विवादका कारण सोमबार बिहानदेखि रोकिएको सुनसरी ३ को मतगणना अझैं सुरु हुन सकेको छैन । मतपेटिकाको सिलका विषयमा विवाद हुँदा गणना अवरुद्ध बनेको थियो ।
जिल्ला निर्वाचन कार्यालय सुनसरीका निर्वाचन अधिकृत भक्तबाहादुर भट्टराईले सहमति जुटाउन मंगलबार बिहान सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । सुनसरी १ मा कांग्रेस नेता विजय गच्छदार र एमालेकी भगवती चौधरीबीच तीव्र प्रतिस्पर्धा छ।
मतगणनाको क्रममा मतपेटिकाको शिल शंकास्पद अवस्थामा भेटिएको भगवतीको दाबी छ । सोपछि उनका कार्यकर्ताले मतदान अधिकृतले नै गच्छदारलाई जिताउन धाँधलीको प्रयास गरेको आरोप लगाएका छन् भने यसकै विरोधमा सोमबार दिनभर नाराबाजीसमेत गरेका थिए ।
पछिल्लो मतगणनाको सार्वजनिक नतिजानुसार चौधरीले २९ हजार ३२६ र गच्छदारले भगवतीभन्दा १५५ मत कम अर्थात् २९ हजार १७१ मत प्राप्त गरेका छन् ।
यो नतिजा प्राप्त हुनुअघि सार्वजनिक गरिएको मतपरिणामअनुसार गच्छदारले झिनो मतान्तरले अग्रता लिएपनि चौधरीले पुन अग्रता लिएसँगै मतगणनाको मतपेटिका संकास्पद अवस्थामा भेटिएको भन्दै चौधरीले विरोध गरेपछि मतगणना रोकिएको हो ।
चौधरीले धाँधली हुनसक्ने भन्दै सुरुदेखि नै कडा रुपमा प्रस्तुत हुँदै आएकी छिन् । स्मरण रहोस् ०७० सालको संविधानसभा निर्वाचनमा चौधरीलाई नै झिनो मनान्तरले हराउँदै गच्छदार विजयी भएका थिए ।



