बिष्णुप्रसाद पोखरेल /दमक
झापाको दमकमा बेवारीसे बनेको इलम प्रशिक्षण केन्द्र सञ्चालन र ब्यवसायिक हित कोष बनाउने उदेश्यले दमक उद्योग बाणिज्य संघले दमक महोत्सव लगाउने भएको छ । ३ पटकसम्म लागेको महोत्सव केहि बर्षयता रोकिएको थियो ।
दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालका अनुसार आउदो पुष २७ गतेदेखि माघ ७ गतेसम्म दमक महोत्सव लगाउने तयारी शुरु भएको छ ।
नेपाल सरकार, नेपाल उद्योग बाणिज्य संघ र दमक उद्योग बाणिज्य ंसंघले संयुक्त रुपमा सञ्चालन गर्ने भनिएको यहाँको इलम प्रशिक्षण केन्द्र अहिले लथालिङ अवस्थामा रहेको छ । बाणिज्य संघका अध्यक्ष ढकालका अनुसार भौतिक संरचनाहरु समेत बिग्रेका र भत्केका अवस्थामा रहेकाले यसलाइ सञ्चालन गर्न महोत्सवले आर्थिक सहयोग पुग्ने तथा यसको प्रचारप्रसार समेत हुने अपेक्षा लिइएको छ ।
केन्द्रले बेरोजगार युवायुवतीहरुलाइ रोजगारमूलक तालिम दिने र रोजगार खोज्न सहयोग पुर्याउने छ । केन्द्रको जग्गा र भवन ब्यवस्थापनका लागि संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाको संयोजकत्वमा समिति समेत बनेको बाणिज्य संघका द्वितिय उपाध्यक्ष युवराज घिमिरेले बताउनु भयो ।
उहाँका अनुसार अब यसैबर्षबाट इलम प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याउनका लागि महोत्सवबाट कोष निर्माण गरिनेछ । यसबाट पूर्वका युवाहरुलाइ रोजगारमुलक तालिम प्रदान गर्न सहज हुनेछ । यसैगरी आपतकालीन अवस्थामा परेका तथा बिभिन्न भबितब्यमा परेर ब्यापारीहरुको घरपरिवारलाइ तत्काल राहत पुर्याउनका लागि संघले ब्यवसायीक राहत कोष सञ्चालनमा ल्याएको छ ।
यस कोषमा रकम जम्मा गर्न पनि महोत्सव लगाइएको महोत्सव तयारी समितिका संयोजक राजन दंगालले बताउनु भयो । उहाँका अनुसार यस बर्ष दमकमा फरक किसिमले महोत्सव लगाउने तयारी भएको हो । यसको उदेश्य ब्यवसायीक हित प्रवद्र्धन र इलम प्रशिक्षण केन्द्र सञ्चालन नै रहेको उहाँको भनाइ छ ।
यसपटक महोत्सव रतुवाको खोलाको धारमा लगाउने बाणिज्य संघले जनाएको छ । खोलाको धार पनि उपयोग गर्न सकिन्छ र खोला नियण्त्रण आवश्यक छ भन्ने देखाउनका लागि रतुवा खोलाको किनारमा महोत्सव लगाउने तयारी रहेको बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले जनाउनु भयो । खोलाको धारलाइ ब्यवस्थित गरेर त्यसैलाइ महोत्सव स्थल बनाइने छ ।



