विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकबाट उत्तरी पहाडि जिल्ला इँलाम हुदै पाँचथरको रबि जोड्ने सबैभन्दा छोटो पहाडि मार्ग दमक–चिसापानी–रबी(फाल्गुनन्द) सडक निर्माण शुरु भएको दूइ दशक भन्दा लामो समयपछि बल्ल बिस्तृत सर्वे सम्पन्न भएको छ ।
औपचारिक रुपमा सडक निर्माणको घोषणा गरिएको २२ बर्ष पछि दूइ बर्ष अघि बिस्तृत सर्वे भएको थियो । यो सडक निर्माण सम्पन्न गर्नका लागि करिब १ अरब १० करोड खर्च लाग्ने त्यसमा उल्लेख छ ।
इलामको चिसापानीसम्मको पहिलो चरणमा बिस्तृत सर्वे गर्दा यो खर्च लाग्ने देखिएको जनाइन्छ । यो सर्वेमा ३५ किलोमिटर सडक मात्र पर्दथ्यो । अहिले रबिसम्म नै सर्वे भइसकेको सडक डिभिजन कार्यालय दमकका प्राविधिक बिपिन ढुंगानाले बताए ।
आफूहरुले बिस्तृत सर्वे गरेर प्रतिवेदन बिभागमा पठाएको र त्यहाँ बाट लागत सहित बोलपत्र हुने उनको भनाइ रहेको छ । सडक डिभिजन कार्यालय दमकका अनुसार सडक निर्माणका लागि अहिलेसम्म सरकार मार्फत आधा अरवभन्दा बढि खर्च भएको छ ।
सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष गगन पुरीका अनुसार अब दमक रबि सडकले नयाँ गति लिएको छ । सम्पूर्ण रुपमा ट्रयाक खुलिसकेको छ भने कालोपत्रेका लागि बिस्तृत सर्वे समेत यसै बर्ष सम्पन्न भएको छ ।
उनले यो समिति आएपछि नै यो सम्पूर्ण कामहरुले गति लिएको जनाए । यसैसाता मात्र ट्रयाक ओपन भएको घोषणा सहित सडक नै सडक सवारी साधन सञ्चालनको लागि वातवरण बनाईने पुरीले बताए ।



