आधुनिक युगमा प्रविधिले मानिसको जीवनमा असर पार्ने गरेको छ । सबैले आफूसँग राम्रो मोबाइल, ल्यापटप र ट्याब्लेट होस् भन्ने चाहन्छन् ।
मानिसहरूसँग समयको कमी छ अनि परिवारका सदस्य तथा साथीहरूसँग भेटघाट गर्न फुर्सद छैन । तर मोबाइलमा च्याट गरेरै पनि मानिसहरू दिनमा १६ घन्टासम्म बिताइदिन्छन् ।
यसको असर स्वास्थ्यमा पनि पर्न थालेको छ । मानसिक थकान, डिप्रेसन, सर्भाइकल र डिप्रेसनबाहेक अन्य धेरै रोगहरू यसकारण लाग्छन् । तपाईं पनि यस्ता रोगहरूबाट ग्रस्त हुनुहुन्छ भने यहाँ बताइएका टिप्स अपनाएर च्याटिङको कुलतबाट मुक्त हुनुस् ।
नियमित रूपमा साथीहरूसँग भेटघाट गर्ने गर्नुस् । फेस टु फेस कुराकानी गर्दा तपाईं आफ्नो मनको कुरा अरूलाई बताउन सक्नुहुन्छ । यसो गर्दा बिस्तारै च्याटिङको कुलत हटेर जान्छ ।
नियम नै बनाएर दिनको कम्तीमा दुई घन्टा अफलाइन रहनुस् । मोबाइल नै अफ गरेर बस्नुभए हुन्छ । बिस्तारै यो अवधि बढाउँदै जानुस् ।
मोबाइल वा इन्टरनेटको अत्यधिक प्रयोगले हाड र जोर्नीमा पीडा, आँखा दुख्ने अनि थकान जस्ता समस्या ल्याउँछन् । घन्टौं एउटै पोजिसनमा बस्दा यस्तो समस्या आउने हो । व्यायाम नगर्दा हाडहरू बिस्तारै कमजोर हुँदै जान्छन् ।
शारीरिक तन्दुरुस्तीका लागि मोबाइल घरमै छोडेर बाहिर घुम्न जाने गर्नुस् ।
मोबाइललाई परै राखेर परिवारका साथ समय बिताउनुस् । उनीहरूसँग बाहिर घुम्न जानुस्, शपिङ गर्नुस् अनि आफ्ना समस्या र सानातिना खुशीहरू परिवारका सदस्यसँग बाँड्ने गर्नुस् ।
एजेन्सी



