केबल जोडेर घरमा टेलिभिजन हेरिरहेका सेवाग्राहीहरू बुधबार एक्कासि टेलिभिजन बन्द हुँदा आतंकित बने । आफ्नो टिभी सेट नै बिग्रेको हो कि अथवा मुसाले कतै तार काट्यो कि भन्दै गृहिणीहरू यताउता सोधीखोजीमा लाग्न थाले । यो समस्या आफ्नो घरमा मात्र नभई सबैकोमा यस्तै हालत भएको थाहा पाएपछि उनीहरू केही हदसम्म ढुक्क भए ।

हुन त टिभी च्यानलहरू एक्कासि बन्द भएका होइनन् । केबलप्रदायकहरूले यसअघि नै यसबारे सूचना गरेको थिए । तर, जति प्रभावकारी रूपमा सूचना प्रवाह हुनुपर्ने हो त्यो हुन नसक्दा सेवाग्राहीहरू आतंकित बन्नुपर्ने अवस्था आएको हो । ०७५ को वैशाख १५ गतेपछि ग्रामीण क्षेत्रसहित देशभर एनालग टेलिभिजन बन्द हुनेबारेमा सञ्चार मन्त्रालयले पनि जानकारी दिएको थियो । पछि समय थप गरेर मन्त्रालयले कार्तिक महिनासम्ममा सेट टप बक्स जडान गर्न अवसर दिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पर्याप्त सूचनाको अभावमा अझै पनि उपभोक्ताले आफ्ना घर तथा कार्यालयमा सेट टप बक्स जडान गर्न सकेका छैनन् । सो सेट अप बक्स केबलप्रदायक कम्पनीले उपलब्ध गराउने हो कि उपभोक्ता अफैैले जडान गरेकै भरमा पुनः टेलिभिजन चल्ने हो भन्नेबारे उपभोक्ता सूचित भएको पाइएको छैन । सरकारले दाबी गरेअनुसार एनागल टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्र्रािट्रय नियमअनुसार नै यसलाई विस्थापन गरेर डिजिटलाइज गर्न लागिएको हो ।

यसरी गर्न सकिन्छ डिजिटलाइज

एनागल टेलिभिनलाई डिजिटलमा लैजान उपभोक्ताले धेरै झन्जट गर्नुपर्दैन । हरेक टेलिभिजनका लागि १५ सयदेखि ३ हजारसम्म मूल्यका छुट्टै सेट अप बक्स लगाएपछि पुनः टिभी सञ्चालन हुन्छ । यो सेट टप बक्स टिभीमा केबल जोड्नुअघिको प्वाइन्टमा जोडिनेछ । अब सेट–टप बक्सको सेवा शुल्क भने फरक–फरक लाग्नेछ ।

केबल टिभी अपरेटरले भने आफ्नो हेड इन (कन्ट्रोल रुम)मा पनि सबै उपकरण डिजिटलाइज्ड गर्नुपर्छ । त्यसका लागि केबल अपरेटरसँग अब दुईवटा विकल्प रहनेछन् । पहिलो विकल्प डिजिटलाइज्ड सेवा प्रदायक मल्टी सर्भिस अपरेटरसँग सहकार्य गरेर उसैसँग आधारित भएर सेवा दिन सकिन्छ । अर्को विकल्प आफैँ हेड इनलाई डिजिटलाइज्ड गरेर पनि सेवा चालु गर्न सकिन्छ । केबल अपरेटरहरूले मल्टी सर्भिस अपरेरटरसँग सहकार्य गरेर पनि अघि बढ्न सक्नेछन् ।

मल्टी सर्भिस अपरेटरसँग फे्रन्चाइज गरेर उनीहरूले डिजिटल टिभीको सेवा जारी राख्न सक्छन् । केबल हटाएर सीधै एमएसओ वा डिसहोमको डिटिएचको सेवा पनि लिन पनि ग्राहकलाई सुविधा छ । तर, ग्राहकले घरमा जतिवटा टिभी छन्, त्यति नै वटा सेट टप बक्स जोड्नुपर्नेछ । अब हरेक टेलिभिजनमा सेट टप बक्स राखेर सेवा लिएबापत अपरेटरलाई छुट्टै शुल्क तिनुपर्नेछ । यसले ग्राहकलाई थप आर्थिक भार पर्ने देखिन्छ । यसबाट सरकारको राजस्वमा भने भारी वृद्धि हुने देखिन्छ । उपभोक्ता केबल टेलिभिजनको गुणस्तरहीन सेवाबाट भने मुक्ति पाउने देखिन्छ । सेटटप बक्स लगाएपछि टिभीको श्रव्य दृश्य गुणस्तरीय हुनेछ ।

केबल टेलिभिजनलाई डिजिटलाइज गर्नु बाध्यकारी बनाइएको छ । सरकारले अब डिजिटलमा नजाने केबल अपरेटरको लाइसेन्स खारेज गरेर सेवा नै बन्द गर्ने भएकाले सेवाप्रदायक र ग्राहकले समयमै नयाँ प्रविधिको प्रयोगमा जानुपर्ने देखिएको छ ।