विष्णुप्रसाद पोखरेल
दमक । झापाको दमक ३ मा ७ वटाको संख्यामा हात्ति प्रवेस गरेपछि स्थानीयहरु त्रसित एवं भयभित भएकाछन् । बस्ति नसिजक रहेको हम्सेदुम्से सामुदायिक बनभित्र जंगली हात्ति आएर बसेको बताईएको छ ।
आज(शुक्रबार)बिहान हात्तिले स्थानीय ओमबहादुर बस्नेतको घर भत्काएको र हेमसागर पोखरेको धान खाएर नष्ट गरेको वडा नं. ३ का वडाध्यक्ष नविन बरालले बताएकाछन् । दूइ दिनदेखि यहाँ हात्तिको बथान देखिदै आएको पनि उनले जानकारी दिए ।
रातको समयमा बस्ति तथा गाँउमा पसेर क्षति पुर्याउन सक्ने भयका कारण स्थानीयहरु रातभर जागै बस्नु पर्ने बाध्यता समेत सिर्जना भएको बरालले बताए । राती राँको बालेर हात्ति धपाउन तयारी अवस्थामा बस्नु परेको उनको भनाइ रहेको छ ।
जंगलमा हात्ति रहेकाले जतिखेर पनि बाहिर निस्कन सक्ने भएकाले सबैलाइ होशियारीका साथ बस्न आफूहरुले आग्रह गरेको र स्थानीय बाघखोर प्रहरीलाइ पनि यस बिषयमा जानकारी गराइएको बरालले बताए ।
बर्षेनी हम्सेदुम्से सामुदायिक बनमा यो समयमा भारतीय हात्तिहरु आउने र क्षति पुर्याउने गर्दै आएको बताइन्छ । स्थानीयहरु घाँस दाउराका लागि दूइदिन अघिदेखि जंगल समेत पस्न नसकेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरीले हात्ति हम्सेदुम्से सामुदायिक बनमा रहेको सूचना पाएको जनाउदै त्यस क्षेत्रमा गस्ति बढाइएको र क्षति हुन नदिनका लागि सचेत रहेको बताएकाछन् ।



