वाम गठबन्धनको तर्फबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा उम्मेदवार लालबाबु पण्डितको गाडीलाई लक्षित गरी बम विस्फोट भएको छ ।

पण्डित पूर्व सामान्य प्रशासन मन्त्रीसमेत हुन् । चुनावी अभियानको क्रममा क्षेत्र नं.६ को बुढीगंगा गाउँपालिका ५ कोयलपुर जाँदै गर्दा बम विष्फोट भएको अनेरास्ववियुका केन्द्रीय सचिव वसिम आलमले जानकारी दिए। ‘हामी पुग्नु भन्दा २० सेकेण्ड अगाडि बम पड्कियो,’ आलमले भने, ‘सुतली बम रहेछ, भाग्यले बाँच्यौँ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बम विस्फोटबाट कुनै पनि क्षति नभएको आलमले जानकारी दिए। बम पड्काउने समूहको भने पहिचान नभएको र अनुसन्धान भइरहेको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए।

बम पड्किएको विषयमा प्रतिक्रिया दिँदै पण्डितले आफू बमले नतर्सिने बताउनु भयो। ‘यो बम पड्काएर हामी तर्सिने छैनौं, अभियान निरन्तर जारी रहन्छ,’ पण्डितले भने, ‘अपराधिक गतिविधि गर्नेलाई जनताले तह लगाउँछन् ।’