पहिल्यै देखि नै पुरुषप्रधान हुँदै आएको नेपाली समाजमा नारीहरूको अस्तित्व र सम्मान खोज्न धौधौ पर्छ। जसको कारण पुरुषप्रधान बन्यो उहि नारीलाई आज पनि बोक्सी भनेर कालो मोसो लगाइन्छ, दिशा खुवाइन्छ अनि गाउँ निकाला गरिन्छ। आफ्नै आमाको नौ महिनाको दूधको भारा वृद्धाश्रममा लगेर तिरिन्छ।
यस्तो सङ्कुचित समाजमा जन्मिएर हुर्किएर पनि नेपालका कैयौँ नारीहरू लैङ्गिक असमानताको धरातलबाट माथि उठी आफ्नो अधिकारलाई नयाँ रूप दिन सफल भएका छन्। नारीलाई अछुतोसरह मान्ने पुरुषहरूकै अगाडि विश्वको सर्वोच्च शिखरमा पुगी नेपालको झण्डा फरफराएका छन्। नेपालका महिलाहरू पनि सक्षम छन्, साहसी छन् अनि आफ्नो समाजमा प्रतिष्ठा कायम गर्न सक्छन् भनी विश्वमै सन्देश पुर्याएका छन्।
यसै सन्दर्भमा आज नारी दिवस (फागुन २५) को अवसरमा हामी तपाईँहरूलाई नेपालका महान नारीहरूको बारेमा केहि जानकारी दिन गैरहेका छौँ।
१. पासाङ ल्हामु शेर्पा

pasang lhamu sherpa
विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रथम नेपाली महिला ‘पासाङ ल्हामु शेर्पा’ हुन्। उनले बि.सं. २०५० साल वैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिइन्। त्यो भन्दा पहिले उनको सगरमाथा चढ्ने प्रयास ३ पटक सम्म असफल भएको थियो।
बि.सं. २०१७ साल मङ्सिर २५ गते सोलुखुम्बु जिल्लाको चौरीखर्क, लुक्ला सुर्के-४ मा जन्मिएकी पासाङ ल्हामुले सगरमाथ चढ्नुभन्दा पहिले ‘मोन्ट ब्लाङ्क’, ‘चो यू’ तथा अन्य हिमालहरू चढिसकेकी थिइन्। उनले सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेकी थिइन् भने शिखरबाट श्रीमान सोनाम छिरिङसँग फर्कँदै गर्दा बि.सं. २०५० वैशाख १० गते ३२ वर्षको उमेरमा उनको मृत्यु भएको थियो।pasang lhamu Statue
पासाङ ल्यामुको साहसको सम्मान गर्दै नेपाल सरकारले बि.सं. २०५९ साल वैशाख १० गते उनलाई नेपालको राष्ट्रिय विभूती घोषित गरेको थियो। नेपाल सरकारले उनलाई ‘नेपाल तारा अलंकार’ले पनि पुरष्कृत गरेको थियो। यसका साथै उनको पूर्ण कदको शालिक र उनको फोटो सहितको हुलाक टिकट पनि प्रकाशित भएको थियो। उनको नाममा ‘पासाङ ल्हामु पर्वतारोहण फाउण्डेसन’ पनि सञ्चालन भएको छ।
२. तारा देवी
Tara Devi
तारादेवी प्रसिद्ध नेपाली गायिका हुन्। वि.सं. २००२ साल माघ २ गते मङ्गलबारको दिन पिता ‘कृष्णबहादुर कार्की’ तथा माता ‘राधादेवी’को कोखबाट काठमाडौँमा जन्मिएकी तारा देवीले आफ्नो जीवनकाल भरमा ४ हजार भन्दा बढि नेपाली गीतहरू गाएकी छिन्।
तारादेवीको शिवबहादुर श्रेष्ठसँग वि.सं. २०२२ सालमा प्रेमविवाह भएको थियो। उनका पति हवाइचालक थिए। यी दुई पतिपत्नीबाट एउटी छोरी ‘चारू’ तता दईवटा छोरा ‘शशि’ र ‘रवि’ जन्मिए। तारादेवीका जवान छोरा ‘शशि’ वि.सं. २०५१ साल वैशाखमा क्यान्सर रोगका कारण दिवंगत भए भने उनका पति शिवबहादुर पनि २०५५ सालमा हवाई दुर्घटनामा स्वर्गीय भए।
जागिर खोसिएको पीडा भोग्दाभोग्दै पुत्रवियोग अनि त्यसको चार वर्षपछि पतिको निधन हुनु तारादेवीको जीवनका अत्यन्तै मर्माहत क्षण थिए।
४ दशकदेखिको अथक साधनाद्वारा गायनकलामा उत्कृष्टता हासिल गरी नेपाली भाषालाई स्वदेशभित्र र बाहिरसमेत सङ्गीतको मधुरिमा द्वारा लोकप्रिय बनाई नेपाली वाङमयको श्रीवृद्धि गर्नमा उल्लेखनीय योगदान गरेकोले उनलाई राष्ट्रिय देनको कदर स्वरूप वि.सं. २०५० सालमा ‘जगदम्बाश्री पुरस्कार’ले सम्मान गरियो।
उनले ‘इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कार’, ‘छिन्नलता पुरस्कार’, ‘मैना पुरस्कार’ र ‘नई सुर सम्मान’ पाइन्। त्यति मात्र कहाँ हो र, तारादेवी सुप्रसिद्ध प्रबल गोरखादक्षिणबाहु प्रथम बाट पनि विभूषीत भइन्। उनले महेन्द्ररत्न आभूषण, गद्दी आरोहण रजतपदक, विरेन्द्र ऐश्वर्य सेवापदकका अतिरिक्त स्वदेश तथा विदेशबाट अन्य थुप्रै पदक, पुरस्कार, सम्मान र अभिन्नदनहरू पनि पाएकी थिइन्।
यसरी नारी भएर पनि गायन क्षेत्रमा इतिहास रचेकी तारादेवीको वि.सं. २०६२ सालमा दुःखद निधन भएको थियो।
३. अरुणा लामा

Aruna Lama
अरुणा लामा पनि नेपाली गायन क्षेत्रको एक सुप्रसिद्ध गायिका थिइन्। सुमधुर स्वरकी धनी अरूणा ‘स्वर किन्नरी’का रूपमा परिचित थिइन्। वि.सं. २००२ भाद्र २४ को दिन पिता सूर्यबहादुर लामा र माता सानमाया लामाबाट दार्जिलिङको घूम पहाडमा जन्मिएकी अरुणा लामाको पहिलो गीत ‘ए कान्छा मलाई सुनको तारा खसाईदेउ न’ थियो भने ‘किन यौवन उदास उदास छ मेरो’ भन्ने गीतबाट उनको गीति यात्रा अघि बढेको थियो।
वेदना, पीडा र व्यथाका गीतहरूको साम्राज्ञी लामाको पहिलो गीत वि.सं. २०१२ देखि रेडियोमा बज्न सुरु गरेको थियो।
उनले आफ्नो गायन कलाको लागि नेपाल र भारत दुवै देशबाट अनेकौँ पुरस्कारहरू पाएकी थिइन्। उनले सङ्गीत पुरस्कार, सुर श्रृङ्गार सम्मेलन पुरस्कार, मित्रसेन पुरस्कार, दिशारी पुरस्कार (कोलकता), भानु एकेडेमी पुरस्कार (दार्जिलिङ), नेपाली चलचित्र पुरस्कार (माइतीघर गीतको लागि), छिन्नलता गीत पुरस्कार, उर्वशीरङ्ग पुरस्कार, गोरखादक्षिण बाहु पुरस्कार, साधना पुरस्कार जस्ता थुप्रै पुरस्कारहरू पाएकी थिइन्।
साङ्गितिक क्षेत्रमा सबै नेपाली तथा भारतीयहरूको मन चोर्न सफल अरुणा लामाले वि.सं. २०५४ माघ २२ गते बुधबारको दिन संसार छाडिन्।
४. झमक घिमिरे

Jhamak Ghimire
झमक कुमारी घिमिरे प्रतिभावान नेपाली महिला स्रष्टा हुन्। ‘सेरिब्रल पल्सी’ (Cerebral Palsy) मस्तिष्क रोगबाट पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्वकै १० प्रतिभावान साहित्यकार मध्ये एक हुन्। वि.सं. २०३७ साल असार २१ गते धनकुराको कचिडेमा जन्मिएकी झमकले जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने समस्याबाट गुज्रिनुपरिरहेको छ।
खुट्टाको ३ औँला मात्र चल्ने उनले तिनै ३ औँलाको सहयोगले धेरै रचनाहरू प्रकाशित गरिसकेकी छिन्। औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले घरमा भाइ र बहिनीले पढेको र लेखेको देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकी हुन्।
वि.सं. २०५३ साल देखि उनको लेखन विधामा रुचि बढेको हो। कान्तिपुर र ब्लास्ट टाइम्स पत्रिकामा उनका नियमित स्तम्भहरू पनि छापिन्छन्।
उनले आफ्नो ‘जीवन काँडा की फूल’ नामक आत्मकथाबाट नेपाली साहित्यको क्षेत्रमा सबैभन्दा सम्मानित ‘मदन पुरस्कार’ पनि पाएकी छिन् भने प्रबल गोरखा दक्षिण बाहुर लगायत दर्जनौँ पुरस्कार एवम सम्मान प्राप्त गरेकी छिन्।
५. अनुराधा कोइराला

CNN Hero Anuradha Koirala
‘माइती नेपाल’की संस्थापक अध्यक्ष तथा प्रसिद्ध समाजसेवी ‘अनुराधा कोइराला’को जन्म वि.सं. २००६ वैशाख २ गते ओखलढुङ्गाको रुम्जाटारमा भएको हो। उनले आफ्नो ‘माइती नेपाल’ नामक गैरसरकारी संस्थामार्फत बेचिएका नेपाली चेलीबेटीको उद्धार गर्दै आइरहेकी छिन्।
खासगरी भारतीय कोठीहरूमा बेचिएर नरकीय जीवन बिताउन बाध्य भएका नेपाली चेलीबेटीहरूको उद्धार र पुनर्स्थापनामा उनको संस्था क्रियाशील छ। अनुराधाले वि.सं. २०६६ सालमा सीएनएन हिरो (CNN Hero) को उपाधि पनि पाएकी छिन्। साथै उनले आफ्नो समाजसेवी कार्यको कारण वि.सं. २०७० सालमा ‘मदर टेरेसा’ सम्मान पनि जितिन्।
६. पुष्पा बस्नेत

Pushpa Basnet
पुष्पा बस्नेत पनि नेपालमा कार्यरत समाजसेवी तथा ‘प्रारम्भिक बाल विकास केन्द्र’ र ‘पुतली घर’ नामक गैरनाफामुलक गैरसरकारी संस्थाकी संस्थापक अध्यक्ष हुन्।Pushpa Basnet
उनी र उनको संस्थाले विभिन्न कारणले कैदमा परेका अभिभावकका छोराछोरीको अधिकारको सुरक्षा गर्ने काम गर्दछ। सीएनएन हिरो अवार्ड २०१२ का लागि उनको नाम मनोनयनमा परेपछि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले उनको कामको प्रचार प्रसार गर्न थालेका हुन्।
जेलमा रहेका मातापिताको सन्तानको अधिकारका लागि कार्यरत पुष्पा बस्नेत २०१२ का लागि सीएनएन हिरो घोषित भएकी थिइन्।
यी महान नेपाली नारीहरूले पुरुषप्रधान समाजमा महिलाको अस्तित्व र सम्मानलाई स्थापना गरेका छन्। सङ्कुचित सोच भएको समाजलाई केहि हदसम्म भएपनि फराकिलो पार्नमा यी पात्रहरूको ठूलो देन रहेको छ।



