माओवादी केन्द्रका एक जना नेताले पहिलो चरणको निर्वाचन अगाडि नै नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुने चर्चा निराधार भएको बताएका छन् । माओवादी नेता लीलामणि पोखरेलका अनुसार दुवै पार्टीका शीर्ष नेताहरु निर्वाचनमा व्यस्त भएका बेला दुई कम्युनिष्ट पार्टी एक हुने चर्चा बाहिर आएको हो । वाम एकताले मुलुकमा शान्ति, समृद्धि र स्थायित्व आउने भएकाले अस्थरिता चाहनेहरुले यस्ता हल्ला चलाएको नेता पोखरेलले बताए । उनले भने, ‘वाम गठबन्धनबाट अत्तालिएर नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासमेत रुदै हिडिरहेका छन् ।’ पोखरेलसँग गरिएको संक्षिप्त कुराकानी:
० पहिलो चरणको निर्वाचन अघि नै एमाले र माओवादी एक हुने हो ? – दुईवटा पार्टीका नेताले आफूलाई नै थाहा छैन भनेपछि यस विषयमा चर्चा गरिराख्न जरुरी छैन । पार्टीका मूल नेतालाई थाहा नभएको विषय कसरी आयो ? एकजनाले ९ गते एकता हुने, १० गतेदेखि भएन भनेर हल्ला गर्ने, अर्का नेताले मलाई थाहै छैन भनिसकेपछि यो फेक रहेछ भनेर बुझ्नुपर्यो ।
० राष्ट्रिय दैनिकमा छापिएको खबर हो ? – दैनिक पत्रिकाले किन छापे त्यो मलाई थाहा छैन । त्यसको पुष्टिका लागि उनीहरुसँगै माग गर्नुस् । निर्वाचनपछि पार्टी एकतामा छलफल गर्ने गठबन्धन गर्दै छलफल भएको विषय हो । सबै संयोजन समितिका नेताहरु यतिबेला निर्वाचन क्षेत्रमा हुनुहुन्छ । निर्वाचनको अघिल्लो दिन नै पार्टी एकता हुने भनेर कसले हल्ला गरेको हो ? कसैले प्रायोजित तरिकाले यस्ता कुरा बाहिर ल्याउँदा के हुन्छ भनेर यस्तो समाचार आएका हुन् । यसमा पनि आ–आफ्नै इन्ट्रेस्ट होलान् ।
० अनि के, तरंग कतिसम्म फैलिँदो रहेछ भनेर परीक्षण गरिएको हो ? – असोज १७ गतको घोषणाले नै नेपालको राजनीतिलाई नै उथलपुथल पा¥यो । नेपालको राजनीति मात्र होइन, वरिपरीका छिमेकमा समेत प्रभावित पार्यो । यसबारेमा गम्भीर राजनीति सुरु भयो । यसले पार्टी एकताको प्रसँग मात्र होइन, नकरात्मक चर्चा पनि गरियो । वामपन्थी एकता भएपछि अधिनायकवाद आउँछ भनेर हल्ला फैलियो । प्रधानमन्त्री शेरबहादुर देउवा दिनदिनै रुदै हिडिराख्नु भएको छ । वामपन्थी अधिनायकवाद आयो भने हाँस्न त छाड्नुस रुन पनि पाइँदैन । यस्ता अन्नयरोदन गर्दै उहाँहरु हिडिराख्नु भएको छ । वामपन्थी एक जुट भयो भनेर नेपाली जनता खुशी भएका छन् । मुलुकमा आर्थिक, सामाजिक रुपान्तरण होला, मुलुकमा शान्ति होला भनेर जनता खुशी होलान् । त्यत्ति मात्र होइन, कूटनीतिक नियागहरु समेत गठबन्धन नगर्नुस् भन्दै हिड्नु भएको छ । किन अरुलाई टाउको देखेको मैले बुझेको छैन ।
श्रोत: हाम्रा कुरा बाट सभार









