नेपाली सेनाको आगामी प्रधानसेनापति पूर्णचन्द्र थापा हुने निश्चित भएको छ । जंगी अड्डाको दोस्रो वरीयतामा रहेका बलाधिकृत रथी (लेफटनेन्ट जनरल) बलदेवराज महतको अवकाशसँगै बलाध्यक्ष रथी थापा नेतृत्व ‘ट्रयाक’का एकल धावक बनेका हुन् । महतले १६ कात्तिकदेखि ५८ वर्ष उमेर हदले अनिवार्य अवकाश पाएपछि तेस्रो मर्यादामा रहेका थापा दोस्रो मर्यादामा उक्लेका हुन् ।
सामान्य अवस्था र उमेर रहँदासम्म यो पदावधि थप्ने प्रचलनअनुरूप नै थापाको म्याद थप भएको थियो । महत र थापा दुवैको दोस्रोपटक म्याद थप भएको भए पनि महत उमेर हदले सेवानिवृत्त भएपछि थापा प्रधानसेनापति दौडमा एकल देखिएका हुन् । जंगी अड्डाको मर्यादाक्रममा प्रधानसेनापति क्षत्रीको अवकाशपछि प्रधानसेनापति हुने लाइनमा थापा छन् भने थापाको स्थानमा युद्ध कार्य महानिर्देशक प्रमुख उपरथी हेमन्त कुँवरको नाम सिफारिस छ । कुँवरको ठाउँमा सहायक रथी झंकरबहादुर कडायत बढुवा हुनेछन् । यसबारे मन्त्रिपरिषद्ले निर्णय लिनेछ । ‘खाली भएको पदमा स्वत: प्रमोसन प्रक्रिया अघि बढेको छ । केही दिनमा सरकारले निर्णय लिनेछ,’ सैनिक प्रवक्ता नयनराज दाहालले भने ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकाल आगामी वर्षको २४ भदौसम्म छ । थापाको म्याद थप भएको अवधि २०७५ असोज १५ सम्म रहेकाले पनि थापा निर्विकल्प भावी प्रधानसेनापति देखिएका हुन् । पुष्पकमल दाहाल नेतृत्व सरकारकै पालामा रथी थापाको प्रधानसेनापति बन्ने बाटो स्पष्ट भएको थियो । उनको पदावधि ०७४ असोजमा सकिने थियो । तर, उमेर बाँकी रहेकाले दाहाल नेतृत्व सरकारले एकवर्षे पदावधि थप गरेर नै उनलाई भावी प्रधानसेनापतिका लागि अघि बढाएको थियो । उनीसँगै बलाधिकृत महतको पनि पदावधि थपिए पनि ५८ वर्ष उमेरका कारण उनी सेवानिवृत्त भएका हुन् । उमेर नपुगेका रथीको पदावधि थप गर्न सकिने व्यवस्था सैनिक ऐनमा रहेकाले नै यसरी म्याद थप हुने गर्छ । कान्तिपुरमा खबर रहेको छ।



