बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकमा रहेका होटल, रेष्टुरेन्ट, मिठाइपसलहरुको सरसफाइ र गुणस्तरको आधारमा स्तर निर्धारण हुने भएको छ । अब उपभोक्ताले स्तर हेरेर राम्रो तथा नराम्रो थाहा पाउनेछन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग, दमक नगरपालिका र होटल ब्यवसायी संघ क्षेत्रिय समितिले होटल अनुसारको स्टिकर टाँस गर्ने भएकाछन् । यसको तयारी स्वरुप होटल ब्यवसायीहरुलाइ तालिम समेत प्रदान भएको होटल ब्यवसायी संघका क्षेत्रिय अध्यक्ष राजन दंगालले बताए ।
उनका अनुसार होटल, रेष्टुरेन्ट तथा मिठाइ पसलहरुले सरसफाइमा ध्यान नदिए त्यसको जवाफदेहि संघ नहुने बताए । त्यस्ता पसलहरु अनुगमनपछि बन्द गरिएमा समेत आफूहरु सहमत रहेको जनाए ।
बुधबार यस बिषयमा तालिम लिएका होटल ब्यवसायीहरुलाइ प्रमाणपत्र बितरण कार्यक्रममा बोल्दै खाद्य निरीक्षक दिनेश ढुगानाले होटल, रेष्टुरेन्ट र मिठाइ पसलहरुलाइ ४ वटा स्तरमा छुट्याइने छ ।
पूर्ण रुपमा सरसफाइ भएको र गुणस्तर कायम भएकालेलाइ अति उत्तम भएको स्टिकर सबै उपभोक्ताले देखिने गरि टाँस गरिने छ । त्यसपछि उत्तम, सन्तोषजनक र सामान्य गरेर चार प्रकारको स्टिकरहरु टाँस गरिने ढुंगानाले बताए ।
यो सबै उपभोक्ताहरुले देखिने गरी टाँस गरिने जनाईएको छ । यसमा सबैभन्दा ठूलो मापदण्ड सरसफाइको अवस्थालाइ बनाइने जनाइन्छ । किचन देखि लिएर शौचालयसम्मको सरसफाइमा यसमा पर्नेछ ।
होटल ब्यवसायि संघ क्षेत्रिय सचिब सुधिर प्रदानका अनुसार यसबाट अब होटलहरुलाइ सरसफाइ गर्नका लागि दबाब पुग्नेछ । उपभोक्ताहरुले समेत सफा खाद्य सामाग्रि खान पाउनेछन् ।



