विक्रम पाण्डे चितवनको विकासवादी नेताका रूपमा परिचित छन् । कालिका कन्स्ट्रक्सनमार्फत निर्माण क्षेत्रमा हाम फालेका पाण्डे राप्रपा विभाजनपछि राप्रपा (प्रजातान्त्रिक) का प्रभावशाली नेता पनि हुन् । र, उनी चितवन–३ का प्रतिनिधिसभाका उमेदवार बनेका छन् । चितवन–३ मा कम्युनिष्ट गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनाव उठिरहँदा पाण्डे बलियो प्रत्यासीका रूपमा मैदानमा छन् । र, उनले जित्ने दाबीसमेत गरेका छन् । वर्तमान सरकारका वनमन्त्रीसमेत रहेका पाण्डेले ०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा चितवन–५ बाट चुनाव जितेका थिए । प्रस्तुत छ, स्थलगत चुनावी रिपोर्टिङका लागि चितवन पुगेका बाह्रखरीकर्मी अक्षर काका र शिवनारायण गिरीले पाण्डेसँग गरेको कुराकानी :
निर्वाचन प्रचार–प्रसारलाई कसरी व्यवस्थित बनाउँदै हुनुहुन्छ ?
जनताको घरदैलोमा पुग्ने गरी अभियान अगाडि बढाउँदै छौँ, भर्खर सुरू गरेका छौँ हामीले घरदैलो ।
तपाईंको प्रतिस्पर्धी राष्ट्रिय राजनीतिको प्रभावशाली व्यक्तित्व हुनुहुन्छ । माओवादी केन्द्रको अध्यक्ष तथा कम्युनष्टि गठबन्धनको सूत्राधार नै हो उहाँ । चुनौती त होला नि ?
त्यसमा यसो हुँदो रहेछ– चुनावका बेलामा सहज रूपमा भेटिने, सहजै उपलब्ध हुने मानिसको खोजी हुँदोरहेछ । त्यो मबाट सम्भव छ । त्यसलाई जनताले बुझेका छन् । त्यसैले गर्दा मलाई चुनावी मैदानमा उत्रिन निकै सहज छ ।
अघिल्लो निर्वाचन र त्यसको परिणामले तपाईंलाई जनताबीचमा लैजान र चिनाउन उल्लेख्य भूमिका खेल्यो, हो ?
हो । सांसदको कार्यकालभरि जनताले खोजेको बेलामा उपस्थित भएँ । जनताका दुःख–सुखलगायत विकास निर्माणका काममा साथ दिँदै आएँ । सांसद निर्वाचित भएपछि झनै त्यसमा बढोत्तरी आयो । सांसद् हुँदै मन्त्री भएपछि जनताको लागि मैले धेरै काम गर्ने अवसरसमेत पाएँ । देखिनेगरी काम भएका छन् ।
हिजोका दिनमा सांसदमा निर्वाचित हुँदा जनताले मसँग काम गर्न सहज भएको महसुस गरे । त्यसकारण पनि चितवनका जनताले यसपटक मलाई बिर्सनुहुन्न भन्नेमा विश्वस्त छु ।
विकासका निर्माणको भूमिका छ, तथापि यसपटक चितवनकै नेता, राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने । प्रधानमन्त्री बनेर चितवनको विकासमा टेवा पु¥याउन सक्ने प्रभावशाली व्यक्तित्वका आधारमा प्रचण्डलाई नरोज्लान् भन्न सकिन्छ र ?
मलाई पनि राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने नयाँ शक्ति पार्टी नेपाल, थरुहट र मूल रूपमा नेपाली कांग्रेसको समर्थन छ । मतका हिसावले पनि हाम्रो गठबन्धन बलियो हो । त्यसैले पनि चितवनका जनताले मलाई पछि पार्ने अवस्था छैन ।
तपाईंमाथि आरोप छ– तपाईं माडी केन्द्रित राजनीति गनुहुन्छ । विकास पनि उतै बढी गर्न खोज्नुहुन्छ । अन्य क्षेत्रमा तपाईंको प्रभाव कम हो ?
माडीको विकासको लागि मैले धेरै काम गरेको छु । तर, अन्य ठाउँमा पनि गर्ने पर्ने कामहरु गरेको छु । माडीबाहेकका ठाउँमा दुई वटा ठूला–ठूला पुलहरू बनाएको छु । माइलीचोकबाट जगतपुरसम्म कालोपत्रे (पिच)को काम गरेको छु ।
भित्रि बाटोहरूमा पनि ग्रावेलको काम गरेको छु । अहिले डिप बोरिङमार्फत नयाँ बस्तीलगायतका एरियाहरूमा सिचाईंको सुविधा उपलब्ध गराएको छु । वेतरी खोलामा पुल र लम्साल चोकमा ठूल्ठूला पुलहरू बनाएको छु । नारायणी नदीको तटबन्ध पूरा हुन लागेको छ ।
त्यस्तै मैरै पहलमा राप्ती नदीको तटबन्धको काम अगाडि बढिरहेको छ । पुलचोक–गोलालघाट र गोलालघाट– सौराहासम्म पर्यटकीय मार्ग बनाउन डिजाइनहरू अगाडि बढाइसकेको छु । त्यतिमात्र नभइ भर्खर मैले क्याबिनेटबाट निर्णय गराएर निकुञ्जभित्र आवाजावतमा लाग्ने शुल्कलाई मिनाहा गराएको छु ।
गोलालघाटदेखि सिमरीटाउनसम्म पिचको काम अगाडि बढाइसकेको छु । राप्ती पुलदेखि ठोरीसम्म बाटोको रेन्डर भइसकेको छ । मैले अघि सारेको उपरोक्त योजनाहरू पूरा गर्न पनि विक्रम पाण्डे जित्नुपर्छ भन्ने यहाँको जनआवाज हो ।
प्रचण्डजी मेरो पनि आदरणीय व्यक्ति हुनुहुन्छ । राष्ट्रको पनि आदरणीय व्यक्ति हुनुहुन्छ उहाँ । त्यसमा दुई मत छैन । तर, उहाँले जनतालाई त्यति धेरै समय दिनसक्ने अवस्था छैन, रहँदैन । म जति सहज रूपमा जनतालाई आवश्यक परेको बेला उपस्थित हुन्छु, उहाँ उपस्थित हुन सक्नुहुन्न ।
यो कुरालाई जनताले राम्रोसँग बुझेका छन् । त्यसैल मेरो विजयी सुनिश्चित छ ।
हाम्रो पार्टी पद्धति हो, प्रणाली पनि त्यही हो । राप्रपा आफैँमा विभाजित छ । फुट, टुटमा अल्झिएको राप्रपाको भविश्य के हुने हो भन्ने अन्यौल छ । व्यक्ति बलियो हुँदाहुँदै पनि पार्टीको प्रभाव पनि पर्छ नि ?
नेकपा माओवादी केन्द्र पनि कमजोरै छ । प्रचण्डजी पार्टी बलियो भएर लड्न खोज्नु भएको होइन । व्यक्तिको हिसाब किताबले नै लड्न खोज्नु भएको हो । चितवनमा माओवादीको खासै प्राभाव छैन । मैले २० वर्षदेखि अनवरत रूपमा जनताको सेवा गर्दै आइरहेको छु । यहाँका हरेक बच्चादेखि बूढासम्मले मलाई चिन्छन् । जनताले पार्टी होइन काम गर्ने व्यक्ति खोजेका छन् । सहज रूपमा भेट्ने व्यक्ति खोजेका छन् । मैले नेता भएर भन्दा पनि चितवनबासीको सेवकको रूपमा काम गरेको छु ।
त्यसैले गर्दा मलाई विश्वास छ, यसपटक पनि जनताले माया गर्नुहुन्छ, जनताका लागि उहाँहरूले मलाई जिताउनुहुन्छ ।
चितवन सहरी क्षेत्र त हुँदै हो, तथापि यहाँ, भूमिहीन, सुकुम्बासी समस्या छ । उपेक्षित, उत्पीडित समुदाय छन्, तिनका लागि के गर्नुहुन्छ ?
भूमिहीन, सुकुम्बासीको सवालमा, म भूमि सुधार मन्त्रालयमा हुँदा जो जहाँको जग्गामा बसेका छन्, तिनीहरूलाई त्यहीँको लालपूर्जा दिने, त्यहाँबाट पछाडि एक इन्च पनि जग्गा च्याप्न नदिने, उहाँहरूको पूर्जा बनाइदिने, उहाँहरू सुकुम्बासी होइन भनेर प्रमाणीत गरिदिने र बसेको ठाउँमा लालपूर्जा दिने निर्णय दिने भन्ने निर्णय गरेका थियौं ।
तर राजनीतिक कारणले गर्दा तुरुन्त सरकारबाट बाहिर निस्कनु प¥योे । त्यसैले गर्दा अलिकति ढिला भएको हो । म जिम्मा लिएका कामहरू छिटोभन्दा छिटोसक्ने व्यक्ति हुँ ।
म भुमी सुधारमन्त्री हुँदा चितवनमा मालपोत कार्यालय सधै एकादशीको जात्रा जस्तो हुन्थ्यो ।
१५–२० दिनमा पनि जग्गा किन्न या बेच्ने सकिँदैनथ्यो । त्यो समस्या हल गर्न पूर्व चितवनमा, पश्चिम चितवनको चरौँदीमा र माडीको बसन्तपुरमा मैले तीन ठाउँमा नापी कार्यालय खोलिदिएँ । यस्ता थुप्रै सुधारका काम मैले गरेको छु ।
चितवन राष्ट्रिय निकुञ्ज चितवनको पुँजी हो, तर यो समस्या पनि बनिरहेको छ, यसको व्यवस्थापन बारे के सोच्नु भएको छ ?
उपयुक्त व्यवस्थापन नगरेरचाहिँ समस्या भएको हो, व्यवस्थापन गर्ने हो भने यो वरदानको रूपमा रहन्छ । विश्वभरिका पर्यटकहरू आउने ठाउँ हो चितवन ।
एकचोटी मैले मौका पाउने हो भने माडीको ९० प्रतिशत विकास सक्छु । रिउखोला तटबन्धन गरिसकेपछि जंगली जनावर आउन बन्द हुन्छ । पछि गएर जंगली जनावरकोमा मान्छे नजाने मान्छेको बस्तीमा जंगली जनावर नआउने भएपछि एउटा रमणीय माडी बन्छ त्यहाँ ।
ठाडा खोलाका ठाउँ–ठाउँमा पुल बनाइदिने हो भने माडी साँच्चै नै स्वर्ग हुन्छ ।
त्यसैगरी पुलचोकदेखि गोलालघाट र गोलालघाटबाट सौराहासम्म नदीको किनारैकिनार पर्यटकीय मार्ग बनाउने मेरो लक्ष्य छ । यसले चितवनको विकासमा ठूलो टेवा पुर्याउँछ ।
हरेक निर्वाचनपिच्छे बाँदरमुढे दुख्छ, बाँदरमुढेका पीडितहरूका लागि केही सोच्नु भएको छ ?
त्यहाँका स्थानीयहरूले मलाई अस्ति पनि ज्ञापनपत्र दिएका थिए । त्यो ज्ञापनपत्रमा उनीहरूको रोदन, कन्दन थियो । उनीहरूलाई हरेक चुनावमा राजनीतिक दलहरुले झुक्याएका कुराहरू थियो । उनीहरूको बेदनालाई सम्बोधन गर्ने सोच मेरो धेरै अघिदेखिको हो, यसपटक पूरा गर्छु ।
कांग्रेससँग चुनावी गठबन्धन बनाएर मैदानमा उत्रिनु भएको छ, गठबन्धन साझेदारका मत आउनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
एकदमै विश्वस्त छु । सबै साथीहरुले मलाई मत हाल्छन । अघिल्लोपटक माओवादीलाई कांग्रेसको पूरा मत आएन । यसपटक कांग्रेस सबैको मत आउँछ । अन्य घटकहरूको मतसमेत थपिँदा मैले सुविधाजनक हिसाबले जित्छु ।
बार्हखरी बाट सभार









