झापाको शिवसतासी नगरपालिकाको वडा नं १ र ३ वडा कार्यालय उद्घाटन गरिएको छ । सोमबार नगरपालिका प्रमुख चन्द्रकुमार शेर्माले दुवै कार्यालयको उद्घाटन गरेका थिए ।
शिवसतासी–३ (साविक धरमपुर–१, २, ३ र ४) पारावारी बजारमा स्थापना गरिएको वडा कार्यालयको उद्घाटन पश्चात नगर प्रमुख शेर्माले नागरिकको सेवालाई प्रभावकारी बनाउन नगरपालिकाका कर्मचारीहरुलाई आग्रह गरेका थिए । उनले केही प्राविधिक सेवा वाहेक अन्य सवै प्रकारका सेवाहरु वडा कार्यालय मार्फत सेवा प्रदान गरिने बताए ।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख भोजकुमारी नेपाल, नगरपालिका कार्यालय कर्मचारी प्रशासन प्रमुख पकज भुर्तेलको उपस्थिति रहेको थियो । वडा नं ३ का अध्यक्ष पुष्यप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नगर सदस्य महेन्द्र सम्बाहम्फेले स्वागत मन्तव्य राखेका थिए ।
सो अवसरमा धरमपुर गाविसका पूर्वअध्यक्ष होमप्रसाद गौतम, वडा नं १ का अध्यक्ष सुवास राई, वडा नं २ का अध्यक्ष कुलवहादुर वस्नेत सहभागि थिए ।
त्यस्तै, धरमपुर–४ का पूर्वअध्यक्ष दुर्गाप्रसाद सम्बाहम्फे र वडा ं ३ का पूर्वअध्यक्ष अग्नी सापकोटा, नेकपा एमालेका दीपेश राई, नेकपा माओवादीका सञ्जय राई, नेपाली काँग्रेसका मणिराम भट्टराई, भानु माध्यमिक विद्यालयका प्रअ तेज भट्टराई, शान्ति प्राविका प्रअ विष्णु भट्टराईको उपस्थिति थियो ।
तीन जना कर्मचारी रहने वडा कार्यालयमा वडा सचिव खेमराज दुलाल छन् । त्यस्तै, एक जना कार्यालय सहयोगी र एक जना सामाजिक परिचालिका रहने छ । त्यस्तै, वडा नं १ को शुक्रबारे बजारमा स्थापना गरिएको वडा कार्यालयको पनि सोमबार नै नगर प्रमुख शेर्माले उद्घाटन गरेका थिए । सो वडा कार्यालयको सचिव राजु गिरी छन् ।










