विभिन्न कालखण्डमा देखिने गरेको चियाको कपको आँधी यसपटक पुनः नेपालको राजनीतिमा देखिएको छ । र, यो क्रम निरन्तर चलिरहने कुरामा कुनै सन्देह छैन । हिन्दी सिरियलमा जस्तो ओहो केकेन भयो जस्तो, तर केही शृंखलाहरूपछि हेर्दा पनि कुनै तात्विक परिवर्तन नभएको अवस्था नेपाल र हामी नेपालीको छ । केपी ओलीको सपनाको खेती र राष्ट्रियताको बहसलाई नेपाली जनताले साथ दिएकै हुन् । जुन कुरा पहिलो चरणको स्थानीय निर्वाचनको परिणामले देखाएको थियो ।

कांग्रेस, माओवादीलगायतका दलहरूलाई उनीहरूको गठबन्धनका बाबजुद राम्रैसित पछि पारेर एमाले प्रथम पार्टीमा दरिन सफल भएको थियो । यसले के देखायो भने गठबन्धनको जोडघटाउले चुनावी परिणाममा तात्विक अन्तर ल्याउन सकेन । जनता चम्किला एजेन्डा र बहसको पछि लाग्दा रहेछन् । यही कुरा माओवादी पार्टी मूलधारमा आएपछि बाँडेका जनसत्ताका स्वप्निल आश्वासनहरू व्यावहारिक धरातलमा चकनाकुर भइदिँदा नराम्रोसित खस्केको उसको अवस्थाले पनि देखाएको थियो ।

तिलस्मी बनाइएका व्यक्तित्वहरूलाई जनताले ‘बेनेफिट अफ डाउट’ दिएकै हुन् जुन व्यवहारमा प्रमाणित नहुँदा क्षयीकरण हुन पुगेका छन् । तथापि, जबसम्म एजेन्डा र बहस व्यावहारिक धरातलमा परीक्षित भएर खरो उत्रिँदैनन् तबसम्म तिनीहरूप्रतिको जनविश्वासको दिगोपन सुनिश्चित हुँदैन । यसैको भय एमाले नेताहरूमा हुनुपर्छ किनकि प्रदेश नम्बर २ को निर्वाचन परिणाम एमालेका लागि त्यति उत्साहप्रद देखिएन ।

सामाजिक सुरक्षामा पाएको जस र त्यसको प्रचार, राज्य सञ्चालनमा प्रमाणित नभएको मदन भण्डारीको व्यक्तित्वको देवत्वकरण एवं कांग्रेसभित्रको सांगठनिक अस्तव्यस्तताको उर्वर भूमिमा मौलाएको भ्रष्ट प्रवृत्तिको उपज एमालेले आफूलाई मजबुत बनाउँदै लागेको हो । अर्कातर्फ कम्युनिस्टको नाम लिन मन पराउने, तर निरन्तरको नीतिगत र व्यावहारिक रूपान्तरणबाट पुँजीवादकै कित्तामा उभिइसकेको पार्टी हो एमाले । एमाले, एमाओवादीलगायतका दलहरूबीचको हालको गठबन्धन दक्षिणपन्थी बनिसकेको, तर वामपन्थीकै खोल ओढेका अनि विश्वव्यापीकरण र पुँजीवादको वर्तमान युगमा रूपान्तरणको नाममा आफ्नो वास्तविक सैद्धान्तिक धरातलबाट विचलित पार्टीहरूको गठजोड हो ।

सन्ताेष गाैतम

एमाओवादीको टुटफुटको शृंखला, खुला राजनीतिमा सत्ता सञ्चालनमा देखिएको असफलता, वैकल्पिक शक्तिका रूपमा जनताले गरेको विश्वासमा खरो उत्रिन नसक्दा भएको जनाधारको क्षय इत्यादिको कारण गुमेको आत्मविश्वासले गर्दा निर्वाचनमा कहिले कोसँग त कहिले कोसँग गठबन्धन गर्नुपर्ने अवस्था आएको हो । भन्ने गरिन्छ, राजनीतिमा कोही पनि स्थायी मित्र वा शत्रु हुँदैनन् तथापि प्रचण्डका यु–टर्नहरू हेर्दा भर्खरैको मित्र कुनै कारणविना नै रणनीतिक शत्रु बनेको दृष्टान्त हामी सबैका सामु छर्लंग छ ।

विनानिर्वाचन स्थापित पार्टीसरह हैसियतमा माओवादीलाई संसद् प्रवेश गराउने गिरिजाप्रसाद कोइरालासँगबाट सुरु भएको प्रचण्डको यु–टर्न वर्तमान गठबन्धन बनाउने चरणसम्म जारी नै छ । यस्तो अस्थिर प्रवृत्तिको जगमा हुन लागेको भनिएको गठबन्धनदेखि पार्टी एकतासम्मको यात्रा भविष्यको कुनचाहिँ यु–टर्नले तहसनहस हुने हो भन्ने आशंका आमनेपालीको मनमा रहेको छ ।

समय परिवेश बदलिँदा पनि मान्छेको प्रवृत्ति र चरित्र सजिलै बदलिँदो रहेनछ । बाध्यता र स्वार्थको मिलनका फलस्वरूप हुन लागेको सहयात्रा स्वार्थपूर्ति नहुने अवस्थामा अन्य विकल्प बढी आकर्षक देखिएमा वा आफ्नो स्वार्थ पूर्ति भइसकेपछि टुट्न सक्ने कुरामा कुनै दुईमत छैन । आसन्न निर्वाचनपछि पनि यो गठबन्धन कायम रहनेछ र पार्टी एकतासम्म पुग्छ भन्ने कुरामा आमनेपाली विश्वस्त हुन गाह्रो छ । किनकि, हरेक गठबन्धन बन्दै गर्दा, एकताको कुरा हुँदै गर्दा ठूला विश्वासका र लामो सहयात्राका रटानदेखि देश र जनताको अवस्थामा कायापलट गर्नेसम्मका सपनाका उधारा कारोबारहरू हुने गर्दछन् । त्यसैको निरन्तरता यो गठबन्धन हुनेछैन भन्नेमा जनता आश्वस्त हुन सकेका छैनन् ।

लामो राजनीतिक इतिहास, उदार नीति र सनातनी मतको बलमा देशको महत्वपूर्ण र निर्णायक शक्तिका रूपमा हमेसा उभ्याएको कांग्रेसले जर्जर संगठन, व्यक्तिकेन्द्रित राजनीति र भ्रष्ट प्रवृत्ति हाबी भएका कारण आफ्नो संघर्षशील र गौरवमय इतिहासका बाबजुद संकट र दुर्बलताबाट विरलै छुटकारा पाउने गरेको छ । खाने, खुवाउने र शक्ति आर्जनका लागि विधि र व्यवस्थाको धज्जी उडाउँदै राज्यका कुनै पनि अंगलाई कुनै पनि स्तरको आक्रमण गर्न पछि नपर्ने कांग्रेसी प्रवृत्ति नेपाली जनताबाट कसरी छिपोस् ? जनताको कठघरामा कांग्रेससँग देशको जर्जर अवस्थाको हिसाब निरन्तर मागिनेछ । भ्रष्टाचारले कलंकित केही प्रभावशाली नेताहरूको पार्टीभित्रको प्रभाव देख्दा यो पार्टीले भ्रष्टाचारको दलदलबाट बाहिर आउन ठूलै संघर्ष गर्नुपर्ने अवस्था जगजाहेर छ ।

वाम गठबन्धन सफल हुने त्रासले तड्पिएर लोकतान्त्रिक गठबन्धन निर्माण गर्छौं भनेर लाग्नु केवल हताश मनस्थितिको संकेत हो । आफ्नो संगठनलाई सबल बनाउँदै जनताको मन जित्ने अल्पकालीन तथा दीर्घकालीन योजनाबद्ध कार्यक्रम लिएर साँच्चै उच्च मनोबलका साथ जनतामा जानुपर्ने वेला आफ्नो अताल्लिएको मनस्थितिको आभास सबैलाई हुनेगरी एकपछि अर्को पार्टीको वैशाखी खोज्नु न त शोभनीय देखियो न त यसले निर्वाचन परिणाममा त्यत्रो तात्विक प्रभाव पर्ने नै छ ।

हुन त देशमा केही मात्र सबल पार्टीहरू हुँदा राजनीतिक स्थिरता कायम हुने, पूर्ण अवधि काम गर्न पाउँदा आफ्ना योजनाहरू कार्यान्वयन गर्न सहज हुने विश्वास गरिन्छ । तर, स्वार्थको जगमा धेरै समूह मिलेर बनेका गठबन्धनहरूको आन्तरिक स्थिरता नाजुक हुने हुँदा सीमित संख्यामा नै रहे पनि त्यस्ता दलहरूले देशमा अस्थिरता सिर्जना गर्ने सम्भावना रहिरहन्छ ।

अर्कातर्फ नेपाललाई आफ्ना स्वार्थहरूको क्रीडास्थल बनाइरहने विदेशी डिजाइनमा दलहरूलाई जोडाउने र फुटाउने अनि यहाँको ‘माइक्रो म्यानेजमेन्ट’मा हात हालिरहने विदेशी स्वार्थ पनि हामीमाथि हाबी भइरहन सक्छ । जे होस्, दलहरूबीच एकता हुनु पक्कै सकारात्मक कुरा हो । एकताको सूत्रमा बाँधिन थालेका दलहरूले देशमा स्थिरता कायम गर्दै विकासको गतिलाई उच्च बनाउन सकून् । शुभकामना ।

ई-नया पत्रीका बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय