दमक, भदौ ३१ गते झापा दमकलाई मूख्य कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका पत्रकार बिष्णुप्रसाद पोखरेल सम्मानित भएकाछन् । सहकारी सम्बन्धी लेख रचना र समचार सम्प्रेषण गरेर सहकारीको बिकासमा उल्लेख्य योगदान पुर्याएको भन्दै द एभरेष्ट सहकारी संस्था दमकले शुक्रबार आफ्नो ५ औ बार्षिक साधरणसभाको अवसरमा नगद ८ हजार ५१ सहित सम्मान गरिएको हो । पुर्वाञ्चल दैनिक र गोरखापत्र दैनिकमा कार्यरत पत्रकार मञ्च दमकका अध्यक्ष पोखरेललाई राष्ट्रिय सहकारी बैककी सञ्चालक सरिता भट्टराई र सहकारीका अध्यक्ष दिपक खरेलले सम्मानपत्र सहित चेक प्रदान गर्नु भएको थियो । सहकारीले गत बर्षदेखि सहकारीका क्षेत्रमा उल्लेख्य रुपमा कलम चलाउने पत्रकारलाइ आफ्नो बार्षिकोत्सव तथा साधरणसभामा सम्मान गर्न शुरु गरेको हो । सोहि अवसरमा पुराना लोकगायक एलपि जोशीलाई पनि दोसल्ला ओडाएर सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहकारी बैककी सञ्चालक भट्टराईले सहकारीताको माध्यमबाट समाज रुपाण्तरण र आर्थिक सम्बृद्धिको लक्ष्य हासिल हुने बताएकी थिइन् । सहकारीका ब्यवस्थापक धर्मानन्द भट्टराईका अनुसार सहकारीले गत बर्ष २४ करोड ४३ लाख ८ हजार ८ सय ३८ रुपिया बराबरको कारोबार गर्न सफल भएको छ ।