बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दलमक १० मा २२ सय बिगाहमा निर्माण हुन लागेको औधोगिक पार्कको एमओयु अर्थात समझदारीपत्र तयार पार्नका लागि चीनीया टोली नेपाल आइसकेको बताईएको छ ।
चीनका लासामा रहेको आर्थिक तथा प्राविधिक बिकास हेर्ने टोली अब स्थलगत अध्ययनका लागि दमक आउने बताईएको छ । यसपछि औधोगिक पार्क निर्माणले गति लिने बताइन्छ । चीनले बिश्वलाइ ब्यापारसंग जोड्नका लागि वान बेल्ट वान रोड बनाउने घोषणासंगै दमकमा औधोगिक पार्क निर्माण हुने निश्चित बनेको थियो ।
स्थानीय स्तरमा जग्गा ब्यवस्थापन गर्ने काम सम्पन्न भइसकेको र अब कामले गति लिने बताइन्छ । राजधानीमा सरोकारावालाहरुसंग छलफलपछि टोली दमक आउने तयारी भएको छ ।
टोलीले पूर्व प्रधानमन्त्री एवं झपा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य केपी शर्मा ओली, औधोगिक पार्कका अध्यक्ष गोविन्द थापा, उद्योग मन्त्री तथा मन्त्रालयका अधिकारीहरु लगायत सरोकारवाला ब्याक्ति एवं निकायहरुसंग छलफल गरेर बिस्तृत समझदारी पत्र निर्माण गर्नेछ ।
औधोगिक क्षेत्र ब्यवस्थापन लिमिटेडका अनुसार टोलीले आफ्नो काम शुरु गरिसकेको छ । त्यसमा औधोगिक क्षेत्र ब्यवस्थापन लिमिटेडले सहयोग पुर्याइरहेको अध्यक्ष नन्दकिशोर बस्नेतले जनाए । नेपालको तर्फबाट सबै तयारी पुरा भएको बस्नेतले जनाएकाछन् ।
यो निर्माणको सहमति नेपाल र चीन सरकारबीच यसभन्दा अगाडि नै भइसकेको थियो । चीन सरकारले यो निर्माणलाइ महत्वका साथ लिने बुझिएको नेपाली अधिकारीहरु बताउछन् ।
औधोगिक पार्क निर्माणले यस क्षेत्रमा कम्तिमा पनि १ लाख भन्दा बढिलाइ रोजगारी सिर्जना हुनेछ भने अरवौको लगानी भित्रने औधोगिक पार्कका अध्यक्ष गोबिन्द थापाले बताएकाछन् । बुधबार चिनिया टोली दमक आउने तयारी रहेको बुझिएको छ ।
यहाँको दीर्घकालिन रुपमा खोला नियण्त्रण, बाटाहरु फराकिलो बन्ने र प्रारम्भिक चरणमा ३ सय अरब लगानी हुने पनि यसभन्दा अघि दमक नगरपालिकाले जनाएको थियो ।



