन्छ कि क्या हो ? यो त काम चलाउ सरकार हो ।”
“जे निशाना हो तपाईँ त्यतातिर हेरिरहनुभएको छैन,” उनले भने, “संसद् अन्त्य भएपछि के के गर्दै हुनुहुन्छ भन्ने अनुमान लगाउन सकिन्छ । माओवादीका मन्त्रीलाई विना विभागीय बनाउने आफूले नियुक्त गरेकालाई जिम्मेवारी दिने काम गर्दै हुनुहुन्छ ।”
एमालेका विरुद्ध बेला बेला विभिन्न हल्ला चलाइन्छ । तथ्यहरुले गलत सिद्ध गर्दै गएको उनको भनाई थियो । उनले आफूहरु मिल्दा भुइचालो आउनुपर्ने कुनै कारण नभएको टिप्पणी गरे ।



