दमक/झापाको दमक १ भाङ्गबारीस्थित भृकुटी आधारभूत विद्यालयले आइतबार स्वर्ण महोत्सव मनाएको छ । स्वर्ण महोत्सवका अवसरमा विद्यालयले अन्तरविद्यालय हाजिरीजवाफ तथा नृत्यलगायतका कार्यक्रमहरु सम्पन्न गरेको छ ।
विद्यालयका प्रधानाध्यपक लक्ष्मीप्रसाद न्यौपानेका अनुसार २०२४ सालमा बालज्योति पाठशालाको नामबाट सो विद्यालयमा पठनपाठन सुरु भएको थियो । विद्यालयमा अहिले बाल विकास कक्षासहित ८ कक्षासम्म पठनपाठन हुने गरेको छ ।
प्रअ न्यौपानेका अनुसार बाल कक्षादेखि कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन हुने गरेको छ । विद्यालयमा हाल २ सय ६५ विद्यार्थी अध्ययनरत छन् । स्वर्ण महोत्सव कार्यक्रममा प्रअ न्यौपानेले विद्यालयको संक्षिप्त पृष्ठभूमि, भावी योजना एवं विशेषताका बारेमा जानकारी दिएका थिए । विद्यालयमा शिशुदेखि कक्षा २ सम्मका ७० जना विद्यार्थीलाई दिवा खाजा समेत खुवाउ“दै आएको प्रअ न्यौपानेले बताए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष घनेन्द्र योङयाको अध्यक्षता तथा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा स्वर्ण महोत्सव सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी योगेन्द्र बराल, उपमेयर गीता अधिकारी, प्राध्यापक डा.गोविन्दराज भट्टराई, नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल, वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाललगायतको सहभागीता थियो ।










