विष्णुप्रसाद पोखरेल
दमक/नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाइ प्रधानमन्त्री सरह नै सुरक्षा प्रदान गर्न शुरु गरिएको छ । सबैभन्दा ठूलो राजनीतिक दलको प्रमुृख रहेको हैसियत र भावी प्रधानमन्त्रीको रुपमा हेरिएकाले सुरक्षा थ्रेटका आधारमा सुरक्षा बढाइएको प्रहरी श्रोतको भनाइ रहेको छ ।
यसभन्दा अगाडि नेपाल प्रहरीबाट प्रहरी निरिक्षक र शसस्त्र प्रहरीबाट सइको नेतृत्वमा ओलीलाइ सुरक्षा प्रदान हुने गरेको थियो । तत्कालै देखि लागु हुने गरी ओलीको सुरक्षार्थ डिएसपि खटाइएको प्रहरी श्रोतले बताएको छ । बाम गठबन्धनले ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सारिसकेको छ ।
वहालवाला प्रधानमन्त्रीको सुरक्षाका लागि पनि डिएसपि नै खटिदै आएकाछन् । सुरक्षा सेवा निर्देशानलयले भिआइपिहरुको सुरक्षाका लागि आवश्यक जनशक्ति परिचालन गर्ने गरेको छ । यसभन्दा अगाडि निर्वाचनको समयमा समेत ओलीलाइ थ्रेट रहेको भन्दै उनि सहभागि हुने कार्यक्रमहरुमा उच्च सुरक्षा शर्तकता अपनाईने गरेको थियो ।
ओली झापा क्षेत्र नं. ५ को प्रतिनिधिसभा सदस्य समेत रहेकाछन् । राष्ट्रिय सभा निर्वाचन सम्बन्धिको अध्यादेश राष्ट्रपति बिद्यादेबी भण्डारीले प्रमाणिकरण गरे संगै देउवालाइ अब सरकार छाड्न नैतिक दबाब परेको छ भने ओली प्रधानमन्त्री बन्ने बाटो समेत सहज बनेको छ ।
राष्ट्रपति भण्डारीले सो अध्यादेशमा राजनीतिक सहमति जुटाउन प्रधानमन्त्री देउवा, नेकपा(एमाले) अध्यक्ष केपीशर्मा ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एवं राष्ट्रिय जनता पार्टीका शीर्ष नेतासँग छलफल गरेकी थिइन् ।



