काठमाडौं– अन्तर्राष्ट्रिय लागु औषध तस्करले पछिल्लो समय नेपाललाई ट्रान्जिट बनाएर कोकिनलगायतका ‘हार्ड ड्रग्स’ युरोप भित्र्याउने गरेको खुलासा भएको छ।
पछिल्लो समय दक्षिण अमेरिकामा उत्पादन हुने गरेको त्यस्ता लागु औषध अफ्रिकाबाट भारत हुदे नेपाल आईपुग्ने र थाइल्यान्डमा पुर्याएर युरोपको ठूलो बजारमा भित्रने गरेको नेपाल प्रहरीको अनुसन्धानले देखाएको छ।
बोलिभियाबाट एक केजी नौ सय ५८ ग्राम कोकिनसहित नेपाल भित्रिएका एक बोलिभियन नागरिकलाई नेपाल प्रहरीको केन्द्रिय लागु औषध नियन्त्रण ब्युरो (एनसिबी)ले बुधबार राती पक्राउ गरेको छ।
२८ वर्षीय फ्रेडी मामनी एन्डियाले ल्याएको उक्त महगो लागु औषध थाइल्यान्डबाट लिन आएकी थाइ नागरिक २८ वर्षिय ख्वान्जाई खनारत पनि पक्राउ परेकी छिन्।
एन्डियाले चार वटा एयरपोर्टको सुरक्षा ब्यवस्था पार गरी उक्त परिमाणको कोकिन सुटकेशको फल्स बटनमा राखेर नेपाल भित्र्याएका थिए।

बोलिभियाबाट पानी जहाजमार्फत ब्राजिलको साओ पाओलो पुगेका एन्डिया त्यहाबाटं इथोपिया– नयाँ दिल्ली हुँदै नेपाल आइपुगेका हुन्।
यसमा उनले चार वटा ‘ट्रान्जिट’ पार गरेका थिए।
‘हामीले विमानस्थलबाटै एन्डियामाथि निगरानी बढाएका थियौं। उनले ल्याएको सामान लिन आउने मान्छेलाई पनि पक्राउ गर्न हामीले केही दिन पर्खियौं’, एनसिबी प्रमुख डीआईजी ठूले राईले भने।
विमानस्थलको आगमनतर्फ भन्सार कार्यलयले धेरै ‘चेक’ गर्ने भएकाले एन्डियाले विमानस्थलबाटै सजिलै बाहिर ल्याएका थिए।
भन्सार कार्यलयको एक्सरेमा समेत उनी सजिलै पास भएका थिए।
डीआईजी राईले विषेष सूचना र प्रोफाइलका आधारमा एन्डियालाई निगरानीमा राखिएको जानकारी दिए।
उनले एक्स रेमा शंकास्पद नदेखिने गरी कोकिन प्याक गरी सुटकेसमा ल्याएको बताए।
प्रहरीका अनुसार दुवै भरिया मात्र हुन्। उनी बोलिभियामै गाडी बनाउने वर्कसपमा काम गर्छन्।
त्यहाँ गाडी बनाउन आउने एक जनाले आफूलाई तीन हजार डलर दिने प्रलोभन देखाएर नेपाल नेपाल पठाएको एन्डियाले बताएका छन्।
उनी पहिलो पटक नेपाल आएका हुन्। तर नेपालमा सामान दिएर स्वदेश फर्कने योजना उनको सफल हुुन सकेन।
पक्राउ परेकी थाई खनारतले आफुलाई साथीको अस्वेत केटा साथीले नेपाल पठाएको बयान दिएकी छिन् । प्राय अस्वेत युवालाई केटा साथी बनाउने बानी परेकी खनारतले नेपाल पुगेर सामान ल्याईदिए पैसा पाउने आश्वासन पाएकी थिइन्।
यसअघि २०७३ साउन र असोजमा गरी दुई बोलिभियन नागरिक करिब साढे पाँच केजीभन्दा बढी कोकिनसहित एनसिबीले समातेको थियो। अ्न्तर्राष्टिय बजारमा एक ग्राम काेकिनकाे मुल्य २० हजार रुपैयाँ पर्छ।



